भोजपुरका अधिकांश वडा सचिवविहिन «

भोजपुरका अधिकांश वडा सचिवविहिन

संघीय संरचनापछि बनेको स्थानीय सरकार आइसक्दा पनि अधिकांश स्थानीय तहका वडा अझै पनि सचिवविहीन छन् ।
सेवा सुविधाको पछि लाग्ने कर्मचारीको काज बहाना र मन्त्रालयले दुर्गम भेगमा कर्मचारी समायोजन गर्न नसक्दा भोजपुरका धेरैजसो वडा स्थानीय सरकार आएको दुई वर्ष बित्दा पनि सचिवविहीन छन् । शिक्षा, स्वास्थ्य, वन, खानेपानी लगायतका शाखाबाट कर्मचारी तानेर सचिवको काम धानिएको छ । वडाको दैनिक कार्यसम्पादनमा एक सचिव बराबर ४ देखि ६ वटा वडासम्मको कार्यभार छ ।
टेम्केमैयुङ गाउँपालिकाको ६, ७, ८ र ९ वडाको काम केही वर्षअघिदेखि एउटै वडासचिवको भरमा काम चलिरहेको छ । दुर्गममा कर्मचारी नपठाउँदा दोहोरो कार्यभारको समस्या भएको वडासचिव तोयाराज दुलालले सुनाए । “गाउँपालिकाले पनि जिल्ला प्राविधिक, सीडीओमार्फत मन्त्रालयसम्म पनि कर्मचारी नियुक्तिको माग त गरेकै हो तर पठाएनन्,” उनले भने, “सामाजिक परिचालकको सहयोगमा चार÷चार वडाको काम दुःख सुख चलाइएको छ । कहिले काँही निश्चित समयसीमा भन्दा पनि बढी काम गर्नुपर्छ । कहिले काँही त आधा अधुरै रहन्छ ।”

६ वडामा १ सचिव
सदरमुकाम रहेको भोजपुर नगरपालिकामै १२ वडामध्ये ६ वडा एक सचिवले धानिरहेका छन् । केही महिनाअघि मात्र ११ र ९ को सचिव सरुवा भएकाले तत्काल कर्मचारी नियुक्ति नहुँदा दैनिक ६ वडाको काममा दोहोरोतेहोरो मारपरेको वडासचिव मणि राईले बताए । उनले भने, “मन्त्रालयबाटै सिफारिस गरी नपठाउँदा यो झमेला भएको हो । आवश्यकता हेरी कर्मचारी नखटाउँदा दैनिक कार्यसम्पादन गर्न समस्या भएको छ ।” वडासचिव राई हाल नगरपालिकाको ५, ६, ७, ८, ९ र ११ वडाको काम धानिरहेका छन् । भोजपुर नगरपालिकाको कार्यपालिकामै स्थापित वडा कार्यालयमा यी सबै वडाको काम एउटै टेबुलमा भइरहेको छ ।

काज सरुवाले काम प्रभावित
जिल्लाको दुर्गम आमचोक गाउँपालिकामा २ वडा सचिवबाहेक बाँकी ८ वडा सचिवविहीन छन् । हालका लागि अन्य विषयगत शाखा वा कार्यपालिकाकै अन्य कर्मचारीको भरथेगमा ती वडाका काम धानिएका छन् । समयमै कर्मचारी पदपूर्ति हुन नसक्दा जनताको काममा दैनिक अड्चन थपिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । दुर्गममा कर्मचारी नियुक्तिको काममा मन्त्रालयले बेवास्ता गरेको र भएका कर्मचारी पनि विभिन्न बहानामा काज सरुवा जाने प्रवृत्तिले जनताको काम प्रभावित बनेको उनको भनाइ छ । उनी भन्छन्, “स्थानीय सरकार त भनियो तर एउटा कार्यालय सहयोगीसमेत नियुक्ति गर्ने अधिकार छैन न कुनै कार्यविधि छ । जनताको काम गर्न आएका हामी कर्मचारीविहीन हुँदा कसरी काम गर्ने । कर्मचारी नहुँदा यसै पनि काम प्रभावित भएको छ भने अर्काेतिर जनतालाई उस्तै सास्ती छ ।”
जिल्लाका ९ वटै स्थानीय तहमा टेम्केमैयुङ गाउँपालिकाको ४ र ५ वडा, षडानन्द नगरपालिकाको १, ६ र ७ वडा, १३ र १४ वडा, ४ र ५, २ र ३ वडा, सालपासिलिछो गाउँपालिकाको १ र २ वडा, हतुवागढी गाउँपालिकाको ३ र ४ वडा, ५ र ६ वडा, ७ र ८ वडा, पौवादुङ्मा गाउँपालिकाको २ र ३ वडा, आमचोक गाउँपालिकाको ८ र ९ वडा, रामप्रसाद राई गाउँपालिकाको ४ र ५ वडा, ७ र ८ वडामा एकजना वडासचिवको भरमा काम चलिरहेको छ । सबै स्थानीय तहमध्ये अरुण गाउँपालिकाको गाउँकार्यपालिका कर्मचारीदेखि सबै वडामा भने वडासचिवको पदपूर्ति भएको छ ।

अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्