संसद्मा संख्या पुर्याउन अध्यादेश : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओलीको विरुद्धमा संसदमा संख्या पु¥याउन दल विभाजनको अध्यादेश ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा जनता समाजवादी पार्टी लमजुङद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
दुईतिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले दुईपटक सम्म संसदको हत्या गर्ने प्रयास गरेको र संसदिय व्यवस्थानै खतरामा परेपछि त्यसैका विरुद्ध दल विभाजन सम्वन्धी अध्यादेश ल्याउन बाध्य भएको डा. भट्टराईको भनाइ थियो । संसदमा केपी समूहको बाहुल्यता रहेकोले सो पार्टीमा अन्तरसंघर्ष गरिरहेका माधव नेपालहरुलाई बाटो खुलाउन अध्यादेश ल्याउनुपरेको उनले बताए ।
वर्तमान सरकार काम चलाउ जस्तै भएकोले यो सरकारबाट ठूलो उपलब्धी नहुने डा. भट्टराईको भनाइ थियो । प्रतिगमनलाई परास्त गरेको सरकार भएकोले यो सरकारलाई जुनसुकै हालतमा पनि साथ र सहयोग गर्नुपर्ने उनले बताए ।
जनता समाजबादी पार्टीले देशैभर सञ्चालन गरेको संगठन सुदृढिकरण तथा जनजागरण अभियान अन्तर्गत जिल्लामा कार्यकर्ता भेलाको आयोजना गरेको हो । जनता समाजवादी पार्टी लमजुङका अध्यक्ष गमबहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समिति सदस्य एवं पूर्व मन्त्रीद्धय हिसिला यमी, शिवलाल थापा मगर, जनता समाजबादी पार्टी गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ, तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्रबहादुर गुरुङ, तमुवान राष्ट्रिय समिति सह इन्चार्ज राजु थापा लगायतले सम्बोधन गरेका थिए ।