संविधान संशोधनमा ढिलाइ हुने «

संविधान संशोधनमा ढिलाइ हुने

राष्ट्रिय जनता पार्टी (राजपा)ले उठाएको संविधान संशोधनको माग तत्काल पूरा नहुने भएको छ । सत्ताधारी पार्टी नेकपा नै आन्तरिक किचलोमा फस्न पुगेकाले राजपाको माग सम्बोधनमा ढिलाइ हुने देखिएको हो ।
राजपाका नेताहरूले प्रधानमन्त्रीलाई मौखिक रूपमा सक्दो चाँडो आफ्नो माग पूरा गर्न भनेको बताइएको छ । उनीहरूका अनुसार संविधान संशोधनको विषयले राजपामा पार्टीका नेता कार्यकर्ताहरूको ठूलो दबाब रहेको छ ।
उता सत्तापक्षमा पनि संक्रमणकालीन न्यायसम्बन्धी विषयबारे ठोस निष्कर्ष निकाल्नुपर्ने चिन्ता बढ्दै गएको छ । स्रोतका अनुसार नेकपाका नेताहरूले छलफललाई छिट्टै टुंग्याउनुपर्ने दबाब सिर्जना गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षीसँग पनि यस्ता विषयमा छलफल गर्नुपरेको देखिएको छ । यसका लागि ओली कार्यदल बनाएर जाने सोचमा रहेको बताइएको छ । त्यो कार्यदलले सत्तापक्षलाई समस्या परेको विषय र राजपाको संविधान संशोधनका विषयलाई सूचीबद्ध गरी प्रस्तुत गर्ने अपेक्षा ओलीको रहेको छ ।
यसबारे ओलीले राजपाका नेताहरूसँगको छलफलमा जानकारी दिएको राजपाका संयोजक महेन्द्र राय यादवले जनाए । उनले भने, “विगतमा हामीले संशोधनको कुरा उठाउँदा बेवास्ता गरियो । अहिले संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्ने भो भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो ।”
राजपाले उठाएको संविधान संशोधनको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पहिलेदेखि नै सकारात्मक रहेको राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए । उनले भने, “प्रचण्डजी त हाम्रा मागहरूमा पहिलेदेखि नै सकारात्मक हुनुहुन्छ । अहिले त पार्टी एकीकरण भएपछि त्यो प्रस्तावमा सहमति जुटाउने काम उहाँको काँधमा पुगेको छ ।”
दुवै पार्टीका नेताहरूले राजपाका मागबारे सरकार सकारात्मक रहेको भएपनि यसलाई व्यवस्थित गरेर लान समय लाग्ने देखिएको छ । उनीहरूका अनुसार पहिला कार्यदल बन्नुपर्नेछ । त्यसपछि उठेका विषयलाई अन्तिम टुंगो लगाउनुपर्ने र त्यसलाई कानुनी भाषामा ढाल्नुपर्ने हुन्छ । अनिमात्र सदनमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्