सेतीमा अस्थायी पुल «

सेतीमा अस्थायी पुल

दमौली-तनहुँको देवघाट गाउँपालिकाले वडा नं २ को नाल्दीघाटमा सेतीनदीमाथि अस्थायी पुल निर्माण गरेको छ । गाउँपालिकाको वडा नं २ र ३ मा उत्पादित सुन्तला बजारसम्म ल्याउनका लागि गाउँपालिकाले नौ लाखको लागतमा अस्थायी काठे पुल निर्माण गरेको हो ।
ती गाउँमा पुग्नका लागि सेती नदीमाथि पुल नभएपछि जनतालाई अल्पकालीन राहत दिन तथा ती वडामा उत्पादित सुन्तलालाई सदमुकाम दमौलीसम्म ल्याउन सहजताका लागि अस्थायी पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उक्त अस्थायी पुलले देवघाट गाउँपालिका–३ लाई बुद्धसिंह मार्गसम्म जोड्छ । त्यहाँबाट दमौली वा घुमाउने हुँदै नारायणगढ पुग्न सकिन्छ ।
चालू आवको मंसिर महिनामा उक्त काठे पुल निर्माण गरिएको र अस्थायी पुल आगामी जेठ महिनासम्म सञ्चालन हुने थापाले जानकारी दिए । उनले भने, “गाउँपालिकाको उक्त २ वटा वडासम्म जान मोटरेबल पुल निर्माण नभएको हुँदा हिउँदको समयको लागि मात्र भए पनि काठको अस्थायी पुल निर्माण गरिएको हो ।”
अध्यक्ष थापाका अनुसार वर्षायामको सुरुवातसँगै नदीमा पानीको बहाव बढ्न थालेपछि वैशाख अन्त्य वा जेठको सुरुमा उक्त पुलको काठ झिकेर राखिनेछ । उक्त काठ अर्काे वर्षको हिउँदमा पनि पुनः प्रयोग गर्ने योजना रहेको उनले बताए । स्थानीय शेरबहादुर मल्लले अस्थायी पुल निर्माण भएपछि गाउँमा उत्पादित सुन्तला बजारसम्म लैजान सहज भएको बताए । उनले भने, “अस्थायी पुल नहुँदा गाउँसम्म मोटर जाँदैनथ्यो, बोकेरै बजारसम्म ल्याउनुपर्ने बाध्यता थियो ।” उनका अनुसार यस क्षेत्रबाट वार्षिक एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ ।
गाउँपालिका अध्यक्ष थापाले यसरी ६ महिनाको लागि हरेक वर्ष लाखौ खर्च गरेर अस्थायी पुल हालेर सम्भव नहुने बताउँदै नाल्दी वा मास्दीघाटमा कुनै एक ठाउँमा मोटरेबल पुल निर्माण गर्न सके स्थायी रूपमा नै समस्या समाधान हुने बताए । पुल निर्माणको लागि संघीय सांसद र गण्डकी प्रदेशका मन्त्रीहरूलाई पटकपटक ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्