‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुप्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित भएका छन् । गुप्तालाई युरोपियन इन्टरनेसनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा उक्त सर्टिफिकेटबाट सम्मान गरेको हो । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा सुबोधकुमार गुप्तालाई युनिभर्सिटीले भव्य समारोहका बीच सम्मान गरेको हो ।
उनले वर्षौंदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका फलस्वरुप युरोपियन इन्टरनेसनल युनिभरसिटीको मोनिटरिङ बोर्डले सुबोधकुमार गुप्तालाई ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ दिएको हो ।
सुबोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेउवामहासङ्घ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति, नेउवामहासङ्घ–प्रदेश नं. २, नेपाल रेल्वे माध्यमिक विद्यालय, वीरगञ्ज र नेपाल रेडक्रस सोसाइटी, पर्साका सल्लाहकार हुन् ।