Logo

अफर र चिठ्ठाको नाममा ठगी गर्नेलाई कारबाही


चाडपर्वको बेला बजारमा अफरका नाममा कमसल सामान बिक्री गर्ने र चिठ्ठामार्फत ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा अफर दिएर उपभोक्ता ठगी गर्ने गरेको फेला परे तत्काल कारबाही गर्ने बताएको छ ।
चाडपर्वको बेला बजारमा किनमेल बढी हुँदा व्यवसायीले विभिन्न अफर ल्याएर कमसल सामान दिएर उपभोक्ता ठग्ने गरेको उजुरी विभागमा पर्ने गरेको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले चाडपर्वको बेला व्यापारिक मलले अफर चिठ्ठाको नाममा उपभोक्ता ठग्ने भएकाले पनि त्यसतर्फ अनुगमन केन्द्रित हुनुपर्ने बताए । चाडपर्वको बेला व्यापारिक कम्पनीले सेलमा सामान राखेर पुराना कमसल सामान अफरमा दिएर बिक्री गर्ने गर्छन् । सस्तोमा सामान पाएर खरिद गर्ने तर ठगिने गरेको उपभोक्ताको गुनासो छ । शंखमूलकी पार्वती थापाले न्युरोडको मख्खनटोलमा अफरमा राखिएका कपडा खरिद गर्दा कमसल भएर आफू ठगिएको गुनासो गरिन् ।
विभागका निर्देशक शिवराज सेढाईंले उपभोक्तालाई ठग्ने नियतले अफरमार्फत कमसल सामान वितरण गर्नेलाई कारबाही गरिने बताए । चाडपर्वको बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, कमसल सामान बिक्री म्याद नाघेका सामान वितरण, तौलमा कमी, रिलेबलिङ्गको समस्या हुनसक्ने भन्दै संयुक्तरूपमा बजार अनुगमन गरिएको उनले जानकारी दिएको छ । “दैनिकजसो ६ वटा टोली बनाएर अनुगमन अनुमगन गरिरहेका छौं ,” उनले भने, “कहीँकतै ठगी गरेको फेला परे उजुरी गर्नुहोस् तत्काल कारबाही गर्छौं ।” चाडपर्वमा बढी किनमेल हुने खाद्यान्न, लत्ताकपडा, मासुुमा अनुगमन बढी केन्द्रित गरिएको उनले जानकारी दिए ।
चाडपर्वको बेला बजारमा किनमेल बढी हुने भएकाले व्यापारिक मलले कमसल सामान दिन उपभोक्ता ठग्ने सक्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको विभागले जानकारी दिएको छ । वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुणनिन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, स्वास्थ्य सेवा विभाग, कृषि विभागसँगै उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरिरहेको छ । दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेकाले बजारमा अभाव नभएको विभागको दाबी छ । चिनी तीन महिनालाई पुग्ने मौज्दात रहेको र नियमतिरूपमा आयात भइरहेकाले पनि बजारमा अभाव नभएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्