नेपालमा अबको समस्या मल भण्डारण र वितरण «

नेपालमा अबको समस्या मल भण्डारण र वितरण

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताए ।
सोमबार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाँचौँ साधारणसभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताए । उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए । उनले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताए ।

उनले आगामी दिनहरूमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताए । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरूले पछि दिए पनि हुने मललाई समयभन्दा अघि नै मल दिएको बताए । उनले मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरूलाई चिर्दै काम गरेर देखाउनुपर्ने बताए । कृषि सचिव आचार्यले सबैलाई राम्रो काम गरेर देखाउन पनि अनुरोध गर्दै कृषकहरूलाई आवश्यक मल र हाल्ने प्रक्रिया सिकाउनुपर्ने बताए ।
कृषि सचिव आचार्यले भने, ‘आगामी दिनहरूमा प्रमुख रुपमा उठ्ने अर्को मुद्दा भनेको यसको गुणस्तर हो, गुणस्तरमा स्टोरेज फ्यासालिटीले धेरै फरक पार्छ, स्टोरेज जाने बेलामा यहाँ कृषि अथवा साल्ट ट्रेडिङको गोदामको मात्रै विषय होइन, हामीले लगेर कहाँ कसरी राख्छौँ ? भन्ने पनि छ, कसरी लैजान्छौँ,ट्रान्सपोटेसन कुराहरू गर्दा पानी पर्ने, हावा लाग्ने,लगेर कहाँ राख्ने ? हुनत प्लास्टिक छ, तर त्यसले पनि सधैँ थेगिरहन्छ भन्ने जरुरी छैन,त्यसैले यसमा व्यवसायीहरूले पनि एकदमै ध्यान दिनुपर्छ, गुणस्तर र नियमनको विषयलाई अझ बढी विस्तृत बढाउने प्रक्रियामा लागि परेका छौँ, नेपाली आयात कर्ताको कुरा गर्दा हामी अहिले खुसी पनि छौँ, हमीले पछि दिए हुनुपर्ने मल अहिल्यै दिएका छन् ।

त्यो दायित्व, क्षमता इम्पोटरको मात्रै होइन, डिस्ट्रीब्यूटरहरूले पनि देखाउनुपर्यो, मल धेरै किसानसँग जोडिएको छ र सबैले शंका, आशंकाको दृष्टिकोणले हेर्ने भएकोले पर्फमेन्स गरेर शंका, आशंकालाई चिर्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरूका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए । उनले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औँल्याएका थिए । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उनले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरू भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताए ।
पशुपंक्षी विकास सचिव शर्माले भने, ‘हामीले तीन वटा कुरामा ध्यान दिनुपर्छ, फार्म, हामीले किसानको खेतबारीमा मल पुर्याउने हो, त्यसैले किसानको खेतबारी चाहिएको समयमा मल पुग्नुपर्छ, अर्को फर्म हो जो,यसको वितरण व्यवस्थापन, सप्लाइ, समुचित व्यवस्थापन,सहभागि हुनुहुन्छ । यसमा तपाईंहरू इम्पोटर पनि हुनुहुन्छ,होल्सेलर र रिटेलर पनि हुनुहुन्छ, अर्को फ्याक्ट्री हो, धेरैजसो त हामी डिपेण्डेन नै छौँ, केही मात्रामा हामी मिक्स फोटीलाइजर इम्पोट गर्दछौँ, यो तीनवटा मलको आपूर्ति, व्यवस्थापन, प्रयोगमा जोडिएका पात्रहरू हुनुहुन्छ,यो बीचमा किसानलाई फार्मसँग जोड्ने र फ्याक्ट्री र फार्मसँग जोड्ने काम व्यवसायीहरूले गरिरहनुभएको छ, तपाईहरूको संघ धेरै ठूलो भूमिकामा हुनुहुन्छ ।’
त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए । उनले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे । उनले मलखाद सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो बनोस् भन्ने सुनाउँदै अनुशासित र इमान्दार भएर कृषकको सेवामा लाग्नुपर्ने आँंल्याए । उनले सबैलाई समेटेर प्रादेशिक समूह बनाउन पनि मलखाद संगठनलाई अनुरोध गरे ।
प्रवन्ध सञ्चालक भण्डारीले भने, ‘यो कताकता सहकारी बाहेकको संगठन जस्तै बनाउन खोज्नुभयो, होइन, हुँदैन,तपाईहरूको पावर आफैँले मिनिमाइज गर्नुभयो,विधान परिमार्जन गर्ने कुरा भएको छ, गर्नुहोस् तर सबैलाई समेटेर खुला बनाउनुस्, सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो होस्, आफू पनि इमान्दार र अनुशासित भएर किसानलाई दिने सेवा दिनुहोस्,मुनाफा मात्रै नहेर्नुस्, अब सेवा गर्नुहोस्,पारदर्शीका लागि तपाईंहरूले डाटा इन्ट्री गरेर पारदर्शीतामा सेवा पुर्याउन सक्नुहुन्छ,सबैलाई समेट्दै देशभरको प्रादेशिक संरचना अनुसार प्रादेशिक सम्मको समिति बनाउनुहोस्, जिल्लागत त सक्नुहुन्छ सक्नुहुन्न ।’
प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरू स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिए । उनले बिक्री वितरणमा सुशासन महत्वपूर्ण पाटो भएको बताउँदै उनले उक्त जिम्मेवारी बोध गरेर निर्देशिका बमोजिम कम्प्युटरकृत गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्