जनजुक्तमा पशुविज्ञान पढाइ सुरु «

जनजुक्तमा पशुविज्ञान पढाइ सुरु

दमौली-जिल्लाको व्यास नगरपालिका–६ जनजुक्त शाही माध्यमिक विद्यालयमा पशुविज्ञानको पढाइ सुरु भएको छ ।
प्राविधिक शिक्षाको मागबमोजिम विद्यालयमा यही मंसिरदेखि ३ वर्षे कोर्सअन्तर्गत पशुविज्ञानको पढाइ सुरु भएको हो । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले समाजको माग र आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा पशुविज्ञानको पढाइ सुरु गरिएको जानकारी दिए ।
पशुविज्ञानतर्फ १२ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । ४० जनाको कोटा भए पनि पहिलो वर्ष भएकाले सोचेअनुसार विद्यार्थी पु-याउन नसकिएको न्यौपानेले जानकारी दिए । “पहिलो वर्ष भएको र सम्बन्धन प्राप्त हुन ढिलाइ भएकाले विद्यार्थी संख्या बढाउन सकेनौं,” न्यौपानेले भने, “आगामी वर्ष कोटाअनुसारकै विद्यार्थी पु-याउन पहल गर्छौं ।”
पशुविज्ञान अध्ययनका लागि स्थानीय विद्यार्थीसँगै छिमेकी नगरपालिकाबाट समेत विद्यार्थी आकर्षित भएका छन् । पशुविज्ञान अध्ययनका लागि २३ जनाले प्रवेश परीक्षा दिए पनि १२ जनाले मात्रै नाम निकालेको न्यौपानेले जानकारी दिए । उनका अनुसार १२ जनामध्ये २ जना विद्यार्थी जनजुक्तकै विद्यार्थी हुन् भने व्यास नगरपालिका–६ शिशाघाट, व्यास नगरपालिका–७ कलेस्ती, बन्दीपुर गाउँपालिका–१ नाहाला, शुक्लागण्डकी नगरपालिका र वीरगन्जका विद्यार्थीसमेत पशुविज्ञानतर्फ अध्ययनरत छन् ।
पशुविज्ञानमा विद्यार्थीको आकर्षण बढाउन विद्यालयले छात्रवृत्तिको योजनासमेत सञ्चालन गर्ने भएको छ । “छात्रवृत्ति दिएर भए पनि यसमा विद्यार्थी संख्या बढाउने लक्ष्य राखेका छौं,” उनले भने, “साथै जिल्लाकै दुर्गम ठाउँमा समेत यसको महत्वबारे बुझाएर विद्यार्थी आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नेछौं ।”
प्रचारप्रसारको कमीले पनि विद्यालयमा विद्यार्थी संख्या कम भएको हुनसक्ने न्यौपानेको भनाइ छ । “पशुविज्ञान पढ्नकै लागि जिल्लाका विद्यार्थी बाहिरी जिल्लामा गएको पाएका छौं,” उनले भने, “आफ्नै ठाउँमा यस विषय पढ्न पाइन्छ भन्ने जानकारी नभएकाले आगामी दिनमा व्यापक प्रचारप्रसार गर्नेछौं ।” उनका अनुसार पशुविज्ञान अध्ययन गरिसकेपछि विद्यार्थी आफंैले पनि कुखुरापालन, बंगुरपालन, बाख्रापालन गर्न सक्षम हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्