राष्ट्रिय भेलामा केवल टेलिभिजन व्यवसायीहरू «

राष्ट्रिय भेलामा केवल टेलिभिजन व्यवसायीहरू

केवल टेलिभिजन व्यवसायीहरूले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधबार सरकारको नीतिका कारण व्यवसायीहरूको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा व्यवसायीहरूले सरकारले आफ्ना मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
व्यवसायीहरूले व्यवसायी मैंत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरूसँग छलफल नै नगरी बिरोध आउने किसिमका नीति ल्याएको बताए ।
उनीहरूले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए । राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरूलाई काम नगर भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको आँैल्याएका छन् ।
विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरूले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए । कार्यक्रममा अन्य व्यवसायीहरूले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उहाँमा दम्भ बढेको बताएका छन् ।
व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरूलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए । सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुने गरी नीति निर्माण गर्न सुझाएका छन् ।
विद्युत् प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरूले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् ।
केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरू उपस्थित भएका छन् । उनीहरूले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरू बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्