नेविसंघ विघटनको प्रस्ताव «

नेविसंघ विघटनको प्रस्ताव

कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा निर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि स्वतः कार्यकाल सकिएको नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्न निधिले प्रस्ताव गरेका हुन् ।
अहिलेको कार्यसमितिको कानुनीसँगै राजनीतिक रुपमा पनि औचित्य सकिएको भन्दै उपसभापति निधिले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका छन् । निधिले राखेको सो प्रस्तावको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल देखिएका छन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्य कल्याण गुरुङले केन्द्रीय समिति बैठकमा नेविसंघको कार्यसमिति विघटनको विषयले प्रवेश पाएको जानकारी दिए । “उपसभापति विमलेन्द्र निधिले विघटनको प्रस्ताव ल्याउनुभएको छ,” उनले भने, “सो विषयमा बिहिबार बिहान ११ बजेबाट पुनः बस्ने केन्द्रीय समितिमा छलफल हुनेछ ।”
केन्द्रीय सदस्य कृष्ण सिटौला भने नेविसंघको वर्तमान कार्यसमिति विघटनको विपक्षमा देखिएका छन् । अहिले कार्यसमितिको म्याद थप गरेर महाधिवेशनमार्फत् नयाँ नेतृत्व ल्याउनुपर्नेमा उनको जोड थियो । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा पनि यो समिति विघटनकै पक्षमा छन् । बिहिबार बस्ने केन्द्रीय समिति बैठकले वर्तमान कार्यसमिति विघटन गर्ने देउवा निकट एक केन्द्रीय सदस्यले दाबी गरे । “निर्धारित मितिसम्म केही नगर्ने अनि थपेको म्याद पनि गुजार्ने । अब केका लागि समय थप गर्ने ?” ती केन्द्रीय सदस्यले भने, “सभापति, उपसभापति र वरिष्ठ नेता विघटन गर्ने पक्षमा हुनुहुन्छ । त्यसकारण पनि यसको म्याद थपिन्न, विघटन हुन्छ ।”
नेविसंघको विधानमा कार्यसमितिको कार्यकाल २ वर्ष रहने र म्याद सकिएको ३ महिनासम्म मात्रै कार्यसमितिको म्याद थप गर्न मिल्ने व्यवस्था छ । तर, कांग्रेसले ३ महिना थप गर्ने व्यवस्थालाई २ महिना थप गरेर ५ महिनासम्मको लागि म्याद थप गरेको थियो । माघ २ गते सो म्याद सकिँदा समेत नेविसंघका केही जिल्लामा मात्र अधिवेशन सम्पन्न भएका छन् ।
नेविसंघमा सभापति नैनसिंह महर र महामन्त्री म्याद थपका पक्षमा छन् । महर देउवा र काफ्ले सिटौला निकट हुन् । देउवा समूहकै महामन्त्री सरोज थापा, उपाध्यक्ष पवन यादव, सहमहामन्त्री प्रेम जोशीलगायत ७ पदाधिकारीले कार्यसमितिको म्याद थप्न नहुने भन्दै राजीनामा बुझाएका छन् । जसले सभापति देउवा समेत महरको कार्यकाल नबढाउन दबाबमा परेका छन् ।
पार्टीमा र अन्य भातृ संस्थामा खासै प्रभाव नरहेपनि सिटौला समूहको प्रभाव नेविसंघमा भने रहेको मानिन्छ । त्यसकारण सिटौला म्याद थपको पक्षमा उभिएपनि नेविसंघको मञ्च प्रयोग गरेर आफ्नाविरुद्ध खनिएकोमा रुष्ट देउवा विघटनको पक्षमा पुगेको उनी निकटस्थ बताउँछन् । वर्तमान कार्यसमितिमा प्रभावशाली मानिने सभापति र महामन्त्रीमा आफ्नो उपस्थिती नरहेको पौडेल समूह पनि यो समिति विघटन गरेर नयाँ आउँदा आफ्नो प्रभाव बढ्ने विश्लेषण गरेर विघटनकै पक्षमा उभिएको हो ।

प्रतिक्रिया दिनुहोस्