डीपीएलको तयारी अन्तिम चरणमा «

डीपीएलको तयारी अन्तिम चरणमा

पुरस्कार राशि वृद्धि, विजेताले ३० लाख पाउने

धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करण ‘रुस्लान डीपीएल–३’ को तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
“यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ, अब दुलहीझैं सिंगार्नमात्रै थोरै काम बाँकी रहेको छ,” धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगिता रुस्लान डीपीएल ३ मा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२ जना अक्सनबाट लिइएका खेलाडी (स्थानियसहित), एक रणनीतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।
डीपीएलको तेस्रो संस्करणको मुख्य प्रायोजक रुस्लान रहेको छ । यस्तै फुटवेयर पार्टनरमा गोल्डस्टार, कन्स्ट्रक्सन पार्टनरमा जगशक्ति, मेडिकल पार्टनरमा नेपाल मेडिसिटी, पेन्ट पार्टनरमा जस्मिन पेन्ट्स, बैंकिङ पार्टनरमा नबिल बैंक, इन्सोरेन्स पार्टनरमा अजोड इन्सोरेन्स, हाइजिन पार्टनरमा हिमाल डेन्टल, एअरलाइन्स पार्टनरमा श्री एअरलाइन्स, हस्पिटालिटी पार्टनरमा होटल फ्लोरा, करिअर पार्टनरमा कुमारी जब, ब्रोडकास्ट पार्टनरमा एपीवान एचडी र टिकेटिङ पार्टनरमा ई–सेवा रहेका छन् ।
यस्तै प्रतियोगिताको प्रवर्धकहरुमा नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिका रहेका छन् । प्रतियोगिताको गुडविल एम्बास्डरमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ ।
विगतका संस्करणमा झैं प्रतियोगिता सर्वाधिक धनराशिको हुने भएको छ । प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको छ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइने छ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैयाँ थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो ।
प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच गर्ने दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था समेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ । टिकट काटेर आउने दर्शकहरुका लागि गोलाप्रथाबाट आर्कषक नगद तथा अन्य पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

यस्तो छ खेल तालिका
प्रतियोगिताको खेल तालिका यस अघि नै सार्वजनिक भइसकेको छ । पहिलो खेल माघ २६ गते शनिबार दिउँसो १ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ । प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनलमा पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमस“गको विजेतास“ग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्