विमान अध्ययन समिति गठन «

विमान अध्ययन समिति गठन


सरकारले नेपालमा दर्ता भएका विमानहरुको अवस्थाबारे अध्ययन गर्न समिति गठन गरेको छ । नेपाली आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने दर्ता भएका हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन गरिएको हो ।
गएको सोमबारमात्र काठमाडौंबाट विराटनगर र पोखराको लागि उडान भरेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर अवतरण गरिएको थियो ।
यो घटनासँगै नेपालको उड्डयन क्षेत्रमा हवाई सुरक्षाको बहस सुरु भएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबमोजिम आगामी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिका सदस्यमा भेषराज सुवेदी, (पूर्व निर्देशक नेपाल नागरिक उड्डयन प्राधिकरण), कृष्णबहादुर पौडेल क्षेत्री (वरिष्ठ क्याप्टेन), प्रमोद नेपाल, सीएटीसी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) तथा सदस्य सचिवमा लक्ष्मण देवकोटा, प्रबन्धक (नागरिक उड्डयन प्राधिकरण) रहेका छन् ।
मन्त्रालयका सहसचिव तथा प्रवतmा तारानाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज÷हेलिकोप्टरहरुको भौतिक यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन गरिएको छ ।’ विगत केही वर्ष यता नेपालमा आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरुका हवाईजहाज र हेलिकोप्टरहरुमा विभिन्न समस्याहरु देखा परेको अवस्थालाई मध्यनजर गरी सरकारको माथिल्लो निकायबाट नै चासो व्यक्त भएकाले कोभिड–१९ पछिको उड्डयन क्षेत्रको वस्तुस्थिति अध्ययन गर्न समिति गठन भएको सहसचिव लामिछानेले बताए । उनले भने, “यसले गर्दा उड्डयन क्षेत्रको सुरक्षा अवस्थितिमा थप सुधार हुनेछ ।” उडान सुरक्षालाई त्रुटिरहित बनाउँदै हवाई क्षेत्रको प्रभावकारिता एवं विश्वसनीयता थप अभिवृद्धि गर्न हवाई उडानको दौरान हुन सक्ने घटना/दुर्घटनाबाट जनधनको क्षतिलाई रोक्न समितिको अध्ययन प्रतिवेदन फलदायी हुने विश्वास मन्त्रालयले लिएको छ ।
अध्ययन समितिले आईकाओबाट स्वीकृत मापदण्डहरु र वायुयान उत्पादक कम्पनीहरुको म्यानुअलको व्यवस्था वायुसेवा कम्पनीहरुले कार्यान्वयन गरे/नगरेको सम्बन्धमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको पुनरावलोकन, इजाजत प्राप्त वायुयान चालक दलका सदस्यहरुको सम्बन्धमा स्वीकृत मापदण्डहरुको पालनाको सम्बन्धमा परीक्षण गर्ने लगायतका काम गर्नेछ ।
प्राधिकरणले गर्नुपर्ने उडान सुरक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारको अध्ययन गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्पादित सेफ्टी अडिट कार्यको गुणस्तर अद्यावधिक तथता संपरीक्षण पनि समितिले गर्ने जनाइएको छ । समितिले हवाई सुरक्षा मापदण्डको पालना नभएको पाइएमा त्यस्ता हवाईजहाज÷हेलिकोप्टरको उडानलाई निषेध गरी शर्तहरु पूरा नभएसम्मका लागि भूमिस्थ (ग्राउण्डेड) गर्न पनि सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्