दैनिक उपभोग्य वस्तु आपूर्ति सहज बनाउन उद्योग समितिको पहल «

दैनिक उपभोग्य वस्तु आपूर्ति सहज बनाउन उद्योग समितिको पहल


प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको छ ।
समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको हो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्याधिक हुने भएकोले आयातित वस्तुहरुको परीक्षण गरिने बताए ।
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भेडा, खसी र च्याङ्ग्रालगायतको व्यवस्थापनमा सहजता पु¥याइरहेको भन्दै नागढुंगा नाकामा आयातित मासुजन्य जनवरहरुको स्वस्थ अवस्था परीक्षण गरिने बताए । उनले यसका लागि पशु सेवा विभागलाई टिम खटाएर निरीक्षण गर्न लगाइएको पनि बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलको मूल्य अत्याधिक बढिरहेकोले यसबारेमा उत्पादक समिति र सरोकारवाला निकायहरु बसेर छलफल गर्नुपर्ने बताए । मूल्य मात्र हेरेर निरीक्षण गर्दा उपभोक्ताहरु मारमा परिरहेको बताउँदै उनले तेलको मूल्यसहित गुणस्तरलाई ध्यानमा राखेर निरीक्षण गर्नुपर्ने बताए ।
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख डिल्लीराज लम्सालले एक लाख ९ हजार ५१२ क्विन्टल चामल गोदाममा रहेको बताए । उनले ६६ हजार क्विन्टल धान कुटानी भइरहेको र गहुँ ९ हजार ६ सय ६४ क्विन्टल खाद्य विभागको गोदाममा रहेको बताए । त्यस्तै विभागीय प्रमुख लम्सालले बाजुरा, मुगु र दार्चुला जिल्लामा खाद्यान्न ढुवानीमा केही समस्या रहेपनि बिस्तारै आपूर्तिको काम अघि बढाइएको बताए ।
त्यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक डालप्रसाद पुडासैनीले साउन, भदौ र असोजमा तरकारीको मूल्य बढ्नु स्वभाविक भएको बताए । उनले यी महिनामा तरकारीको सिजन सकिने र नयाँ तरकारी पनि नआइसक्ने भएकोले तरकारीको मूल्य बढ्न गएको स्पष्ट पारे । उनले यसबेला वर्षको सिजन भएकोले पनि बाढी, पहिरो जस्ता प्राकृतिक आपद्ले सडकमा समस्या पर्ने भएकाले तरकारीको मूल्य बढेको बताए । तरकारीको जथाभावी मूल्यलाई नियन्त्रण गर्नको लागि स्थानीय निकायले नै अनुगमन गर्नुपर्ने उनले बताए ।
दुग्ध विकास संस्थानका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले चाडबाडमा आपूर्ति व्यवस्थालाई कडा बनाउन पहल भइरहेको बताए । उनले असोज १ गतेदखि नै केही सामग्रीहरुमा छुट दिइरहेको बताए ।
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले अहिले निगमले ५ रुपैयाँ ६४ पैसा घाटामा पेट्रोलको कारोबार गरिरहेको बताए । उनले डिजेलमा २ रुपैयाँ ७२ पैसा घाटा, मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ नाफा, हवाइ इन्धनमा ५ रुपैयाँ ४३ पैसा नाफा र ४९५ रुपैयाँ घाटामा सिलिण्डर ग्यास बिक्री गरिरहेको दावी गरे ।
साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडकी महाप्रवन्धक उर्मिला श्रेष्ठले चाडबाडमा नुनको खाँचो नपर्ने बताइन् । उनले अहिलेको अवस्थामा कम्पनीमा नुन १० महिनासम्मलाई स्टक रहेको र चिनी भने आवश्यक्ताअनुसार नरहेको बताइन् । उनले चिनीको परिपूर्ति गर्नको लागि सरकारसँग कुरा भइसकेकोले केही दिनमै त्यसको सम्बोधन हुने बताइन् । उनले सुदूरपश्चिममा नुन र रासायनिक मललाई धेरै प्राथमिकता दिए पनि अभाव भएको गुनासो आएकाले तत्काल समाधान गरिने बताइन् ।
महाप्रवन्धक श्रेष्ठले अहिले कर्पोरेशनसँग १ लाख ४२ हजार ३०९ मेट्रिक्टन नुन रहेको बताउँदै यो मात्राले अझै १० महिना धान्ने बताइन् ।


‘बजार अनुगमन बढाउ’
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्रीहरु अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिएको बताए ।
उनले काठमाडौं, भक्तपुर र ललितपुरजस्तै देशभरका जिल्ला प्रशासन कार्यालमार्फत बजार अनुगमन प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताए । उनले साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरुको पसल अन्य स्थानमा राख्न पनि निर्देशन दिए । सभापति श्रीवास्तवले समितिले चाडबाडको बेलामा आवश्यक खाद्यान्नहरुको तत्काल आपूर्ति गर्न पनि निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्