प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।
साइकल खरिद प्रक्रियामा अनियमितता भएको र साइकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनले साइकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानवीनको काम सुरु गरिएको पनि स्पष्ट पारे ।
आयोगले प्रदेश २ को सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको हो । सो उजुरी परेपछि स्थलगत निरीक्षण गरी आवश्यक कागजातसहितको प्रमाण लिएर अनुसन्धानको कामलाई पनि अघि बढाइएको आयोगले जनाएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक समाचारको पछि लागेर मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाएका छन् ।
‘बेटी पढाउ बेची बचाउ’ अभियानअन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको भन्ने समाचार प्रकाशन–प्रसारण भएपछि अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।
अख्तियारले छापा मारेपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले साइकल खरिद सार्वजनिक खरिद ऐनअनुसार नै गरिएको दाबी गरे । उनले भने, ‘प्रदेश सरकारले विधि र प्रक्रिया पूरा गरी साइकल खरिद गरेको हो । अख्तियारले भ्रामक समाचारको पछि लागेर छापा मारेको छ ।’ मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालय सुशासन कायम गर्नका लागि प्रतिबद्ध रहेको बताए ।
राउतले अख्तियारको कार्यशैलीमाथि आफूले प्रमुख आयुक्त प्रेम राईसँग पनि कुरा गरेको जानकारी दिए । ‘अख्तियारको यस्तो कदमलाई प्रमुख आयुक्त राईले पनि गलत भन्नुभएको छ,’ राउतले भने । राउतले यस्तो कदमलाई आफूले कुनै पनि हालतमा स्वीकार्न नसक्ने पनि बताए । उनले भने, ‘यो प्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्र हो । मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयलाई बदनाम गराउने चाल हो ।’ उनले केही व्यक्तिहरु योजनाबद्ध रुपमा मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध रहेको पनि बताए ।