बाबुबाटै बलात्कार !

छोराछोरीको संरक्षण तथा रेखदेख बाबुको कर्तव्य हो । नेपालीको सामाजिक संरचनालाई हेर्दा पनि बाबुलाई परिवारको मुली मानिन्छ । तर, मोरङको बेलबारी नगरपालिकाकी १४ बर्षीया बालिकाका लागि आफ्नै बाबु ‘बलात्कारी’ बने ।
बुबाले आफूलाई पटक–पटक बलात्कार गरेको घटना बालिकाले सार्वजनिक गरेकी छन् । कक्षा ९ मा अध्ययनरत उनले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आफ्नै बुवाले ११ वर्षको उमेरदेखि बलात्कार गरेको बताइन् ।
“यो घटनाको विषयमा मैले ममिलाई भने, ममिले गम्भिर रुपमा लिनुभएन । बुबाले यो कुरा बाहिर ल्याए पुलिसले तलाईँ लान्छ, कसैले हेर्दैन भनेर डरसमेत देखाउनुभयो” उनले भनिन्, “त्यही भएर मैले ३ वर्ष अघिदेखिको यो कुरा अरुलाई सुनाउन सकिन ।” आफूलाई बुबाले चार पटकसम्म बलात्कार गरेको उनी सुनाउँछिन् ।
गत भदौ ४ गते उनले इलाका प्रहरी कार्यालय बेलबारीमा बाबुविरुद्ध जवरजस्ती करणीमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । “जाहेरी परेसँगै मुद्धा दर्ता पश्चात, कानुनी प्रक्रिया पुरा गरी हामीले अदालतमा बुझाएका थियौ” खनाल भन्छन् ।
मोरङ जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा पीडकलाई छाडिसकेको छ । “प्रहरीले बुबालाई पक्राउ ग¥यो । तर, अदालतले छोड्यो, मैले घटना सुनाउने हिम्मत त गरे, न्याय भने पाइन,” पीडीत बालिका भन्छिन् ।
गम्भिर प्रकृतिको घटना भए पनि आफूलाई कुनै पनि जानकारी नदिई मोरङ जिल्ला अदालतले श्रीमान्लाई धरौटीमा छाडेकाले छोरीले न्याय नपाएको पीडीत बालिकाकी आमा बताउँछिन् । किशोरीका बुबा नेपाल आर्मीबाट रिटायर हुन् ।
श्रीमानले ३ जनालाई विवाह गरेको पीडित बालिकाकी आमा बताउँछिन् । “उहाँ नेपाल आर्मीमा हुनुहुन्थ्यो । विवाह गरेको छैन भनेर मसँग विवाह गर्नुभयो । पछि थाहा पाउँदा त पहिले नै दुई जना श्रीमती रहेछन्” उनले भनिन्, “पहिले नै विवाह गरेको थाहा पाएपछि म झापाको बिर्तामोड बस्न थालेँ । छोरीलाई भने श्रीमान् कै घरमा राखेँ । त्यहीबेला छोरी माथि यस्तो घटना घटेछ ।” आफूलाई सुरुमा विश्वास नै नलागेको उनको भनाइ छ । “पछि–पछि छोरीको व्यवहारमा पनि चेन्च पाए, स्वास्थ्य अवस्था पनि कमजोर हुँदै गयो । यसपछि मात्र घटनाको वास्तविकता थाहा पाएँ” उनले भनिन् ।