जुम्लामा ७६ किमि नयाँ ट्रयाक सडक निर्माण «

जुम्लामा ७६ किमि नयाँ ट्रयाक सडक निर्माण


पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ । गत आर्थिक २०७७/०७८ मा कोरोनाकहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियाताले पूर्वाधार विकासमा उल्लेखनीय रूपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो । जिल्लाका सबै विकासे कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको छ । भौतिक प्रगतितर्फ गत आवमा मात्रै पूर्वाधार कार्यालयले ७६ किमि नयाँ ट्रयाक सडक निर्माण गरेको छ ।
अन्तरजिल्लादेखि विभिन्न गाउँ जोड्ने ७६ किमि नयाँ ट्रयाक सडक निर्माण भएको छ । जसमा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत नौ किमि र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६७ किमि गरी जम्मा ७६ किमि नयाँ ट्रयाक सडक निर्माण भएको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बताए । उनका अनुसार गत आवमा सडक स्तरवृद्धि तथा चौडा ३७ किमि, ड्रेन निर्माण १९ किमि, ग्राभेल नौ किमि भएको छ । त्यस्तै, त्रिवेणीमा कर्णाली प्रदेशकै पहिलो उच्च प्रविधिको पक्की पुल, चिउडी र मसानडाडामा झोलुंगे पुल तथा २५० जनता आवासका घर निर्माण भएको प्रमुख रावलको भनाइ छ ।
पूर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तथा सूचना अधिकारी टेकबहादुर हितानका अनुसार नयाँ ट्रयाक सडक निर्माणअन्तर्गत तातोपानीको टोल्पा हुँदै इमिल्छासम्म ३५ सय मिटर, तिलाको रासा हँुदै मालापानी ३५ सय मिटर, सिंजाको गेरा हँुदै भाडगाउँ दुई किमि र कनकासुन्दीको जलजला हँुदै छालाचौरसम्म साढे चार किमिलगायत ७६ किमि नयाँ सडक निर्माण भएको छ ।
साथै, जुम्ला डोल्पा जोड्ने सडकको १० किमि ग्राभेल, जुम्ला उर्थु पटमारा हँुदै मुगु जोड्ने सडकका प्याकेज–१ मा नाला निर्माण तथा प्याकेज–२ मा ग्याविन पर्खाल र मोड निर्माण, जिया चौथा सडक निर्माण, जनता माध्यमिक विद्यालयमा प्यारापिट निर्माणलगायतका विभिन्न पूर्वाधार विकासका काम भएको प्रमुख रावलले जानकारी दिए ।
सडक विकासले दुरदराजका बस्ती तथा जिल्ला सदरमुकामसँंग जोडिएका छन् भने रारा जाने छोटो पर्यटकीयमार्ग जुम्ला–उर्थु–पटमारा सडक निर्माणले पर्यटकलाई राहत पु¥याएको छ ।

पाँच करोड खर्च हुन सकेन
पूर्वाधार कार्यालय जुम्लाको वित्तीय प्रगति ८८ दशमलव ५ प्रतिशत भएको छ । गत आवमा विनियोजित कुल ५० करोड बजेटमध्ये आवको अन्तिमसम्म ४५ करोड अर्थात् ८८ प्रतिशत बजेट खर्च भएको प्रमुख रुपक रावलले बताए । उनले भने, “कोभिडलगायत अन्य कारणले पाँच करोडमात्रै खर्च हुन सकेन । तर निर्माण व्यवसायीलाई ताकेता दिएर, नियमित आफै फिल्डमा खटिएका कारण बजेट खर्चमा उल्लेखनीय वृद्धि भएको हो ।”
साथै, कार्यालयको नियमित बजेट ३५ करोड, जनता आवास कार्यक्रमको पाँच करोड, पूर्वाधार विशेष कार्यक्रममा पाँच करोड र सांसद विकास कोषमा पाच करोड गरी ५० करोड विनियोजन भएको थियो । जुम्लाको विकासे कार्यालयमा ऊर्जाशील जनशक्ति भएकाले पछिल्लो समय जुम्लाको पूर्वाधार विकासले गति लिएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ । उनका अनुसार जुम्लामा पूर्वाधार विकास कार्यालय, सडक डिभिजन, धौलिघाट खानेपानी लगायतका कार्यालयले उल्लेखनीय काम गरेका छन् ।

टुक्रे योजना विकासका चुनौती
कर्णालीको पूर्वाधार विकास अपेक्षित रूपमा नहुनुका विभिन्न कारणमध्ये एक टुक्रे योजनामा बजेट छुट्याउनु पनि एक हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बजेट अभाव, टुक्रे योेजना निर्माण, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण जुम्लाको पूर्वाधार विकास लक्ष्यअनुसार नभएको बताए ।
उनले भने, “१०÷२० लाखका योजना पनि प्रदेशले पठाउँछ । कार्यान्वयनमा निकै चुनौती छन् भने चिसोका कारण हिउँदको ४ महिना काम गर्ने सकिँदैन । अघिपछि निर्माण व्यवसायीको ढिलासुस्ती । कार्यालयको ताकेताले मात्रै काम हुुन्छ ।”
बहुवर्षीय योजना निर्माण गर्ने कार्यालयमा टुक्रे योजना पठाउने प्रवृत्तिले पूर्वाधार विकास लक्ष्यअनुसार भएको छैन । साथै ल्याब नहुँदा गुणस्तर मापन गर्न पनि समस्या छ भने नियमित साइट हेर्न जानका लागि सवारी साधन अभाव, सडक निर्माणमा घर जग्गा विवाद जस्ता थुप्रै चुनौतीको सामना गर्दै जुम्लाको पूर्वाधार विकास अघि बढेको छ ।
प्रमुख रावलले थपे, “नत माग स्टिेमट भएअनुसार बजेट आउँछ । तर माग गरेको योजना छनोट हुन्छन् । बहुवर्षीय योजना झलझला–छालाचौर सडक र भैसेडी लुममा पक्की पुल निर्माण गर्न माग पेस गरेको तर स्वीकृत भएका छैनन् ।”

प्रतिक्रिया दिनुहोस्