सडक निर्माण ढिलाइले स्थानीय असन्तुष्ट «

सडक निर्माण ढिलाइले स्थानीय असन्तुष्ट

आफ्नो गाउँसम्मको सडक कालोपत्रेमा ढिलाइ भएकोमा बारपाकका बासिन्दाले असन्तुष्टि जनाएका छन् । गत असार मसान्तसम्म सडक कालोपत्रे भइसक्नुपर्ने भए पनि अहिलेसम्म काम पूरा नभएकोमा उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

सम्झौता सकिँदा ५० प्रतिशत काम सम्पन्न
एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले गोरखा–बारपाक सडक कालोपत्रे गर्न विभिन्न चार ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ । तर ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा हालसम्म समग्रमा ५० प्रतिशतमात्रै काम सकिएको एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख रवीन्द्रलाल दासले बताए । २०७२ सालको भूकम्पलगत्तै केन्द्र बिन्दुसमेत रहेको बारपाकमा पुगेका प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरूले दुई वर्षभित्र सडक कालोपत्रे गर्ने आश्वासन दिएका थिए । तर आफूले बोलेको कुरा पूरा गर्न उनीहरूले बेवास्ता गरेका स्थानीय नरबहादुर घलेले बताए । “ठेकेदारको लापरबाही छ यो सडकमा,” उनले भने, “नेताहरू आएर बोले गए । सडक कालोपत्रे नहुँदा वर्षामा बस आउँदैन, भारी बोकेर खानुपर्छ । बिमारीलाई अस्पताल पु-याउन समस्या छ ।”

नेताको भाषणमात्र
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भोट माग्न आउने नेताले पनि भाषणमा सो सडक कालोपत्रेलाई प्राथमिकतामा राखे पनि काम हुन नसकेको किसराम घलेले बताए । “जनता भुलाउने बाटोमात्रै भो,” उनले भने, “नेताले त ठेकेदारलाई तह लगाउन सक्नुपर्छ नि, भनेको समयमा काम नगरे कारबाही गर्नुपर्छ । यो बाटो कतैकतै बनाएजस्तो मात्रै ग¥या छ ।” सडक कालोपत्रे नहुँदा दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्री गाउँ पु¥याउन पनि समस्या रहेको उनले बताए । “घर बनाउन सिमेन्ट, बालुवा, रड ल्याउन पनि गाह्रो छ,” उनले भने, “एकदिन पानी परे अर्कोदिन गाडी चल्दैन । सदरमुकामा जान बालुवा बजारसम्म हिँड्नुपर्छ ।” कामको गति हेर्दा सडक कालोपत्रे हुन अझै केही वर्ष लाग्ने अर्का स्थानीय खेम घलेले बताए । “नेतादेखि सडक अफिसका मान्छेसम्मलाई हामीले सडक छिटो बनाउ भनेका छौं,” उनले भने, “ग्राबेल, कुलो काट्ने, वाल उठाउने काम त सकिएको छैन, के पिचको कुरा गर्नु ?” तसरापाखामा रहेको ३÷४ वटा टर्निङको बाटो तत्काल नै स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ ।
गोरखा–बारपाक सडकको पहिलो खण्ड १२ किमिदेखि १७.५ किमि कालोपत्रेको ठेक्का लिएर नागार्जुन–त्रिशूली जेभीले २०७१ असार ३१ गतेदेखि काम थालेको थियो । गत चैतसम्म कालोपत्रे सक्नुपर्ने नागार्जुनले सम्झौता अवधिभर ७० प्रतिशतमात्रै काम सकेको छ । उसलाई काममा तीव्रता दिनका लागि कार्यालयले चेतावनीसहितको पत्र काटिसकेको छ । केही दिनमा नागार्जुनले काम नथाले कारबाही गर्ने तयारी रहेको कार्यालयका प्रमुख रवीन्द्रलाल दासले बताए ।
सो सडकको दोस्रो प्याकेजअन्तर्गत १७.५ देखि २२.५ किमिसम्मको सडक कालोपत्रेको जिम्मा पाएको कन्काई जेभीले हालसम्म ६० प्रतिशत काम सकेको छ । तेस्रो प्याकेजको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्सले निर्धारित समयमा काम नसकेर दोस्रो पटकसम्म ठेक्का अवधि थपेको छ । थपिएको म्यादअनुसार वैशाखसम्ममा २२ किमिदेखि ३० किमिसम्मको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म करिब ५० प्रतिशतमात्रै प्रगति देखिएको छ । अन्तिम प्याकेजका रूपमा ३० देखि ४६ किमि कालोपत्रेको जिम्मा पाएको रसुवा एलाइट जेभीले ५० प्रतिशतमात्र काम सिद्धयाएको छ । निर्धारित समयमा काम नसकेपछि एक पटक थपिएको म्याद चैतसम्म छ । थपिएको समयमा काम पूरा गर्न निर्माण ब्यवसायीलाई दबाब दिइरहेको कार्यालय प्रमुख दासले बताए । “काम नगर्नेलाई कारबाही गर्छौं,” उनले भने, “हामीले काम छिटो सक्न आवश्यक सबै सहयोग गर्छौं भनेका छौं, काम नगर्नेलाई कालोसूचीमा राख्न सिफारिस गर्नेसम्मका कारबाही हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्