विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि दबाबमा राष्ट्र बैंक «

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि दबाबमा राष्ट्र बैंक


विदेशी मुद्राको मुख्य स्रोत रेमिट्यान्स घट्नुका साथै आयातसमेत वृद्धि भएपछि विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको छ । विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि यसलाई जोगाउने उपायमा नेपाल राष्ट्र बैंक लागेको छ ।
राष्ट्र बैंकले कुनै औपचारिक निर्देशन जारी नगरे पनि बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्राको प्रयोगमा निरुत्साहित गर्न निर्देशन दिएको छ । यसैगरी विलासी सामानहरूको आयात घटाउनका लागि समेत तयारी सुरु गरेको छ ।
“आयात ह्वात्तै बढ्ने तर रेमिट्यान्सलगायत विदेशी मुद्राको आर्जन घट्दै जाँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ,” नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, “भोलिका दिनमा यसैगरी आयातमा चाप बढ्दै जाने हो भने असहज अवस्था सिर्जना हुनसक्ने भएकाले नगद प्रयोगमा निरुत्साहित गरेका हौं ।”
ढकालका अनुसार राष्ट्र बैंकले कुनै औपचारिक निर्देशन जारी नगरे पनि बैंकहरूलाई आन्तरिक सर्कुलरमार्फत नगद सटहीमा कडाइ गर्न भनेको छ । “राष्ट्र बैंकले डलर सटहीका लागि दिएको सीमा चलाएका छैनौं,” उनले भने, “तत्कालका लागि नगद बोक्न दुरुत्साहन र कार्ड बोक्न प्रोत्साहन गर्न खोजेका हौं ।”
यसैगरी विदेशी सञ्चितिमाथिको दबाब कम गर्नका लागि विलासी सामानको आयातबारे समेत अध्ययन थालेको र राष्ट्र बैंक अलर्टमा रहेको प्रवक्ता ढकालले बताए ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा चालू आर्थिक वर्षको पहिलो महिनामै देशको आर्थिक सूचकहरू नकारात्मक देखिएका छन् । २०७८ साउनमा रेमिट्यान्स १८.१ प्रतिशतले घटेको छ भने देशको शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा गएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । भन्सार विभागका अनुसार भदौ महिनामा पनि व्यापार घाटा भने ७०.७५ प्रतिशतले बढेर दुई खर्ब ७० अर्ब ४७ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्