सबाल्टर्नको ढाडमा राजनीतिको रंगमञ्च «

सबाल्टर्नको ढाडमा राजनीतिको रंगमञ्च


समाजलाई गहिराइमा गएर हेर्दा गायत्री चक्रवर्तीले भनेजस्तो सबाल्टर्न वर्ग अर्थात् भुइँमान्छे आपैmँ बोल्न सक्दैन । त्यो वर्गमा अर्कैले चेतना भरिदिनुपर्छ । तिनको आवाज ओकलिदिनुपर्छ । यस्ता दबिएका र दबाइएका आवाजलाई उजागर गर्ने चिन्तनमा हाम्रो मुलुक पनि तातेताते गर्दै छ । शासनसत्तामा हामीले विशिष्ट शासकद्वारा शासित हुनुपर्छ अर्थात् आपैmँबाट शासित हुनुपर्छ । यस सिद्धान्तविपरीत हामीलाई ‘अधिकारका लागि विद्रोही बन’ भन्ने प्रकृतिको माक्र्सवाद पढाइरहिएको छ । वास्तवमा राजनीतिगत चिन्तनको संस्कारमा एकान्वित सोचधारी नेतृत्वले पटकपटक फरक व्यवस्थामा नेतृत्व गर्ने स्थितिलाई तल्ला वर्गका सबाल्टर्न वर्गले नबुझेरै मद्दत गरिदिन्छन् ।
मुलुकले क्षमतावान् नेतृत्वको अर्थलाई बहुवैकल्पिक प्रश्नको उत्तरमा चारमध्ये एक पक्का भने जसरी स्वीकार गरिरहनुपर्छ । यो अभ्यासमा सही र गलतको भन्दा खिचातानीमा मान्छे किनबेचको मथिंगल नै थिंक ट्याङ बन्न पुग्छ । इतिहास अमूल्य छ भन्दै गर्दा त्यो सबाल्टर्न वर्गका लागि इतिहास सुखद हुँदैन । ती गुमनामहरू प्रयोग मात्रै हुन्छन् अनि तिनकै ढाडमा टेकेर तिनको श्रम, समय र सम्मानलाई शोषण गरिएको हुन्छ ।
आर्थिक विकास र आत्मनिर्भरताको तहमा कमजोर भएका व्यक्ति, समुदाय र राज्य नै भुइँमान्छेभित्र पर्छन् ।
प्रभुत्वशाली वर्गको पद्धतिभित्रकै सहमति, सम्झौतामा शक्तिको सिर्जना हुन्छ । त्यो शक्तिमा समाजका निरीह मानिसमाथि असमान व्यवहार गरिन्छ । अलिकति प्रजातान्त्रिक मार्गमा लम्केको नेपालजस्तो मुलुकमा चाहिँ स्वार्थी नेतृत्वले यस वर्गलाई भोटका निम्ति प्रयोग गर्छ अनि शक्तिसत्तालाई हातमा लिइरहन्छ । आवश्यक परेको समयमा शक्ति प्रदर्शनका लागि किनिरहन्छ ।
दार्शनिक मिसेल फुकोले माक्र्स र माक्र्सवाद नबुझ्नेले इतिहास बुझ्दैन भनेका छन् । उनले शक्ति, सम्मान र सम्पत्ति (पावर, प्रेस्टिज र प्रोपर्टी) को आडमा समाज सञ्चालित रहेको तर्क अघि सारे । आज यी सन्दर्भ बुझ्ने शासकहरूले केही नबुझ्ने शासितमाथि सबाल्टर्न चिनाउन खोजेजस्तो गर्छन् । वर्ग, जात, धर्म आदिका आडमा अर्थात् अधिकार दिउँला भन्दै विखण्डनकारी राजनीति गरिरहेका छन् । हाम्रो मुलुकमा भएका द्वन्द्वले चाहिँ वर्गको झुन्डमा होमिन सिकायो तर मानवतावाद पढाएन । किनकि त्यो भोट माग्ने स्वार्थजनीन एउटा इन्द्रजाल पनि हो ।
वास्तवमा त्यसले नेपाली समाजवादको विशेष सूत्रलाई चाहिँ एकरति पनि सिकाएन । भएको नेपाली भाइचारामा पनि विखण्डनको विष हालिदियो । अझ जसले माक्र्सवाद पढाउन खोजे तिनैले यथार्थमा पुँजीवादी अनुहार प्रदर्शन गरिरहे । यसले राजनीतिगत स्वार्थ शिवाय परिवर्तनको दृढतालाई जीवन्तता दिएन । स्वार्थको राजनीतिगत गुट टिप्यो । विकासमा होमिनुपर्ने समय, श्रम र राज्यको सम्पत्तिलाई तिनैले दोहन गरिरहेको यथार्थलाई नकार्न मिल्दैन । यस मानेमा बोधगम्य अध्यात्मवाद र विकासमुखी सामाजिक माक्र्सवाद दुवैको सम्मिश्रणबाट नेपालमा नेपाली समाजवादको पटक्कै खोजी भएन ।
