पर्यटन पुनरुत्थान हुने आशामा व्यवसायी «

पर्यटन पुनरुत्थान हुने आशामा व्यवसायी

सरकारले करिब डेढ वर्षदेखि रोकिएको अनअराइभल भिसा गत साताबाट खुला गरेसँगै पर्यटन आगमन बढेर जाने आशा आमपर्यटन बजारले गरेको अवस्था छ । पछिल्लो समय रोकिएको अनअराइभल भिसा, पूर्ण खोपलाई नो क्वारेन्टाइन र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन गतिविधि बढेर जाने विश्वास लिएको छ । विगत डेढ वर्षदेखि खुम्चिएको पर्यटनलाई चलायमान बनाउनुको विकल्प नभएको पर्यटन व्यवसायीहरूले बताउँदै सोमबार ४२औं विश्व पर्यटन दिवस ‘टुरिजम फर इन्क्लुसिभ ग्रोथ’ नारासहित मनाइयो । विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपाय अपनाउँदै चलायमान बनाउनुको विकल्प नभएको पर्यटन क्षेत्रका जानकार तथा सरोकारवाला निकायले बताएका थिए । पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकाले त्यसको अनुसरण गर्दै पर्यटक आगमन बढाउन उनीहरूको माग छ ।
नेपाल सुरक्षित छ, सुरक्षाको मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्छौं भन्ने सन्देश पर्यटन बजारमा प्रवाह गर्न सकेमा पर्यटन आगमनमा वृद्धि हुने विश्वास लिइएको छ । सरकारले पर्यटक ल्याउने वातावरण विकास गर्न सकेमा मात्र पर्यटक आउने भएकाले पर्यटन गतिविधि चलायमान भएपछि मात्र पर्यटन क्षेत्रसँग जोडिएका नेपालका ११ लाख रोजगारी सुनिश्चित हुने उनीहरूको भनाइ छ । नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ११ लाखले पर्यटन क्षेत्रबाट रोजगारी प्राप्त गरेको सरकारी तथ्यांक छ । विश्व पर्यटन संगठनले एक पर्यटक आगमन हुँदा ११ जनाले रोजगारी प्राप्त गर्ने जनाएको छ । यही अवसरमा प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूको पहलमा नेपालको पर्यटन बजार सुरक्षित रहेको जनकारी दिनका लागि र पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ देशका राजदूतसहित ३० कुटनीतिक नियोगका प्रमुखले पोखरा खुला रहेको सन्देश दिएका थिए । कोभिड–१९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुला भएको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको थियो । यही परिवेशमा रहेर पर्यटन आगमनमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने पहलका विषयमा केन्द्रित रहेर कारोबारले गरेको कुराकानीको सार :

नेपालको पर्यटन बजार सुरक्षित रहेको सन्देश दिनु जरुरी छ
गोपीबहादुर भट्टराई
अध्यक्ष, पोखरा पर्यटन परिषद्
कोभिड–१९ पछिको पर्यटन क्षेत्रमा लामो समयदेखि समस्या रहेको छ । पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन बजारलाई चलायमान बनाउनुपर्छ भनेर हामीले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न खोजेका हौं । नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्नका लागि नै हामीले प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड मिलेर नेपालमा भएका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सन्देश प्रवाह गरेका हौं । दुई दिनको बसाइमा कूटनीतिक नियोगका पदाधिकारीहरूलाई पोखराका पर्यटन गन्तव्यको भ्रमण गराएर यहाँको सम्भावना र महŒवलाई उजागर गरेका हौं । यसले गर्दा पोखरा र पोखरा आसपासको बजार खुला छ, सेवा लिन आउने र सेवा दिने व्यक्ति पनि खोपको मात्र पूरा गरेका छन् भन्ने हामीले सन्देश प्रवाह गर्न खोजेका हौं । सरकारले नेपाल खुला छ, सुरक्षित छ र पछिल्लो समय अनअराइभल भिसा दिएको भए पनि यसका लागि ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।
