राहुघाट जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशत «

राहुघाट जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशत


म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना ढिलासुस्तीले थलिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सम्झौता भएर विभिन्न चरणका ठेकेदारले समयमै काम गर्ने जनशक्ति फिल्डमा नल्याई १२ वर्ष बितिसक्दा पनि ३० प्रतिशत काममा सीमित भएको छ ।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा वि.सं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । पुरानो ठेकेदार आईभीआरसीयल टाट पल्टिएपछि वि.सं २०७२ मा ऊसँगको ठेक्का तोडेर वि.सं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगंगा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माणअघि बढाएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट वि.सं २०७० मा निर्माण सकिनुपर्ने थियो ।
विसं २०७४ मंसिरमा ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एसोसियट् (जेपी) ले पनि अपेक्षाकृत काम गर्न सकेको छैन । आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताए । ४५ महिनाको ठेक्का सम्झौताको म्याद सकिन लागेको छ ।
हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) निर्माण सकिएको छ । पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ । ६ किलोमिटर दुई सय मिटर लामो सुरुङमध्ये हालसम्म एक हजार ७३७ मिटर निर्माण सकिएको छ । प्रेसर साफ्टको २५४ मिटर सुरुङ निर्माण भएको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्रका जनता बताउँछन् । पहिरोका कारण बाँध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ निर्माणको काम गतअसार महिनादेखि रोकिएको छ ।
पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युत्गृह निर्माणलाई समेत प्रभावित बनाएको छ । अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लम्बिने बताए ।

प्रतिक्रिया दिनुहोस्