भुइँमान्छेमा जति मानवता हुन्छ आर्थिक रूपमा सम्पन्न मुलुकमा त्यति भावनात्मक गहिराइ देखिँदैन । भाइचारा, बन्धुत्व, सहयोगको भावना अर्थात् जिउँदाको जन्ती र मर्दाको मलामी हुने परिवेशलाई, मातृभाषिक मर्मलाई, लोकसंस्कृतिलाई साँच्चै नै सबाल्टर्न वर्गले जोगाएका हुन्छन् । यसो भन्दै गर्दा गाउँमा अन्धविश्वासी संस्कृतिले प्रभाव जमाएको हुन्छ तर त्यो संस्कारका रूपमा पुस्तागत हस्तान्तरण भएको विचार हो, दमनकारी नियतचाहिँ होइन ।
त्यहाँ त नवमानवतावाद अर्थात् मान्छेको आत्मसंयम वा आत्मसंकल्पलाई विशेष महŒव दिइने गरेको देखिन्छ । मान्छेले मान्छेलाई अरू केही नै नभए पनि पाप र धर्मको कसीमा अन्याय गर्नु, चोर्नु, ढाँट्नु, छल्नु, कसैलाई होच्याउनु अपराध मान्छ । फलतः सानालाई माया र ठूलालाई एउटा स्तरमा सम्मान हुन्छ । बहुविवाह र बुहार्तन अनि दाइजोको कुप्रथाका बीचमा पनि चेली र श्रीमती वा दिदीबहिनी र आफन्तलाई दर्जाअनुरूप माया वा आदर गर्छ । आफ्नो संस्कृति बचाउँछ तर अरूकोमा आँखा लाउँदैन, औँलो ठड्याउनु आवश्यकै मान्दैन । पाप र धर्मलाई पूर्णतः अस्वीकार गर्ने भौतिकवादी चिन्तनले वस्तुतः त्यो भावनाको मूल्यलाई तिनकै तहमा गएर न्याय दिन सक्दैन । अहिले त घरकै आफन्तबाट आफ्नै घरभित्र छोरीचेली असुरक्षित हुने भयावह समस्या बढ्न थाल्यो ।
यो कुबुद्धि हिजो सायद धेरै कम थियो ।
सन् १९६० को दशकअघिसम्म संयुक्त राज्य अमेरिकाका दक्षिणी राज्यहरूमा र सन् १९९० को दशकअघि दक्षिण अफ्रिकालगायतका स्थानहरूमा काला जातिलाई नाम मात्रको अधिकार दिइएको थियो, जुन समग्रतः जातिगत आधारमा केन्द्रित थियो । तथापि, नेपालको बहुजाति, बहुभाषी, बहुधार्मिक एकताभित्र मिश्रित समाजको बाहुल्य हुनुले यहाँ अधिकार र कर्तव्यको पद्धतिमा न्याय र अन्यायको असमान वितरण भएको दशकौँ भयो । यसबाट आरक्षणको नाममा सबल सक्षम जनशक्तिलाई प्रत्यक्ष–परोक्ष रूपमा अन्याय भएको कुरा इतिहास र अर्थ बुझ्नेहरूले थाहा नपाएको विषय पटक्कै होइन ।
निर्णायक नेतृत्व तहमा रहने अर्थमन्त्री, कानुन मन्त्री, शिक्षा मन्त्री, विज्ञान तथा प्रविधि मन्त्रीमा कमसेकम आफ्नो मन्त्रालयको आधारभूत ज्ञानसमेत पनि छैन भने त्यो कस्तो नेतृत्व हुन्छ ! प्राविधिक क्षेत्रमा प्राविधिक ज्ञान नभएका नेतृत्वको दाइँ हुन्छ । राजनीतिक मियोलाई हाँक्ने नेपाली नेतृत्वमा स्वार्थको लडाइँ मात्रै हाबी छ । अघिल्लो र पछिल्लो सरकारबीच केवल प्रतिशोध साँधिन्छ । फलतः तिनमा न योजनाको ज्ञान हुन्छ न कार्यान्वयनको आधार ! यो दुरवस्थामा सही मान्छेले सही क्षेत्रमा नेतृत्व गर्ने अवस्था रहँदैन ।
अर्थमन्त्रीले अरूले लेखिदिएका तथ्यांक लिएर कसरी श्वेतपत्र पेस गर्दा हुन् ? परजीवी बनेर कुर्सीमा बस्नेले वास्तविकताको गहिराइलाई भावनात्मक तवरले बोध गर्न गाह्रो हुन्छ । यो यथार्थलाई असन्तुलित संयोजन गरिँदा सबाल्टर्नको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर परिरहन्छ । यस्ता शासकले सबाल्टर्नको भोलापनलाई हतियार बनाएर शक्तिको जोहो गरिरहँदा राजनीतिमा बहुरंगी अस्थिरताको चटक भइरहन्छ । देश र जनता विकासमा भन्दा अनावश्यक झमेलामा रुमल्लिरहन्छ ।