साथै, नेपाल आगमन भएपछि पनि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । यसले गर्दा आगमनमा सहज भए पनि एयरलाइन्सको उडान पर्याप्त संख्यामा नहुँदा पर्यटकलाई नेपाल आगमन भने अझ कठिनै रहेको अवस्था छ । यो वर्ष सरकारको निर्णय प्रक्रियामा ढिला हुँदा जारी सिजनमा पर्यटक आगमन हुने अवस्था नभएकाले गर्दा अर्काे सिजनमा भने पर्यटक आगमन बढाउनका लागि सरकारले सहज वातावरण बनाउनुपर्छ । यसले गर्दा सरकार र मातहतका निकायले पनि आगामी सिजनका लागि सिटी प्रमोसनमा जुट्नुपर्ने समय आएको छ । नेपाल पर्यटन बोर्डले पनि कोभिड–१९ पछिको अवस्थामा कसरी पर्यटन बजारमा सन्देश प्रवाह गर्ने, यसका लागि रणनीतिक रूपमा लाग्नुपर्ने अवस्था आएको छ । यो क्षेत्रमा भएको लगानी, रोजगारी संकटमा नै रहेकाले गर्दा यो क्षेत्रको पुनरुत्थानका लागि सरकार, सरोकारवाला निकायले सहकार्य गरेर काम गर्नुपर्ने समय आएको छ ।
त्यसैस्वरूप हामीले कूटनीतिक नियोगलाई पोखरामा उपस्थित गराएका हौं । पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड र सरोकारवाला निकायको टाक्सफोर्स टिमले गठन भएर काम गरेको अवस्थामा पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग पुग्ने विश्वास लिइएको छ । यसो भएको अवस्थामा नेपालको पर्यटन गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्न मद्दत पुग्छ । अन्य देशले पर्यटन गतिविधि खुला गरेर पर्यटनलाई स्वागत गरिसकेको अवस्था छ । हामीले यो समयलाई सदुपयोग गर्न सकेको अवस्थामा मात्र पर्यटनलाई नेपालमा आकर्षित गर्न सकिने अवस्था छ । हामी पोखरामा सबै सरोकारवाला निकायसँगको सहकार्यमा प्रचार–प्रसार गरिरहेका छौं र गर्नेछौं ।
यो सिजनमा आन्तरिक पर्यटनलाई मात्र भए पनि आकर्षित गर्न सकियो भने मात्र पनि आगामी दिनमा बाह्य पर्यटकलाई नेपाल भ्रमणका लागि निम्तो दिन सकिने अवस्था छ । सरकारले पर्यटन क्षेत्रका लागि दिने भनेको सहयोग र राहतका प्याकेजहरूलाई पनि कार्यान्वयनमा जोड दिन सकेको अवस्थामा मारमा परेको पेसा–व्यवसाय संकटपूर्ण अवस्थाबाट मुक्त गर्न सकिने अवस्था छ । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले सहुलियत रूपमा दिने भनेको कर्जा प्रवाहलाई प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ । पर्यटनलाई जोगाउनका लागि सरकार र निजी क्षेत्र तथा सरोकारवाला निकाय मिलेर पर्यटकलाई कुनै पनि दुविधा नहुने गरी नेपालको आगमन सहज छ भनेर पर्यटन बजारमा सकरात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा मात्र पर्यटक अर्काे वर्ष आउनेछन् ।
सरकारले शुक्रबार र शनिबार बिदा दिएर आन्तरिक पर्यटनबाट पर्यटन बजारलाई पुनरुत्थान गर्न सकेको खण्डमा यो क्षेत्रको लगानीलाई केही हदसम्म टिकाइराख्न सहयोग पुग्ने थियो ।
हालको अवस्थामा पोखरामा आन्तरिक पर्यटन २० प्रतिशतको हाराहारीमा बढेको अवस्था छ । शुक्रबार र शनिबार घुम्ने कर्पाेट कल्चर विकास भएपछि आन्तरिक पर्यटकको बजार बढेर गएको अवस्था छ । पोखरा नेपाली र विदेशी पर्यटकको पनि पहिलो रोजाइ भएकाले गर्दा यो बजारलाई दसैंसम्म ५० प्रतिशतसम्म वृद्धि गर्न सकिने हामीले विश्वास लिएका छौं । यही योजनाअनुरूप नेपाल र पोखराको पर्यटन बजार बढाउनका लागि ११ जना राजदूत र विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि गरेर ३० जनालाई कोभिड–१९ पछिको पोखरा पर्यटन बजारले दिने सेवा सुरक्षित रहेको सन्देश दिन खोजेको हो । उहाँहरूले प्राकृतिक सुन्दरताले भरिएको नेपालको सुन्दरतालाई कायमै राख्नका लागि जोड दिएका थिए । भएका टेकिङ टे«लहरूलाई जीवन्त राख्न सरकारले पनि प्राकृतिक सुन्दरतालाई जोगाइराख्नु आवश्यक रहेको बताएका थिए ।

