आयआर्जनका लागि कस्तूरी मृग पालन «

आयआर्जनका लागि कस्तूरी मृग पालन


कस्तूरी मृग झट्ट हेर्दा बाख्राजस्तो देखिए पनि यसको शरीरको रंग खैरो हुन्छ । विज्ञहरूले यसलाई मृग परिवारमा वर्गीकृत गरे पनि यसमा मृगभन्दा फरक गुणहरू पाइन्छन् । विशेषतः यो भीर, पहाडका अप्ठ्यारा खोच, चट्टान, भोजपत्र भएका वनक्षेत्रमा बस्न रुचाउँछ । यसैले यसको अवलोकन एवं सिकार गर्न निकै कठिन छ । तर पनि यसको बिना सुनजस्तै बहुमूल्य भएकाले विगत केही वर्षयता यसको चोरी–सिकारी गर्ने व्यक्तिहरूको संख्या दिन–प्रतिदिन बढिरहेको छ । यसबाट यहाँको कुल आम्दानीमा गिरावट आई अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ । तर, आजसम्म पनि सम्बन्धित पक्षको ध्यान यसतर्फ जान सकेको छैन ।
खासगरी एसिया महाद्वीपमा सात प्रजातिका कस्तूरी मृग पाइन्छन् । यस महादेशका हिमाली क्षेत्र भएका मुलुकहरू खासगरी नेपाल, भारत, चीन, पाकिस्तान, बर्मा, भुटान, अफगानिस्तान, रूस, मङ्गोलिया, कोरियालगायत १३ देशमा कस्तूरी मृग पाइन्छ ।
नेपालमा विशेषतः हिमाली र कश्मीरी गरी दुई प्रजातिका कस्तूरी मृग पाइन्छन् । योबाहेक यहाँ काली र अल्पाइन गरी थप दुई प्रजातिका कस्तूरी मृगहरू पनि पाइने विज्ञहरूको भनाइ छ । यहाँको पश्चिम हिमाली क्षेत्रमा र खासगरी कालीगण्डकी नदीदेखि पश्चिम हिमाली क्षेत्रमा कश्मीरी कस्तूरी मृग पाइन्छ भने सोही सीमादेखि पूर्वतर्फको हिमाली क्षेत्रमा हिमाली कस्तूरी मृग पाइन्छ ।
कस्तूरी मृगको आयु १४ देखि २० वर्ष हुन्छ । झन्डै १८ महिनामा पोथी मृग प्रजनन गर्न सक्षम हुन्छ भने गर्भधारणको अवधि चार महिना हुन्छ । साधारणतया साढे दुई वर्षपश्चात् पोथी कस्तूरी मृगले जुम्ल्याहा बच्चा जन्माउँछे ।
वस्तुतः भाले र पोथी कस्तूरी मृगको अनुपात १ः४ हुन्छ । भाले कस्तूरी मृग एक वर्षपछि बिना उत्पादन गर्न सक्षम हुन्छ । यसको जनसंख्या वृद्धिदर ४८ देखि ६२ प्रतिशत रहेको अनुमान छ ।
विश्वको इतिहास मनन गर्ने हो भने लगभग पाँच हजार वर्षअघिदेखि परम्परागत औषधि तथा सुगन्धित पदार्थका रूपमा प्रयोग हुँदै आएको पाइन्छ । यथार्थतः कस्तूरी मृगको बिना दक्षिण–पूर्वी एसियामा औषधिको रूपमा र युरोपेली देशहरूमा सुगन्धित वस्तुको रूपमा बढी प्रयोग गरिन्छ ।
चीन तथा कोरियामा परम्परागत उपचार पद्धतिमा तीन सयभन्दा बढी औषधिमा कस्तूरीको बिना प्रयोग गरिन्छ । योबाहेक आयुर्वेदिक तथा युनानी औषधिमा पनि यसको निकै प्रयोग गरिन्छ ।
कस्तूरीको बिनालाई सुगन्धित पदार्थको रूपमा प्रयोग गर्ने देशहरूमा फ्रान्स र जापान अग्रपंक्तिमा छन् । एक अध्ययनअनुसार सन् १९८० देखि सन् १९९५ को अवधिमा झन्डै १ सय ८० कस्तूरी बिना फ्रान्सले आयात गरेको थियो ।
विश्वका ३५ देशमा कस्तूरी मृगको बिना वैधानिक रूपमा व्यापार गरिन्छ । हाल अन्तर्राष्ट्रिय बजारमा यसको प्रतिग्राम मूल्य सरदर ९५ अमेरिकी डलर छ । वास्तवमा अन्तर्राष्ट्रिय बजारमा यसको माग बढी भएकाले यो सुनभन्दा पनि महँगो छ ।
