क्यूआर कोडसहितको भिसा जारी «

क्यूआर कोडसहितको भिसा जारी


अध्यागमन विभागले दुई महिनामा १० हजार ८४३ ले क्यूआर कोडसहितको प्रिन्टेड भिसा जारी गरेको छ । विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ भिसा प्रणालीको सुरुवात गर्दै असार १४ गतेबाट क्यूआर कोडसहित छपाइ गरिएको भिसा जारी गरेको थियो । क्यूआर कोडसहित छपाइ गरिएको भिसाले विद्युतीय भिसाका लागि आधार तयार गरेको हुँदा नियमन गर्न सहज हुने विभागको भनाइ छ ।
सरकारले १४ माघ ०७६ मा नेपाली पोर्ट लागू गरेको थियो । नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोमेट्रिक इन्फरमेसन, फिंगरप्रिन्ट र फोटोसमेत प्रणालीमा रहने छ । यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बद्ध सूचनासमेत हेर्न मिल्ने व्यवस्था छ । यही नेपाली पोर्टकै कार्यान्वयन स्वरुप विभागले क्यूआर कोडसहितको भिसा जारी गरेको हो । यसबाट नेपाली भिसाको दुरूपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विभागका निर्देशक झंकनाथ ढकालले बताए ।
विभागले आगामी आर्थिक वर्षमा विद्युतीय भिसामा जान सकिने गरी योजनाबद्ध, संगठित र समयबद्ध कार्ययोजना तयार गरी काम गरिरहेको र स्रोतको व्यवस्थापनमा लागेको निर्देशक ढकालले बताए । यसले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहज हुने उनको भनाइ छ । विद्युतीय भिसा प्रणालीका सम्बन्धमा नयाँ व्यवस्थासँगै चरणबद्ध रूपमा विकास गर्दै अध्यागमन विभागलाई आधुनिकीकरण गर्दै जाने योजना रहेको विभागले जनाएको छ । क्यूआर कोडसहितको भिसाले विदेशी नागरिकको अनुगमनमा अपेक्षित रूपमा प्रभावकारिता ल्याउन मद्दत गर्नेछ । क्यूआर कोडसहित छपाई गरिएको भिसा पद्धतिलाई आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्र विभागअन्तर्गतका सबै कार्यालयमा सञ्चालनमा ल्याइने लक्ष्य रहेको निर्देशक ढकाले बताए । उनले भने, “अध्यागन विभागबाट मात्र क्यूआर कोडसहितको भिसा जारी गरेको अवस्था छ, चाँडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसहित १४ कार्यालयबाट जारी गर्ने योजना रहेको छ ।”
विभाग र अन्तर्गतका कार्यालयबाट साविकमा जारी गरिँदै आइएका भिसाहरू हस्तलिखित भएकाले भिसाको विवरण अस्पष्ट हुनुका साथै केरमेट भई दोहोरो लेखाइ हुनसक्ने र परम्परागत तरिकाले प्रिन्ट गरिने हुँदा सुरक्षाका उपाय अपेक्षित रूपमा प्रभावकारी नभएकोले दुरुपयोग हुनसक्ने जस्ता समस्या रहेको थियो । अध्यागमन विभागको एकीकृत सूचना प्रणाली नेपाली पोर्टबाट प्रिन्ट हुने गरी शुभारम्भ गरिएको नयाँ भिसा प्रणालीबाट भिसाको सुरक्षा र व्यवस्थापनमा सुदृढीकरण हुने अपेक्षा गरिएको विभागले जनाएको छ । क्यूआर कोड भिसामा होलोग्राम र वाटरमार्क रहने, भिसा स्टिकरमा क्यूआर कोड हुने जसमा भिसाको विवरण समावेश गरिएको हुने, क्यूआर कोड रिडरको प्रयोग गरी सजिलै भिसाको आधिकारिकता र अन्य विवरण लिन सकिनुका साथै, भिसाको विवरणहरू प्रणालीबाट प्रिन्ट हुने हुँदा हातले केरमेट गर्न नमिल्ने हुन्छ । क्यूआर कोडमा समावेश गरिएका विवरणहरू परिवर्तन गर्न नमिल्ने, भिसा नम्बरसमेत प्रणालीबाट सिर्जित गरिने हुँदा शुद्धता हुने, राहदानीको एउटा पेजमा तीन वटासम्म भिसा अटाउन सकिने भएकाले गर्दा उपयोगीता बढी हुने निर्देशक ढकालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्