पर्यटन क्षेत्र सुधारको क्रममा छ
विश्व सुवेदी
अध्यक्ष, चितवन पर्यटन विकास समिति
कोभिड–१९ को महामारी तथा वर्षाका कारण चितवनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कुनै वृद्धि भएको छैन । खास गरेर बाह्य पर्यटक भने नआएको अवस्था छ । हवाई रुट पनि भरपर्दो, पर्याप्त उडान नहुनु र मुग्लिन–नारायणगड सडक खण्ड पहिरोले अवरोध भइरहेकाले गर्दा पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा क्रमिक सुधार नभएको अवस्था हो । आन्तरिक पर्यटक पनि कोभिड–१९ को त्रास भएकाले गर्दा दिवा समयमा आएर घुम्ने तर रात्रिकालमा भने घरै फिर्ता हुने कारण पनि आन्तरिक पर्यटकको आगमनले पनि व्यवसायमा सुधार नभएको अवस्था छ । पछिल्लो समय हामी सेवा दिने सबैले कोभिड–१९ विरुद्धको पूर्णमात्राको खोप पूरा गरिसकेकाले गर्दा सुरक्षित चितवन भनेर सन्देश लिएका छौं ।
साथै दसैंतिहारमा आन्तरिक पर्यटकको रोजाइ हुने सिजन भएकाले गर्दा कोभिडको संक्रमण पनि कम हुँदै गएका अब पर्यटकको आगमनमा वृद्धि हुने र केही हदसम्म पर्यटन बजार पुनरुत्थान हुने विश्वास लिएका छौं । अर्काे हप्ताबाट भने आन्तरिक पर्यटकको आगमन बढेर जानेछ । यहाँका पूर्वाधारमा पनि सुधार भएकाले गर्दा आन्तरिक पर्यटन बजारमा सुधार हुने नै आशा गरिएको छ । पछिल्लो समय सौराहाका अतिरिक्त पश्चिम चितवनमा पनि पर्यटक विस्तार हुने क्रम सुरु भएको अवस्था छ ।
यसको कारण भनेको सडक सुविधाले गर्दा पश्चिम चितवनमा पर्यटक जाने क्रम सुरु भएको हो । वनजन्तुको बासस्थान पनि पछिल्लो समय पश्चिम चितवनतिर सरेको भएर पनि पर्यटकको फ्लो पनि त्यो क्षेत्रमा बढेर गएको अवस्था छ । पछिल्लो समय वन्यजन्तुको बासस्थान पश्चिमतर्फ जाने क्रमले गर्दा वन्यजन्तु भारतीय क्षेत्रमा जाने सम्भावना पनि बढेर गएको छ । यसलाई सरकारले बेलैमा सम्बोधन गर्नु जरुरी छ । भारतको स्थानीय सरकारले नेपालबाट यसरी गएका वनजन्तुलाई अब फिर्ता नगर्न भनेको अवस्था छ । सरकारले अनअराइभल भिसा खुला गरेको र पर्यटनलाई आगमन सहजीकरण गरेसँगै पर्यटन आगमन वृद्धि हुने नै छ । यसका लागि सरकार तथा पर्यटन क्षेत्रका सरोकारले पनि प्रमोसन गर्नु आवश्यक छ । सौराहाका पर्यटन सेवा प्रदान गर्नेहरूले कोभिड–१९ विरुद्धको खोपको मात्र पूरा गरेकाले गर्दा सौराहा सुरक्षित रहेको सन्देश दिनु आवश्यक छ ।
कोभिड–१९ को कारण गत वर्षदेखि नै पर्यटनसँग सम्बद्ध सबै प्रकृतिका व्यापार–व्यवसाय बन्द हुँदा यो क्षेत्र बढी मारमा परेको अवस्था सरोकारवाला निकायलाई अवगत गराउँदै आएका छौं । कोभिड–१९ को महामारीले अत्यन्तै प्रभावित तथा शिथिल बनेको पर्यटन उद्योगको वर्तमान अवस्थामा यस संकटले निम्त्याएको अन्योलता र अनिश्चितताका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने, दक्ष जनशक्तिहरू पलायन हुने र समयमै पर्यटनको बचाउका लागि आवश्यक कदमहरू अघि नसारे पर्यटन पुनरुत्थान निकै जटिल बन्ने चिन्ता विद्यमान रहेको जानकारी गराएका छौं । सरोकारवाला निकायले यसका लागि आवश्यक कदम चाल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्