नाका सहज भए पर्यटन क्षेत्र चलायमान

कोरोना भाइरस संक्रमण र जोखिमका कारण विगत १८ महिनादेखि बन्द रहेको भारतसँग जोडिएका नाकाहरू खोल्ने निर्णय सरकारले गरेसँगै पर्यटन व्यवसायी एवं सरोकारवालामा आशाको किरण पलाएको छ । सरकारको निर्णयपछि अब भारतीय पर्यटकहरू नेपाल आउन सक्ने भएका छन् । यद्यपि यो निर्णय भए पनि के कसरी र कुन–कुन प्रयोजनका लागि नाका खोल्ने निर्णय भएको हो र कहिलेबाट नाका सहज हुने हो, केही थाहा छैन र केन्द्रको परिपत्र जिल्लामा अझै आइपुगेको छैन ।
तर पनि सरकारी निर्णयले मृत्युशय्यामा पुगेकोे नेपालको पर्यटन क्षेत्रलाई अमृतजलजस्तै भएको छ । अब छिटोभन्दा छिटो निर्णय भएको कुरा व्यवहारमा लागू गर्नुपर्ने र अब जस्तोसुकै परिस्थितिमा नाका बन्द गर्ने निर्णय गर्न नहुने, बरु सर्तहरू लागू गराई भारतीयलाई प्रवेश दिनुपर्ने उनीहरूको भनाइ छ ।
नेपालको पर्यटन बजारको ठूलो हिस्सा भारतीय पर्यटकले ओगटेकाले पनि अब पर्यटन क्षेत्रलाई बचाउन नाका निरन्तर खोली विदेशमा नेपाल खुला छ र सुरक्षित छ भन्ने सन्देश दिँदै पर्यटन प्रवद्र्धन गर्न लाग्नुपर्ने उनीहरूको भनाइ छ । नाका एकातर्फबाट मात्र होइन, दुवै तर्फबाट खोल्न जरुरी छ । यसै विषयमा केन्द्रित रही रूपन्देही जिल्लाका पर्यटन व्यवसायीहरूसँग कारोबारकर्मी मनोरञ्जन शर्माले गरेको कुराकानीको सार :
अब नाका बन्द गरिनु हँुदैन
चन्द्रप्रकाश श्रेष्ठ
अध्यक्ष, सिद्धार्थ होटल संघ
नेपालमा पर्यटन क्षेत्रमा भारतीय पर्यटकको हिस्सा बढी छ । चाहे धार्मिक पर्यटन होस् वा क्यासिनो, भारतीय पर्यटक धेरै नेपाल आउने गरेका छन् । नेपालमा पर्यटनका प्रायः सबै क्षेत्र खुला भइसकेको अवस्थामा नाका पनि खोलिने निर्णय स्वागतयोग्य हो । यो निर्णयपछि अब भारतीय पर्यटकहरू नेपाल भ्रमणमा आउन सक्नेछन् । तर, यात्रुलाई मात्र आउजाउ गर्न दिने निर्णय भएको हो या निजी सवारी साधनलाई पनि खुला गरिएको हो, जानकारीमा आएको छैन । पहिला निर्णय भएको कुरा लागू हुनुप¥यो । नाका खोलिए पनि पर्यटकहरूका लागि स्वास्थ्य मापदण्ड के हो, त्योलगायतको विषयमा पनि छिटो निर्णय हुनुपर्छ ।
नेपाल भ्रमणमा आउने विदेशीमध्ये सबैभन्दा बढी पर्यटक भारतीयहरू रहेका छन् । हवाईमार्ग र स्थलमार्ग दुवैबाट सबैभन्दा बढी भारतीयहरू नै आउँछन् । कोरोना समयभन्दा अघि भारतीयहरू हवाईमार्ग मात्र होइन, स्थलमार्गको बेलहिया नाकाबाट पनि अत्यधिक पर्यटक आएका थिए । सीमावर्ती सहरमा रहेका पर्यटकीय क्षेत्रहरू, होटल, रेस्टुराँ, क्यासिनोका मुख्य ग्राहक भारतीय हुन् । भारतीयहरूको रोजाइ लुम्बिनी, भैरहवा, पोखरा, चितवन, जनकपुर, मनाङ, मुस्ताङलगायत रहेका छन् । अब भारतीय पर्यटकहरूलाई नेपाल भ्रमणका लागि सहज बनाई आर्थिक क्षेत्र चलायमान बनाउनुपर्छ ।
