लोडसेडिङविरुद्ध जुम्लामा ‘क्यान्डल जुलुस’ «

लोडसेडिङविरुद्ध जुम्लामा ‘क्यान्डल जुलुस’

जुम्ला-तीन महिनादेखि जुम्ला सदरमुकाम विद्युत्विहीन बनेपछि यहाँका नागरिक विरोधमा उत्रिएका छन् । गत मसिंरदेखि सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । २४ सै घण्टा लोडसेडिङको मार खेपिरहेका यहाँका नागरिकले कहिले विद्युत् बाल्न पाउने हुन्, भन्ने पत्तो छैन ।
बुधबार समावेशी महिला मानव अधिकार संजाल समितिको नेतृत्वमा जुम्लाका महिला अधिकारकर्मीसहितको टोलीले जिल्ला प्रशासनसँग विद्युत् माग्दै क्यान्डल जुलुस निकालेका छन् । मंसिरदेखि विद्युत् नआउँदा करोडौंको कारोबार ठप्प छ । उनीहरूले हातहातमा क्यान्डल लिएर लोडसेडिङविरुद्ध नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए । अबको एक साताभित्र उपभोक्तालाई नियमित विद्युत् सप्लाई नगरे यसविरुद्ध पुनः युवा, विद्यार्थी, उद्योगी ब्यापारीसहितको संयुक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । ठूलाबढाको घरमा दिइएको भीआईपी लाइन काट्न पनि चेतावनी दिएका छन् ।
साना जलविधुत् उपभोक्ता समिति खलंगाको लापारबाही र बहानाका कारण उपभोक्ताले लोडसेडिङको मार खेप्नुपरेको छ । विद्युत् निर्माणका नाममा उपभोक्ता समिमि र ठेकेदारबीच विश्वासको वातावरण नबनेपछि, समस्या भएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले २४ घण्टाभित्रै समिति तथा सरोकारवालासँग बैठक बसेर निष्कर्शसहित छिट्टै विद्युत् सप्लाई हुने वातावरण तय गर्ने बताए ।
नेपालस्थित भारतीय राजदूतावासको सहयोग पाएपछि नयाँ मेसिन जडान तथा खरिदको बहाना गर्दै समितिले विगत तीन महिना यता नत मेसिन जडान गर्न सकेको छ, न उपभोक्तालाई विद्युत् नै पठाउन सकेको छ । महिनौदेखि सदरमुकाम अँध्यारो हुँदा जिल्लाले करोडौंको ब्यापार घाटा बेहोर्नु परेको छ भने स्थानीय टुकी, झरो तथा वैकल्पिक ऊर्जाको ब्यवस्था गर्न बाध्य छन् ।
अधिकारकर्मी लक्ष्मीकन्या बुढाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “विद्युत्बारे नत समिति नै गम्भीर देखिन्छ, नत जिल्ला प्रशासन नै ।” विद्युत् समस्याले खलंगाका होटल व्यवसाय, व्यापारी, उद्योग कलकारखाना सबै समस्यमा छन् । एसईईलगायत अन्य लोकसेवा तयारी कक्षाका लागि सदरमुकाम झरेका झण्डै १० हजार बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्