दैनिक तीन लाखको तरकारी आयात

मागअनुसारको उत्पादन नहुँदा कैलालीमा दैनिक करिब ३ लाख रूपैयाँ बरावरको तरकारी आयात हुने गरेको छ । स्थानीय उत्पादनले नपुग्ने भएपछि भारतबाट दैनिक करिब ३ लाख रूपैयाँको तरकारी आयात हुने गरेको कैलाली भन्सार कार्यालय धनगढीले जनाएको छ । चालु आवको पहिलो पाँच महिनामा मात्रै कैलाली भन्सार नाकाबाट झन्डै ४० करोड रूपैयाँ बरावरको तरकारी आयात भएको भन्सार अधिकृत नारायणदत्त जोशीले बताए ।
कैलालीमा दैनिकजसो आलु र प्याज आयात भइरहेको छ भने त्यतिकै मात्रामा तरकारी र खुर्सानी पनि आयात हुने गरेको छ । गत आवको पहिलो पाँच महिनामा झन्डै २५ करोड रूपैयाँको तरकारी आयात भए पनि चालू आवको सोही अवधीमा साढे १४ करोड रूपैयाँ बढीको तरकारी आयात भएको छ,” भन्सार अधिकृत जोशीले भने, “चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कैलाली भन्सार कार्यालयबाट झन्डै ३३ करोडको आलु आयात भएको छ ।” जुन गत आवको तुलनामा यही अवधीभन्दा १४ करोडले बढी हो ।
त्यसपछि सबैभन्दा बढी साढे पाँच करोड रूपैयाँको प्याज आयात भएको छ । तर, गोलभेंडा, लौका र हरियो तरकारी आयातमा भने केही आएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । सरकारले स्थानीय उत्पादनलाई बढावा दिएर बाह्य आयात प्रतिस्थापना गर्ने भनिरहेका बेला कैलालीमा भने मासिक लाखौं रूपैयाको तरकारी आयात हुने गरेको छ ।
पर्याप्त उर्वरभूमी हुँदाहुँदै सरकारले किसानलाई सहुलियत नदिएका कारण खेती–किसानी गर्नेहरूको संख्या घट्दै छ । सोही कारण सम्भावना भएर पनि भारतीय तरकारीमा भर पर्नुपरेको किसान रामलाल चौधरीले बताए ।