कोरोना भाइरसको जोखिम कम भइसकेको छ । अब कुनै पनि बहानामा नाका बन्द गरिनु हुँदैन । स्वास्थ्य मापदण्ड अपनाउनमा बढी ध्यान दिनुपर्छ । बरु पर्यटकहरूका लागि खोपलगायतका सर्तहरू राख्न सकिन्छ । भारतीय पर्यटकहरू पनि नेपाल आउन आतुर रहेका छन् । लामो समयदेखि नाका नखुल्दा पर्यटन क्षेत्र मृत्युशय्यामा पुगेको छ ।
अब दुवै देशले दुवैतर्फ निर्वाध रूपमा पहिले जस्तो मोटरसाइकल, कार, जिप, बस आउजाउ गर्न दिनुपर्छ । जबसम्म नाका पूर्ण रूपमा खुल्दैन नेपालको पर्यटन बजार माथि उक्सन सक्दैन । अझै पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउन सक्ने अवस्था नरहेको हुँदा भारतीय पर्यटकहरूमाथि हाम्रो आँखा छ । भारतीय पर्यटक नेपाल भ्रमण गर्न इच्छुक छन् र उनीहरूले बुकिङ लिनुहोस् भनी बारम्बार भन्नेसमेत गरेका छन् ।
त्यसैले नजिकको छिमेकी भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउनुपर्छ । हामीले बारम्बार केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय तहसँग माग गर्दै आइरहेका थियौं– नाका खोल्नुप¥यो भनी । अहिले सरकारले आफैं निर्णय गरी सहज बनाएको छ । अब कार्यान्वयन छिटोभन्दा छिटो हुनुप¥यो । अझ हामी सीमावर्ती सहरका पर्यटन व्यवसायीको मुख्य ग्राहक नै भारतीय पर्यटक हुन् । त्यसैले पनि सरकारको निर्णयबाट हामी धेरै खुसी छौं । लागू भएका कुराहरू निर्णयमा उतार्नुप¥यो, नाका बन्द कहिल्यै नगरौं । अहिलेको आवश्यकता हो, पर्यटन पुनरुत्थानका लागि अब नाका पूर्ण रूपमा खोल्नु जरुरी छ ।
होटल–व्यवसायमा अर्बौंको लगानी छ । त्यो लगानी बचाउन पनि पर्यटन क्षेत्रलाई गुल्जार बनाउनु जरुरी छ र त्यो भनेको पर्यटक भिœयाएर मात्रै सम्भव छ । लामो समयदेखि भारतीयहरू भ्रमणका लागि कतै जान पाएका छैनन् र उनीहरू सबैभन्दा नजिकको क्षेत्र नेपाल भ्रमण गर्न चाहन्छन् । त्यसैले यसलाई क्यास गर्न सक्नुपर्छ । अब पर्यटन क्षेत्रमार्फत आर्थिक क्षेत्र चलायमान बनाउनुपर्छ । पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम, योजना तथा पर्यटकलाई आकर्षित गर्ने नीति ल्याउनुपर्छ ।
नाका पूर्णरूपमा खुल्नेमा हामी आशावादी छौं
लक्ष्मण थापा, महाप्रबन्धक, टाइगर प्यालेस रिसोर्ट
विगतमा पनि नाका खोल्ने निर्णय भनेर समाचारहरू आए । तर, निर्णय कार्यान्वयन भएन । अहिले पनि नाका खोल्ने निर्णय भएको समाचार आएको छ । तर, नाका खुलेको छैन । भारतीयहरू स्थलमार्ग हुँदै आउन पाएका छैनन् । निर्णय भएका कुराहरू छिटोभन्दा छिटो कार्यान्वयन हुनुप¥यो । तयारीबिना निर्णय भएको हो कि जस्तो लागेको छ । सीमा नाकामा भारतीय पर्यटकहरूका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड के हो, खुलाइएको छैन । पर्यटक वा अन्य आम सर्वसाधारणलाई सवारी साधनसहित आउन दिने हो या के हो, त्यो जानकारी छैन । हामीहरू पर्यटकलाई स्वागत गर्न आतुर छौं । लामो समयदेखि बन्द रहेका हाम्रा होटलहरू पर्यटकको स्वागतका लागि पर्खिरहेका छन् । अहिले सरकारले नाका खोल्ने निर्णय गरेको सकारात्मक छ । हामी आशावादी छौं । तराई क्षेत्रका होटलहरू, त्यसमा पनि क्यासिनोसहित सञ्चालनमा छन्, ती होटलका मुख्य ग्राहक नै भारतीय हुन् । त्यसैले पनि नाका खोल्ने निर्णय आफैंमा सकारात्मक सन्देश हो ।