एउटा जाति वा समुदायलाई अधिकार दिइने कोटा पद्धतिले सबै सबाल्टर्नलाई समेट्दैन । सबाल्टर्न त हरेक जातिभित्र हुन्छ । सामाजिक–सांस्कृतिक आधारलाई मात्रै एकोन्मुख रूपमा विभेदको कारक मान्दा सबैभन्दा बढी प्रभाव पार्ने आर्थिक कारक छुट्न पुगेको छ । अतः नेपालको पृष्ठभूमिमा सबाल्टर्न वर्गलाई आयस्रोत र सम्पत्तिकै तहमा राखेर हेरिनुपर्छ । अहिलेको कोटा पद्धतिले त हाम्रो समाजले भन्ने गरेको उपल्लो जातका गरिबको क्षमता र दक्षतामा सीधा प्रहार गर्छ । त्यहाँभित्रको वेदनासम्म पुगेर सम्बोधन गर्न सक्दैन । तल्लो वर्ग भन्दै दिइने सुविधालाई त्यहाँका धनाढ्य र पुँजीपतिले उपभोग गरिरहँदा समाजवाद र साम्यवाद व्यावहारिक हुनै सक्दैन । यहाँ त अति विपन्न, दूरदराजका सबाल्टर्न वर्ग, अक्षम स्तरका सिंगो बस्ती नै आपूmले पाउनुपर्ने सुविधाबाट वञ्चित देखिन्छ । टाढाबाठाले नै सुविधामा रजाइँ गरिरहेका छन् । वस्तुतः क्षमतावान्सँग प्रतिशोध साँधिरहन्छन् । अल्पज्ञानीले सर्वज्ञानी हुने हठ गरिरहन्छन् ।
बहुसंख्यक सबाल्टर्न वर्गलाई हेर्नुको साटो एउटा जातिलाई अधिकार दिँदा त्यहाँ पनि सबाल्टर्न वर्गको एउटा हिस्सा स्पष्टतः छुट्छ । जातका आधारमा शोषक र शोषित बनाइँदा मानवताका आधारमा समता भावको इतिहास ठहरै मर्न पुग्यो अर्थात् भावनात्मक भाइचारा बाँच्ने पद्धति मानवतावाद हो भन्न सकिएन । उपल्ला भनिएका जातिभित्र पनि सबाल्टर्न वर्ग रहन्छ भन्ने पद्धति खोजिएन । क्षमता र मेहनतको कदर गर्ने पद्धति भएन । आरक्षण वा नेपालको कोटा पद्धतिभित्र दूरदराज ग्रामीण क्षेत्रका नागरिक र सम्पन्न वर्गका लागि एउटै तहमा राखियो । सर्वोच्च अदालतले ‘आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता र जातीयतामा नभई आवश्यकतामा केन्द्रित बनाएमा मात्र यसले संविधानको साध्य हासिल गर्छ,’ भनेको विषयलाई अतिरञ्जित बनाउने कि सबाल्टर्नको आँखाले हेर्ने भन्ने आजको नेपालको आवश्यकता हो !
वास्तवमा आरक्षण पद्धतिले सबाल्टर्न वर्गको वास्तविक पहिचान गर्न नसकेको विगतको अभ्यासलाई नेपालले मनन गर्न नसक्दा हामी कछुवा गतिमा छौँ । आँखामा छारो हाल्ने एउटा कुरा हो तर सहरले गाउँलाई हेप्ने, सम्पन्नले विपन्नलाई हेप्ने, सुविधाविहीनका मर्म र भावना, विपन्नको बाध्यता र रहरजस्ता पक्षतिर एकरति आँखा गएन । परिणामतः विपन्न भएकै कारण ऊ दमित, पीडित, कुण्ठित भएको कुरालाई जात, प्रथा आदिले भन्दा पनि गहिरो प्रभाव पारेको हुन्छ । आर्थिक विषमता पनि छुवाछूतको कारक हो । आर्थिक विषमता पनि अन्धविश्वासको एउटा मूल प्रभावक हो । यसर्थ सकारात्मक विभेदको पक्षमा सोच्नुपर्ने बेला आएको छ । सुविधा चाहिनेलाई दिने र आवश्यक सदुपयोग गर्ने गरी मानवताका नाताले उपयोग गर्ने व्यवस्था हुनुपर्छ । यसले समाजलाई द्रुत मार्गबाट साम्यवादी मान्यतामा लगेर जोडिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्