पाल्पाको दालचिनीले मूल्य पाएन «

पाल्पाको दालचिनीले मूल्य पाएन

पाल्पामा व्यावसायिक रूपमा दालचिनी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । दालचिनीको पकेट क्षेत्र तिनाउँ गाउँपालिकाका सत्यवती, बल्ढेंङ्ढी, कचल, कोल्डाँडा, गोठादी, दोभानलगायतका क्षेत्रका कृषकले तेजपत्ता र दालचिनीको मूल्य नपाएको गुनासो गरेका हुन् । दालचिनी र तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका किसानले सस्तोमा बिक्री गर्नुपरेको बताएका हुन् ।
व्यवसायिक ज्ञान नहुँदा उत्पादित सामग्री सस्तोमा बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ । पाल्पाको माथागढी, तिनाउ गाउँपालिका, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका अधिकांश स्थान अहिले पनि तेजपत्ताको पकेट क्षेत्र मानिन्छ । पाल्पाबाट हरेक वर्ष सात करोड रूपैयाँभन्दा बढीको तेजपत्ता र दालचिनी छिमेकी जिल्ला र भारतमा निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
विभिन्न प्रकारका औषधि, मसला, तेल तथा अन्य खाद्य वस्तु बनाउन तेजपत्ताको प्रयोग गरिन्छ । बहुमूल्य वस्तु उत्पादनमा तेजपत्ताको प्रयोग हुने गरे पनि कौडीको भाउमा दालचिनी र तेजपत्ता बिक्री गर्न किसान बाध्य भएको तिनाउँ गाउँपालिका–४ का अध्यक्ष दानबहादुर गाहाले बताए । तेजपात र दालचिनीको व्यावसायिक उत्पादनका बारेमा जानकारी नहुँदा पाल्पाको तेजपत्ता प्रतिकिलो ३५ रुपियाँमा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ ।
तेजपत्ताको बजार अभाव र यसको महत्वका बारेमा समेत जानकारी नहुँदा बजारमा यसको मूल्य नभएको किसानहरूको भनाई छ । जिल्लाका सरोकारवाला निकायले बजार विस्तार, स्वदेशमै यसबाट बन्ने विभिन्न प्रकारका औषधि उत्पादनमा जोड दिन सके यहाँका किसानले तेजपत्ताबाट राम्रो आम्दानी गर्न सक्ने बताइएको छ ।
दालचिनीको खेती गर्ने किसानले अहिले पनि वार्षिक ५० हजार रुपियाँदेखि चार लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । तर प्राविधिक र व्यावसायिक ज्ञानको कमी हुँदा किसानले चाहेअनुसारको तेजपत्ता र दालचिनीबाट फाइदा लिन नसकेको तिनाउ–२ दोभानका किसान सूर्य केसीले बताए ।
तेजपात खरिद गर्दै आएका व्यापारी वैष्णुदेवी आयल सप्लायर्स भैरहवाका जीतबहादुर क्षेत्रीले आफूले प्रतिकेजी ४०-४२ रुपियाँमा तेजपत्ता खरिद गरेर भारतमा निर्यात गर्ने गरेको बताए । पाल्पामा उत्पादित दालचिनी र तेजपत्ता बाहिरी देशमा कारोबार गर्दा कानुनी झन्झट र उत्पादन गुणस्तरीय नभएकाले बिक्रीमा घाटा भएको उनको भनाइ छ । अझै भारतीय बजारमा बिक्री गर्नुपर्ने र भारतीय व्यवसायीले सिण्डिकेट लाद्ने गर्दा नेपाली तेजपत्ताको बजार खस्किएको उनले बताए ।
आय आर्जनका हिसावले गैरकाष्ठ वन पैदावर दालचिनी खेतीको सम्भावना रहेकाले तिनाउ गाउँपालिकाले तत्कालका लागि सामान्य प्रवद्र्धन र सम्भाव्यता अध्ययनका लागि ६ लाख रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । यसको वृद्धि र विस्तार गर्न आगामी वर्षमा बजेट थप गर्दै जाने र किसानको आम्दानी बढाउनतर्फ गाउँपालिकाले सहयोग गर्ने आश्वासन उनले दिए । जिल्लाका साविक १३ गाविसमा तेजपात र दालचिनी खेती हुने गरेको छ । तर, उत्पादित दालचिनी र तेजपत्ताले उचित मूल्य पाउन नसक्दा किसान निराश हुने गरेको जिल्ला वन कार्यालयका वन अधिकृत दधिलाल कँडेलले बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले पाल्पाका किसानले उत्पादन गरेको तेजपत्ता र दालचिनी विदेश निर्यात गर्न सरकारले नै पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्