संसद्मा मर्यादित भूमिका खेल्न एमालेलाई आग्रह «

संसद्मा मर्यादित भूमिका खेल्न एमालेलाई आग्रह


प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडि बढाउन भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल(नेकपा) एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताए ।
संघीय संसदको दुवै सदमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु थन्किएको भन्दै उनले अहिले संसदको बैठक आवश्यकता रहेकाले आवश्यकताको महसुस गर्दै आगामी दिनमा बैठकमा उपस्थिति हुने विश्वास व्यक्त गरेको पनि बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले आयोजना गरेको बैठकमा पनि उहाँहरु अनुपस्थित हुनुभएको छ । यसले उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । जुनकुरा अहिले मुलुकको आवश्यकता भन्दा भिन्न छ । आज संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।’
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भए पनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग सम्वाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिए ।


सर्वदलीय बैठक गरेर संसद् चल्दैन : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा एस अवैधानिक पार्टी भएको बताउँदै नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका हुन् । उनले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताए । उनले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए ।

सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर नेकपा एमाले कुनै पनि नराम्रो कार्यमा संलग्न नहुने बताए ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई संवोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए । उनले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको बताए । उनले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून बिपरित्, संविधान बिपरित्, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए । प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए । प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्