प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारद्धारा छापा
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा हानेको छ । आयोगको बर्दिबास कार्यालयको टोलीले बुधबार प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद ढकालले जानकारी दिए ।
प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको भन्ने उजुरी परेको तथा सञ्चार माध्यममा समाचार पनि आएकाले त्यसलाई ग्रहण गरी आयोगको बर्दिबास कार्यालयबाट छापा मारी कागजात बरामद गरेको ढकालले बताए । उनले ती कागजातहरू काठमाडौं ल्याएर अनुसन्धान गरिने बताए ।
संघीयता स्थापनापछि आयोगले पहिलोपटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । भ्रष्टाचार नियन्त्रण गर्न र संविधानको जिम्मेवारी पूरा गर्न संघ, प्रदेश र स्थानीय तह भनेर हेर्न नमिल्ने भन्दै ढकालले आयोगमा परेका जस्तासुकै उजुरीमा छानबिन गर्ने बताए । उनले भने, ‘संघीयतामा भ्रष्टाचारको स्थानीयकरण भयो भन्ने हल्लालाई निमिट्यान्न पार्नुपर्दछ ।’