हाम्रो टाइगर प्यालेस रिसोर्ट ६० प्रतिशतभन्दा माथि भारतीय पर्यटकमा निर्भर रहेका कारण हामी पनि खुसी छौं र रिसोर्ट २७ सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने योजना छ । अहिले ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउनेछांै, त्यसपछि कस्तो नतिजा आउँछ, पर्यटक कति आउँछन्, त्यसपछि थप योजना बन्छ । अहिले भारतीय पर्यटक नभए पनि नेपाली आन्तरिक पर्यटक, कर्पोरेट हाउसलाई लक्षित गर्दै स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटन दिवसका दिनदेखि खोल्नेछौं । अहिले धेरै भारतीय पर्यटकहरू नेपाल घुम्न आउन खोजिरहेका छन् । उनीहरूले बुकिङ पनि गर्न माग गरिरहेका छन् । हामी नाका पूर्ण रूपमा खुल्ने प्रतीक्षामा छौं । रिसोर्ट आउने पर्यटकहरूका लागि हामी स्वास्थ्य मापदण्ड पूर्ण रूपमा लागू गराउँछौं । अब नाका खोलिसकेपछि पर्यटकलाई सेवा दिने होटल एवं पर्यटन क्षेत्रका सबै कामदारहरूलाई खोप दिने व्यवस्था गराउनुपर्छ । पर्यटक आएर तिम्रो रिसोर्टका कामदारले खोप लगाएका रहेनछन्, हामी यहाँ बस्दैनौं भन्न सक्ने अवस्था नआओस् । अब पर्यटन क्षेत्रमा आबद्ध सबैलाई पूर्णखोप दिनुपर्छ । अर्को कुरा नाकामा सहज रूपमा निजी सवारी साधन लिएर आउजाउ गर्ने वातावरण बनाउनुप¥यो । सवारी र नाका सहज गर्ने कुरा सरकारको हो । त्यसैले पर्यटन क्षेत्रलाई बचाउने हो भने नाका सहज बनाउनुपर्छ ।
भारतीयहरूको आकर्षण क्यासिनोमा छ । उनीहरू इन्टरटेनमेन्टमा रमाउँछन् । त्यसैले अब पर्यटनका सबै क्षेत्रहरू स्वास्थ्य मापदण्ड अपनाएर खोलौं, बोर्डर नाका सहज बनाऔं । नाकाबाट निजी सवारी साधन आवतजावत गर्न मिल्ने गराऔं । त्यसपछि भारतीय पर्यटकहरू मजासित घुम्न आउँछन् । मृत्युशय्यामा पुगेको पर्यटन व्यवसाय केही भए पनि उकासिएला । हाम्रो देशको पर्यटन क्षेत्र कोरोना भाइरसका कारण पछाडि धकेलिएको छ । अब यसलाई जोगाउने काम सरकारको हो । के–कसरी हुन्छ यो क्षेत्रलाई जोगाउने काम अब राज्यको हो । हामी आशावादी छौं । निराश बनेका छैनौं ।
नाका खोल्ने निर्णय स्वागतयोग्य
सञ्जय बजिमय
अध्यक्ष, सोट्टो नेपाल, लुम्बिनी प्रदेश
हामीहरूले लामो समयदेखि भारतसँग जोडिएका सीमावर्ती सबै नाकाहरू खोल्न माग गर्दै आइरहेका थियौं । कति पटक नाकामा गएर धर्ना प्रदर्शन ग¥यौं । अहिले आएर सरकारले निर्णय गरी १८ महिनादेखि बन्द रहेका सबै नाका खोल्ने निर्णय गरेको छ । यो निकै स्वागतयोग्य निर्णय हो । हामी पर्यटन व्यवसायी सबै खुसी छौं । तर, नाका खोल्ने निर्णय भएको तीन दिन हुँदा पनि कार्यान्वयन भएको छैन । अहिलेसम्म जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमा मन्त्रिपरिषद्को निर्णयका बारेमा केन्द्रबाट कुनै पत्राचार भएको रहेनछ । हामी चाहन्छौं, छिटोभन्दा छिटो निर्णय कार्यान्वयन होस् । सीमा नाका व्यवस्थित होस् । पर्यटकहरूका लागि सीमा नाकामै पीसीआर परीक्षणको व्यवस्था होस् ।
नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकको आकर्षण धेरै छ । त्यसैले अहिले विदेशी पर्यटक आउने सम्भावना नरहेको बेला भारतीय पर्यटकहरूलाई सहज रूपमा नेपाल भ्रमणको बाटो बनाउनुपर्छ र त्यसको पहिलो चरण भनेको नाका खोल्नु हो । नाका खोलेर मात्र भएन, पर्यटकहरूलाई सवारी साधनसहित आउन दिने हो या होइन, त्यसबारे पनि निर्णय हुनुपर्छ ।
नेपाल नाका खुल्यो भन्दै भारतीय पर्यटक नेपाल सीमा नाकामा आउने तर नेपाल प्रवेश नपाउने अवस्था आउन दिनु हुँदैन, बरु त्यसका लागि सबै सरोकारवालाको बैठक स्थानीय प्रशासनले राखी स्वास्थ्य मापदण्ड, पर्यटकका लागि लागू हुने नीतिगत कुराहरू, होटल रेस्टुराँ खुल्ने समयलगायतका विषयमा निर्णय गरी अघि बढ्नुपर्छ । नेपालको पर्यटन क्षेत्र विस्तारै चलायमान हुने तरखरमा छ । पर्यटनका धेरै क्षेत्र खुलिसकेका छन् । पर्यटनका क्षेत्र खुले, तर त्यहाँ सेवाग्राही पुगेका छैनन् । अब आन्तरिक पर्यटन गर्ने समय पनि सुरु भएको छ । त्यसमाथि नाका खोल्ने निर्णयपछि भारतीय पर्यटकहरू आउन सक्नेछन् ।
नेपालको पर्यटनको अर्को हिस्सा विदेशी पर्यटक हो । तेस्रो मुलुकका पर्यटक आउने सम्भावना धेरै कम छ । विदेशीमा पनि सबैभन्दा बढी भारतीय पर्यटक आउँछन् । चाहे उडेर होस् या गुडेर, भारतीय पर्यटक अत्यधिक छन् । हवाईमार्गबाट आउनेमा सबैभन्दा बढी भारतीय नै हुन् । भारतीयहरूका लागि हवाईमार्ग पहिले नै खुलेको थियो । स्थलमार्गको बेलहिया नाका हुँदै वार्षिक ६ लाखभन्दा बढी भारतीय पर्यटक नेपाल आउने गरेको हाम्रो अनुमान छ । तिनीहरूको मुख्य गन्तव्य लुम्बिनी, पोखरा, चितवन, काठमाडौं, मुक्तिनाथ, पाल्पालगायत हो । नाका खुल्दा ती स्थान पनि गुल्जार हुन्छ । साथै सीमावर्ती सहरहरू भैरहवा, बुटवललगायतका स्थानमा रहेका क्यासिनो र ठूला होटलहरूमा पनि भारतीयहरूको आकर्षण छ । अब नाका खोल्ने निर्णय कार्यान्वयनसँगै भारतीय पर्यटकलाई नेपाल भिœयाउन आकर्षक प्याकेजहरू निर्माण गर्नुपर्छ ।
तराईका सहरहरूमा क्रसबोर्डर टुरिजम पनि छ । त्यसैले सहज रूपमा भारतीय पर्यटकहरू भिœयाउने वातावरण हामी सबैले बनाउनुपर्छ र सरकारको यसमा ध्यान जानुपर्छ । पहिला निर्णय कार्यान्वयन हुनुपर्छ । चाहे धार्मिक क्षेत्र होस्, क्यासिनो होस्, सिमावर्ती क्षेत्रको टुरिजम होस्, यसमा हामीले ध्यान दिई सहज रूपमा नाका खोल्नैपर्छ । भारततर्फ अझै नखुलेकाले त्यसतर्फ पनि कूटनीतिक पहल गर्नुपर्छ ।
बोर्डरबाट मानिसहरू आवतजावतभन्दा निजी सवारी साधन आवतजावत गर्न दिइयो भने भारतीय पर्यटकहरूको आगमन बढ्छ । धेरै भारतीयहरू आफ्नो सवारी साधनसाथ आउन चाहन्छन् । त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।