सामाजिक सुरक्षा भत्ता नपाउनेलाई मात्र नगद राहत «

सामाजिक सुरक्षा भत्ता नपाउनेलाई मात्र नगद राहत


सरकारले दिने भनेको विपन्न परिवार भत्ता सामाजिक सुरक्षा भत्ता पाइरहेका परिवारले नपाउने भएका छन् । प्रतिस्थापन बजेटमार्पmत ल्याइएको विपन्न परिवार भत्ता असोज महिनाभित्रमै पाँच लाख घरपरिवारलाई १० हजारका दरले वितरण गर्ने सरकारको योजना छ ।
सरकारबाट कुनै पनि सुविधा लिएको परिवारले सो भत्ता नपाउने गरी अर्थ मन्त्रालयले मापदण्ड तयार गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । सरकारसँग गरिबको यकिन विवरण नभए पनि कोभिड–१९ को पहिलो लहरपछि राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले गरिबीको रेखामुनिको जनसंख्यामा थप चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो ।
सोही अध्ययनलाई आधार मान्ने हो भने झण्डै ६८ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको छ । सरकारले भने पाँच लाख घरपरिवारलाई मात्र विपन्न परिवार भत्ता वितरण गर्न लागेको छ । त्यसैले कुन परिवारलाई राहत उपलब्ध गराउने भन्ने विषयमा अर्थ मन्त्रालयले कार्यविधि तयार गरिरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सरकारले भत्ता वितरण गर्ने जिम्मा भने स्थानीय सरकारलाई दिने तयारी गरिरहेको छ । सरकारले दिने भत्ता लिन उक्त परिवारले आफू विपन्न रहेको भनी स्थानीय तहमा निवेदन दिनुपर्नेछ । “मेरो परिवारको कुनै आयस्रोत पनि छैन र सरकारले दिएको कुनै पनि सेवासुविधा लिएको पनि छैन । रोजगारी पनि गुम्यो भनेर स्थानीय तहमा निवेदन दिएपछि स्थानीय तहले त्यसको यकिन अध्ययन गरी भत्ता वितरण गर्ने गरी कार्यविधि तयार गरिरहेका छाँै,” मन्त्रालय स्रोतले भन्यो ।
मापदण्ड अन्तिम अवस्थामा पुगे पनि फाइनल भइनसकेका कारण सरकारले सार्वजनिक गर्न भने अझै केही दिन लाग्ने बताइएको छ । यसलाई अन्तिम रूप दिँदा यसमा केही फेरबदलसमेत हुनसक्ने स्रोतले बताएको छ । तर, सरकारले भने असोज महिनाभित्रै राहत बाँडिसक्ने बताएको छ ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत नगद नै वितरण गर्ने भएपछि त्यसको व्यापक आलोचनासमेत भइरहेको छ । यस्ता कार्यक्रम ल्याउँदा सरकारबीच प्रतिस्पर्धा हुन गई दीर्घकालमा सरकारमाथि ठूलो आर्थिक बोझ पर्ने अर्थविद्हरूको भनाइ छ । नजिकिँदै गरेको निर्वाचनका लागि भोटको राजनीति गर्न लोकप्रिय कार्यक्रम ल्याएको भन्दै आलोचना भइरहे पनि सरकारले भने कोभिडबाट प्रभावित परिवारलाई राहतका लागि कार्यक्रम ल्याएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्