नेपालमा कस्तूरी मृगको बिनाको निर्यात गर्ने कानुनी प्रावधान छैन । तर, यो बहुमूल्य भएकाले यसको अवैध सिकार गरेर विश्व बजारमा व्यापार हुने गरेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । यसैले आगामी दिनहरूमा उपयुक्त कानुन विधि अपनाई यसको निर्यात गर्न सके यहाँको समृद्धिमा निकै टेवा पुग्नेछ । यसका लागि सम्बन्धित निकायको ध्यान यथाशीघ्र जानु आवश्यक छ ।
बढ्दो वातावरण विनाश र चोरी–सिकारीका कारण आज विश्वका धेरै वन्यजन्तुहरूको लोप भएको छ भने केही लोप हुने अवस्थामा छन् । त्यसैले विश्वभर संरक्षित सूचीका वन्यजन्तुलाई बन्धन प्रजनन गर्न थालिएको छ ।
दक्षिण अमेरिकाका पेरु, चिली, अर्जेन्टिना र बोलिभिया मुलुकका उच्च पहाडी क्षेत्रमा भिकुना प्रजातिको वन्यजन्तु पाइन्छ । यसको ऊन मसिनो र लुगा न्यानो हुनाले धेरै माग छ । तर, चोरी–सिकारीका कारण यसको संख्या दिन–प्रतिदिन घट्दै गयो । सन् १९७४ तिर उक्त वन्यजन्तु लोपोन्मुख अवस्थामा पुगेकाले यसलाई संरक्षित सूचीमा सूचीकृत गरियो । त्यसबेला उक्त वन्यजन्तुको संख्या ६ हजार मात्र थियो ।
उक्त वन्यजन्तुको संख्या घट्दो क्रममा रहेकाले उपयुक्त देशहरूमा बन्धन प्रजनन कार्यक्रम लागू गरियो । यो कार्यक्रम कार्यान्वयन भएपछि उक्त वन्यजन्तुको संख्या ९५ हजारभन्दा बढी पुगेको छ । यसबाट ऊन उत्पादन वृद्धि भई उक्त देशहरूको राजस्व पनि बढेको छ ।
विशेषतः एकसिङ्गे र दुईसिङ्गे प्रजातिका गैंडा विश्व प्रसिद्ध छन् । यी गैंडामध्ये दुईसिङ्गे गैंडाका लागि दक्षिण अफ्रिका प्रसिद्ध छ । तर, बढ्दो वातावरण विनाश र चोरी–सिकारीले गर्दा लोप हुन आँटेको उक्त गैंडाको संरक्षणका लागि बन्धन प्रजनन कार्यक्रम लागू गरेपछि यसको संख्या केही बढ्न थालेको छ । हाल उक्त गैंडाको संख्या १ हजार ५ सय पुगेको छ ।
विगतमा थाइल्यान्डमा जल प्रदूषणका कारण गोहीको संख्या निकै घटेको थियो । तर, सरकारले बन्धन प्रयोजन कार्यक्रम लागू गरेपछि हाल यहाँ गोहीको संख्या केही बढेको छ ।
वातावरण विनाश र चोरी–सिकारीका कारण विश्वमा कस्तूरी मृगको संख्या दिन–प्रतिदिन घट्दो क्रममा छ । यसै सन्दर्भमा सन् १९८२ मा भारतको उत्तराखण्डको शिथौरागढ क्षेत्रमा, चीनको सिचुवान प्रान्तअन्तर्गत सान्छी र मङ्गोलियाको खिम्तिई पहाडमा बन्धन प्रजनन विधि अपनाई कस्तूरी पालन गरिएको थियो । यीमध्ये चीनको अनुभव उल्लेखनीय छ ।
सन् २०१७ सम्ममा चीनमा स्थापित दुई बन्धन प्रजनन केन्द्रमध्ये पहिलो केन्द्रका २० हजार कस्तूरी मृगबाट प्रतिवर्ष १ सय किलोग्राम बिना संकलन गरिन्छ, जसबाट सरकारलाई धेरै राजस्व प्राप्त हुन्छ ।
सन् १९९८ मा नेपालको ललितपुरस्थित गोदावरीमा कस्तूरी मृग पालनको प्रयास गरिएको थियो । तर, उचित व्यवस्थापन गर्न नसकिएकाले उक्त प्रयास विफल भयो । कस्तूरी मृग पालनबाट ठोस फाइदा लिई यहाँको आर्थिक विकासमा सघाउ प¥याउन कस्तूरी मृगहरूको संख्या प्रशस्त बढाउनु आवश्यक छ । यसका लागि बन्धन प्रजननले पनि महŒवपूर्ण भूमिका खेल्न सक्छ । यसर्थ भविष्यमा यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्