घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेक थ्रु

म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेक थ्रु गरिएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार पाँच मिटर लामो टनेल खन्ने कामले पूर्णता पाएको हो । बाँध रहेको अन्नपूर्ण गाउँपालिका–५ नम्बर वडा शिख र ६ नम्बर वडा घारको सीमा क्षेत्रमा पर्ने कुरिलाबगरबाट एक हजार ६०५ मिटर र आउटलेट रहेको घारको अमिलाकाफलबाट एक हजार चार सय मिटर सुरुङ खनेपछि दुवैतर्फ जोडिएको आयोजनाका आवासीय इन्जिनियर जोसेफ वज्राचार्यले बताए ।
उनका अनुसार, टनेलको ब्रेक थ्रु भएसँगै आयोजनाको करिब ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने गरि निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
निकै लामो सुरुङलाई बीचमा अडिट विना नै दुईतर्फबाट मात्रै जोडिएको यो नेपालकै पहिलो टनेल भएको इञ्जिनियर वज्राचार्यले बताए । आयोजनाको सिभिलतर्फ ६८, हाइड्रोमेकानिकलतर्फ ५६, इलेक्टोमेकानिकलतर्फ ५० र प्रशारण लाइनतर्फ २० प्रतिशत काम सकिएको छ । बाँधतर्फ ९८ प्रतिशत काम सकिएको यस आयोजनाको विद्युत्गृहतर्फ पेनस्टक पाइप जडान सुरु भएको छ भने विद्युत्गृहको पूर्वाधार निर्माणअघि बढेको सिभिल ठेकेदार कम्पनी साउथ एसियन इन्फास्ट्रक्चर प्रालिका आयोजना म्यानेजर धुव्र मिश्रले जानकारी दिए । सुरुङमार्ग हुँदै ल्याइएको पानीलाई ४८५ मिटर अग्लो हेडबाट एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
म्याग्दी हाइड्रोपावर कम्पनि प्रवद्र्धक रहेको यस आयोजनामा नागरिक ऊर्जा बुटवल लिमिटेडले समेत लगानी गरेको छ भने एनएमबी बैंकको नेतृत्वमा एनआईसी एसिया, कुमारी र प्राइम कमर्सियल बैँकले समेत लगानी गरेका छन् । कुल दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनाको कोरोनाका कारण लागत बढ्ने देखिन्छ ।
आगामी माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण सुरु भएको यस आयोजनामा कोरोनालगायतका कारणले निर्माण कार्यमा केही ढिलाइ हुन पुगे पनि आगामी असारसम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको आयोजनाका हाइड्रोकन्सल्ट इन्जिनियरिङ लिमिटेडका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए । विद्युत्गृह रहने पोखरेबगरदेखि दाना सबस्टेसनसम्मको आठ किलोमिटर लामो ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको कामसमेत अघि बढेको छ ।