संयुक्त परियोजना अनुगमन समिति बैठक सम्पन्न

भारतले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको छ । उक्त बैठक भारत सरकार विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न भएको छ ।
भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो । उक्त बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाको उपस्थिति थियो । यसअघि जेपीएमसीको बैठक २०७६ फागुन २५ गते भएको थियो ।
बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगतिको समीक्षा गरेको थियो ।
आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएको र दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनामा भएको प्रगतिको सराहना गरेका थिए ।