सेयर बजारमा ५० अंकले सुधार

तीन दिनदेखि लगातार ओरालो लागेको नेपाली सेयर बजारमा सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५०.५८ अंकले वृद्धि भई २६६५.९३ अंकमा पुगेको छ ।
आइतबारबाट निरन्तर घटिरहेको सेयर बजारमा साताको तीन दिनमै नेप्से सूचक करिब २ सय अंकले घटिसकेको थियो । सेयर धितो कर्जाबारे राष्ट्र बैंकको नीतिका कारण आत्तिएका लगानीकर्ताहरू बजारमा तरलता अभाव हुन थालेपछि ब्याजदर बढ्ने त्रासमा तर्सिएका थिए ।
तर, बजार विश्लेषक तथा केही लगानीकर्ताहरूले भने चाडपर्वको मुखमा भएको उतारचढावलाई स्वाभाविक मान्दै यो अवस्था क्षीण हुने बताउँदै आएका छन् ।
बुधबार नेप्सेमा सबै समूहगत परिसूचकमा पनि हरियाली छाएको छ । यस दिन बैंकिङ २०.२९, व्यापार ७५.४३, होटल तथा टुरिजम ३२.९२, विकास बैंक १५०.६८ र जलविद्युत् ११७.३४ अंकले बढेको छ ।
यसैगरी फाइनान्स १०७.४७, निर्जीवन बिमा २५५.६६, उत्पादन १०३.३६, लघुवित्त, अन्य ४१.४३, लघुवित्त ८८.०१, जीवन बिमा २१५.३८, म्युचुअल फन्ड ०.०९ र लगानी समूह २ अंकले बढेका छन् ।
सेयर बजार सूचकमा सुधार भए पनि कारोबार संख्या र कारोबार रकममा भने गिरावट आएको छ । बुधबार २ सय २९ कम्पनीका ९८ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
यसअघि मंगलबार २ सय १८ कम्पनीका १ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।