सिन्डिकेट तोड्दा पूर्वतयारी पुगेन «

सिन्डिकेट तोड्दा पूर्वतयारी पुगेन

हेटौंडा-मुख्यमन्त्री पौडेलले संघीय सरकारले यातायात क्षेत्रमा देखिएको सिण्न्किेट खारेज गर्नुअघि पूर्वतयारी नपुग्दा यातायात क्षेत्र केही अस्तव्यस्त देखिएको टिप्पणी गरेका छन् ।
बुधबार हेटौंडाको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले बिना तयारी सिन्डिकेट खारेज गरिदिँदा दुर्घटना बिमा, घाइतेको उपचारलगायत अन्य महत्वपूर्ण कामहरू लथालिङ्ग हुने अवस्था आएको बताए ।
उनले व्यावहारिक रूपमा अझै यातायात क्षेत्रमा सिन्डिकेट कायम रहेको दाबी गरे । “नीतिगत रूपमा यातायात क्षेत्रमा सिण्डिकेट हटिसकेको छ । तर, व्यावहारिक रूपमा हटेको छैन । हामी व्यावहारिक रूपमा सिन्डिकेट हटाउने पक्षमा रहेका छौं । त्यसका लागि आवश्यक नियम कानुन पनि बनाउँदैछौं,” उनले भने ।
पछिल्ला समय प्रालिमा दर्ता भएका कम्पनीहरू कानुनअनुसार नभएको उनको भनाइ थियो । “हजारौं व्यवसायी मिलेर संयुक्त रूपमा एउटा प्रालि दर्ता गने प्रचलन सुरु भएको छ, यो पनि सिण्डिकेट कायम गराउनका लागि गरिएको अर्को कदम हो,” पौडेलले भने । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार अहिले कानुन निर्माणको क्रममा रहेको र अब सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै यातायात व्यवसायीले आफूहरूलाई दिएको सुझावको आधारमा यातायात कानुन निर्माण हुने बताए । यातायातको कानुन निर्माणको अन्तिम चरणमा पुगेको र अब व्यवसायीको राय समेट्न बाँकी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपाका स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले यातायात क्षत्रेमा नेपाली पुँजीको बढी लगानी भएको बताउँदै त्यसक्षेत्रको संरक्षणमा सरकारले आवश्यक कदम चाल्ने समेत जनाए । उनले व्यवसायीहरूलाई यातायात क्षेत्रमा मात्र नभएर पर्यटन, जलविद्युत्, कृषि तथा अन्य क्षेत्रमा लगानी गर्नसमेत सुझाए ।
प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले देशमा बर्सेनि व्यापार घाटा बढ्दो अवस्थामा रहेको बताउँदै त्यसको नियन्त्रणका लागि राज्यले आवश्यक कदम चाल्ने समय आएको बताए । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले यातायात क्षेत्रमा धेरै मजदुरहरू रहेको बताउँदै उनीहरूको श्रमको सम्मान गर्दै सरकारले लागू गरेको सामाजिक सुरक्षा भत्ता कार्यक्रम तत्काल लागू हुनुपर्नेमा जोड दिए । कम्पनीका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले संस्थामा हाल एकहजार पाँचसय यातायात व्यवसायी आबद्ध भएको बताउँदै ६० प्रतिशतभन्दा बढी स्वरोजगार मजदुरहरू रहेको बताए । उनले स्वदेशी पुँजीबाट ९५ प्रतिशत रोजगारी सिर्जना गरेको यसक्षेत्रको संरक्षणमा सरकारले आवश्यक कानुन बनाइदिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्