पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास : प्रचण्ड «

पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताए ।
अध्यक्ष प्रचण्डले बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताए । विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरूको कार्यशैलीमा स्खलन भएको उनले बताए ।
पार्टीका नेताहरू पद, प्रतिष्ठा, पैसा र कमिसनको निम्ति मरिहत्ते गर्ने भन्दै उनले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताए ।
जो नेता जतिधेरै माथि भयो उतिधेरै स्खलित भएको उनको भनाइ छ । पार्टीबाट जति धेरै मन्त्री बने उनीहरू नै पतन भएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीमा रुपान्तरणको खाँचो रहेको औँल्याए । उनले भने, ‘हामी बिस्तारै विस्तारै थाहै नपाइकन गएको दश पन्ध्र वर्ष यता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ । हामी हिजो सामाजिक रुपान्तरणको निम्ति, क्रान्तिको निम्ति, परिवर्तनको निम्ति, उत्पादनको निम्ति जनताको निम्ति काम गर्ने हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ ।
र, हामी बिस्तारै विस्तारै थाहै नपाइकन हिजो क्रान्तिकारी आन्दोलनलाई, जनयुद्ध र जनआन्दोलनलाई दबाउन सरकारमा बसेका पार्टीहरूले जेजस्ता हत्कण्डा अपनाउथे बिस्तारै हामी उस्तै उस्तै हुँदै जाने खतरा पैदा हुन थालेको छ ।
हामी पनि पदको निम्ति, प्रतिष्ठाको निम्ति, पैसाको निम्ति, कमिशनको निम्ति, दलाल पुँजिपतिहरूसँग, नोकरशाहसँग उनीहरूको हितहरू प्रति बढी संवेदनशील हुने आफ्नै वर्गलाई बिर्सने जस्तो । जो जति माथि नेतृत्वमा पुग्यो त्यो त्यतिधेरै अवसरवादी । जो जतिधेरै मन्त्री भयो त्यो त्यतिधेरै । जसलाई धेरै मन्त्री बनाएँ मैले पार्टीबाट ती पतन भए । जो जति माथि आयो त्यो त्यति दलालहरूसँग एकाकार भएर गयो । जता सँग सम्बन्ध बिच्छेद भएजस्तो भयो ।’
अध्यक्ष प्रचण्डले विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको लडाइँ जीवन मरणको लडाइँ भएको स्मरण गरे । त्यतिखेर आफू आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उहाँले जोखिम उठाएर क्रान्तिकारी ढंगले लड्ने संकल्पसाथ लडेको उल्लेख गरे । उनले केपी ओलीमाथि विजय प्राप्त गरेको पनि बताए । उनले भने, ‘मेरो अगाडि अब फेरि लडाइँ गर्ने कि, आत्मसमर्पण त मैले गर्न सक्दिनँ । गर्न हुँदैन । हजारौँ सहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू, घाइते, अपांगहरूको सबै ऋण त मुख्य रुपमा त मेरो टाउकोमा छ । या त, मैले यात सकिन मैले यत्ति नै रहेछ भनेर आफुले आफैँलाई सुसाइड गर्नुपर्ने ।
सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । माक्र्सको ज्वाई छोरी सबैले सुसाइड गरेको कथा सायद तपाईहरूले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन । यात लड्नुपर्ने । अब लड्ने कि मर्ने ? फेरि पनि मृत्यू या मुक्तिको ठाउँमा पुगेको देखेँ मैले । पार्टी भित्र पनि र पार्टी बाहिर पनि । र अन्तिममा पार्टी भित्रका सबै साथीहरूको सहयोगबाट हामी फेरी लड्ने क्रान्तिकारी ढंगले लड्ने । पूरा जोखिम उठाएर लड्ने । जेल जानुपर्छ भने जाने । मारिनुपर्छ भने पनि तयार हुने । तर प्रतिक्रान्ति र प्रतिगमनको अगाडी हरहालतमा नझुक्ने भन्ने हामीले संकल्प गरियो । त्यही संकल्पबाट सुरु भयो सडक आन्दोलन । ’
अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने स्थिति आएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने बताए । यसका निम्ति सडकबाटै जनताले दबाब दिनुपर्ने पनि उनले बताए । उनले गाउँघरमा केपी ओली र कमल थापाहरूको आतंक भएको भन्दै ति आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफू नेतृत्व छाड्न तयार नभएको स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टी थेग्न सक्ने कोही नदेखेको भन्दै विचार, योजना र कार्यक्रमसहित आउनेलाई नेतृत्व छोड्न तयार रहेको उल्लेख गरे ।
तर, उत्तराधिकारी अहिले नै घोषणा नगर्ने उनको भनाइ छ । उनले भने, ‘आज प्रतिक्रियावादीहरू खुलेआम गाउँघरमा टोलटोलमा उनीहरूको आतंक छ । वाईसीएल आतंक छैन । माओवादी आतंक छैन अहिले । अहिले त केपी आतंक । ओली आतंक । जसले गणतन्त्र रोक्नका लागि लड्यो त्यसको पो आतंक छ हामी माथि । के अचम्म भयो यो ? कमल थापा आतंक । कहाँबाट कहाँ पुगेकाहरू चाहीँ तिनीहरूको पो आतंक छ । अनि हामीलाई टुक्राटुक्रा पा¥यौँ भनेर उनीहरू दंग परेका छन् । पोहोर यो विघटन गर्ने बेलामा माओवादी अब सिद्धियो भन्ने र प्रचण्डको अब केही मूल्य छैन । हुँदाहुँदा त भित्रकै साथीहरूले भन्न थाले अब प्रचण्डबाट केही माखो मर्दैन भन्छन् । मलाई त अनौठो लाग्छ हेर्नुस् । साथीहरूले नै भनेको सुन्छु मैले ।
मेरै अगाडि त भन्दैनन् । मेरो अगाडी त तपाई नै हो तपाई बाहेक कोही छैन भन्छन् । तर पछाडि गएर अब प्रचण्डबाट केही हुँदैन है अब हामीले अर्को तयारी । साच्चै गरिदिने साथी भए, यसले सबैलाई समेटेर लाने भयो भने त हेर्नुस् म त बसेर किताब लेख्न पाए म सबभन्दा खुशी हुन्थे । तर यसो हेर्छु छाँट । त्यसपटक यो लास्ट अबसर एकचोटी म लडाइँ लड्छु । त्यसो भन्ने साथीहरूलाई म सहृदयतापूर्वक तपाईंहरू विचार योजना र कार्यक्रमसहित आउनुस् । तपाईंको राम्रो भयो र पार्टीले पास ग¥यो भने तपाईलाई धन्यवाद दिएर उत्तराधिकारी घोषणा गरेर हिँड्छु म चाहीँ । तर माओले लिनप्याओलाई गरेको जस्तो अहिले नै भन्दिने जस्तो गल्ती चाहीँ म चाहिँ गर्दिन । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोलि हान्न हिड्यो । उत्तराधिकारी भनेपछि त त्यो त काल रहेछ ।
म किन भन्ने म त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरूलाई मैले बाटो छोडिदिन्छु भनिराखेकै छु मैले । त्यसकारण एकपटक हामी जाग्नुप¥यो भन्ने हो ।’
अध्यक्ष प्रचण्डले विगतमा एमालेको माधव नेपाल पक्षधर रहेका र नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका १० जना नेताहरूले आफुलाई केपी ओलीविरुद्ध लड्न आग्रह गरेको भए पनि उनीहरूले नै ओलीसँग आत्मसर्मपण गरेको बताए । आफूलाई एमाले फुटाएको आरोप लगाएको भन्दै उहाँले विगतमा तिनै दश नेताहरूसहिको बैठकले केपी ओलीलाई कारबाही गरेको तर्फ ती नेताहरूलाई स्मरण गराए । उनले भने, ‘केही साथीहरू अहिले केपीसँग आत्मसमर्पण भन्नेकी के भन्ने गर्नुभा’छ ।
अस्तिसम्म त उहाँहरूले मलाई दह्रोसँग उभिनुस् कमरेड तपाईको पछाडी हामी छौँ यो केपी तानाशाह नै हो । यो षड्यन्त्रकारी नै, अपराधी नै हो भन्थे ति दश भाई । अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोज्ने अरे मलाई गाली । होइन उहाँहरू पनि बसेर केपीलाई पार्टीबाट निकालेको होइन ? भन्छु म । केपीलाई निकाल्ने बेलामा त ति दशभाई पनि थिए केन्द्रीय समितिमा । पार्टीबाटै निकाल्दा सही गरेका छन् । उनीहरूको सही माइन्युट नै छ । अनि मैले पार्टी फुटाउन खोजेको एमाले भन्न मिल्छ त ? तर भन्छन् । भन्ने त बेइमान भए भए सुन्ने र ताली लगाउने देखेर हैरान हुन्छ ।’
अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरूलाई विकृति र विसंगतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्