नयाँ पर्यटकीय गन्तव्य बन्दै झ्याउँपोखरी «

नयाँ पर्यटकीय गन्तव्य बन्दै झ्याउँपोखरी

इलामको देउमाई नगरपालिकास्थित झ्याउँपोखरीमा पानीको सतह बढेसँगै पर्यटकको चहलपहल सुरु भएको छ । पोखरीको संरक्षणमा स्थानीय र पालिका लागिपरेपछि पानीको सतह बढेको हो ।
विगत लामो समय खेलमैदानमा रूपान्तर भएको पोखरीमा पानीको सतह बढेको मात्र छैन, त्यसमुनि रहेका सुकेका धारा र पँधेरोमा समेत पानी पुनः पलाउन थालेको छ । यसले गर्दा गाउँ नै हरियाली बन्ने स्थानीयले आशा लिएका छन् ।
हाल यस प्राकृतिक झ्याउँपोखरीमा आगन्तुक घुम्न आउन थालेका छन् । देउमाई नगरपालिका वडा नम्बर ८ र ९ को सिमाना जितपुरमा अवस्थित पोखरी पुनर्निर्माणले पानी सञ्चय हुन थालेपछि आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् ।
पोखरी पुरानै अवस्थामा फर्किन थालेपछि पोखरीको तल्लो क्षेत्रका सुकेका पानी पँधेरा जाग्न थालेको स्थानीयले बताएका छन् । वर्षाको समयमा पनि आधा मात्र पानी देखिने पोखरीमा गएको हिउँददेखि नै पानी सुक्न छोडेको छ । यस वर्ष पोखरीमा पानीको सतह भरिभराउ भएपछि स्थानीय झनै उत्साहित भएका छन् ।
निरन्तर सुक्न थालेको झ्याउँपोखरीमा केही वर्षदेखि पानीको सतह बढ्न थालेपछि आन्तरिक पर्यटक भित्रिनेमा स्थानीय ढुक्क छन् । पानी जम्मा हुन थालेपछि माछाका भुराहरू लगाइएको छ । पोखरी संरक्षणका लागि रोपिएका बहुमूल्य बिरुवा हुर्किन थालेका छन् । मनै लोभ्याउने पोखरीको दृश्यमा भुल्न गाउँमा आउने स्थानीय आगन्तुक पोखरी हेर्न र घुम्न आउन थालेका छन् ।
३१ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा ६ वटा कुना रहेका छन् । आगन्तुकले पोखरीको प्रत्येक कुनाबाट फरक दृश्य र अनुभूति गर्न सक्छन् ।
विगतमा खेल खेल्न, हेर्न र वनभोज खान आउने गरेको स्थानीय पोखरीमा पानी जम्न थालेपछि स्थानीय र आगन्तुकले आनन्द लिन आउने थलो बनेको छ । आन्तरिक पाहुनालाई लोभ्याएको पोखरीमा आगन्तुकले प्रकृतिसँग लुकामारी खेल्दै, फोटो खिच्दै खाली समय बिताउने गर्छन्, जसले आन्तरिक पर्यटन व्यवसायलाई सहयोग गरेको स्थानीय दीपक बरालको भनाइ छ ।
धार्मिक आस्थाको दृष्टिले हेर्ने गरिएको पोखरी संरक्षण चेतनाको अभावले फोहोरमैला बढ्दै गएपछि विगत ७० वर्षअघिदेखि सुक्न थालेको पोखरी पलाउन थालेपछि स्थानीयमा उत्साह थपिएको बरालको भनाइ छ । सो पोखरी विगत ४० वर्षयता गाईवस्तुको चरणक्षेत्र बनेको थियो । साथै खेलमैदानमा परिणत भएसँगै पोखरीको तल्लो क्षेत्रका पँधेरा र पानीका स्रोत बिस्तारै सुक्न थालेका थिए ।
स्थानीयमा पानीको सञ्चय गरेमा स्रोत नसुक्ने र सदावहार हरियाली छाउने चेतना आएसँगै पोखरी पुनर्निर्माणमा कस्सिएको स्थानीयले विगत वर्षदेखि स्थानीय खोल्सीको पानी ल्याएर पोखरीमा लाउन अभ्यास गरे, जसका कारण खेल मैदानमा परिणत सुक्खा थलो पोखरीमा परिणत भएको छ ।
पोखरीमा माथिल्लो भागमा रहेको लेयरलाई फालेर पानी जम्न सहज हुने गरी काम थालिएको देउमाई नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष प्रेमसागर बरालले बताए ।
पोखरी पुनर्निर्माणमा पटक–पटक गरेर २२ लाख ५० हजार खर्च भइसकेको छ । २०५४÷५५ सालमा स्थानीय संकल्प युवा समाजले पोखरीको बीचमा रहेको थुम्कीमा मन्दिर निर्माण थालेसँगै पोखरी पुनर्निर्माणको शुभारम्भ भएको थियो ।
बनाइएको मन्दिर अवशेष मात्र बाँकी भए पनि तत्कालीन जिल्ला विकास समितिले छाउने जस्तापाता खर्च र जितपुर गाउँ विकास समितिको ५० हजार अनुदान सहयोग ग¥यो ।
पछिल्लो पटक पुनर्निर्माणका लागि स्थानीय ओम बरालले नेतृत्व गरेको संरक्षण समितिले सिमएन आयोजनाको २ लाख र सांसद विकास कोषको ५० हजार खर्च गरेको छ । निर्माण समितिको पहलमा १७ सय मिटर टाढाबाट पोखरीमा पानी लाउन सुरु गरिएको देउमाई नगरपालिका ९ का वडा अध्यक्ष प्रेमसागर बरालले बताए ।
२०७५ सालमा पुनर्निर्माणलाई संस्थागत गर्दै झ्याउँपोखरी संरक्षण तथा पूर्वाधार निर्माण उपभोक्ता समिति बनाइयो । समितिको मातहतमा पोखरी पुनर्निर्माणमा १९ लाख ५० हजार खर्च गरिएको छ । यसमा जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन एकाइ विराटनगरले १० लाख, मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामले ५ लाख, डिभिजन वन कार्यालयले ३ लाख र देउमाई नगरपालिका ८ र ९ वडा कार्यालयले १ लाख ७५ हजारका दरले ३ लाख ५० हजार खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ । पोखरीको बीचमा रहेको मन्दिरमा जान पुलको व्यवस्था गरिने देउमाई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्र मगरले बताए । उनले पोखरीमा डुंगा सञ्चालनको समेत तयारी भइरहेको बताएका छन् ।
लामो समय काकाकुल पोखरीमा पानीको सञ्चयले स्थानीयवासीमा जीवन निर्वाहको वैकल्पिक पेसा पर्यटनको सम्भावना बढाएको छ । व्यवस्थापन, विकास, प्रवद्र्धन र प्रचारप्रसार गर्न सके गजुरमुखीधाम र सिद्धिथुम्का आउने पर्यटकको अर्को गन्तव्य बन्नेछ । यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले चासो दिन सके स्थानीयको समेत पर्यटन व्यवसायमा चासो बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्