बजेटको उपयोगितमा घट्दै «

बजेटको उपयोगितमा घट्दै

झापा- प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले योजनाको प्राथमिकीकरण बुझन नसक्दा विनियोजन गरिएको बजेटको उपयोगिता घट्दै गएको बताएका छन् । मन्त्री कार्कीले स्थानीय तहले बजेटको विनियोजन सही ढंगले गर्न नसकेकै कारण उपयोगिता कम हुँदै गएको तर्क गरे ।
मिडिया रिसर्च सेन्टर झापाको आयोजना तथा जिल्ला समन्वय समिति झापाको सहकार्यमा झापाको बिर्तामोडमा आयोजना गरेको ‘पुस्तक विमोचन तथा झापाको विकास बहस’ कार्यक्रममा मन्त्री कार्कीले स्थानीय तहले अनावश्यक र अध्ययन नगरी बजेट छुट्याएको आरोप लगाएका छन् । “यसप्रकारको कदमले समृद्धि हासिल गर्न सकिन्न,” कार्कीले भने, “बजेट छुट्याउँदा त्यसबाट के प्रतिफल प्राप्त गर्न सकिन्छ यसको हेक्का पु-याउन आवश्यक छ ।”
स्थानीय तहै पिच्छे रंगशाला, रिंगरोड, विमानस्थल लगायतका ठूला र महत्वकांक्षी योजना बनाउँदा दीर्घकालीन रूपमा प्राप्त हुने फाइदाको आंकलन गर्न स्थानीय तह चुकेको मन्त्री कार्कीले बताए । स्थानीय तह नै समृद्धिको मुख्य आधारभूत तह भएको बताएका कार्कीले ठोस योजना बनाएर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा पूर्वमुख्य सचिव डा. भोजराज घिमिरेले झापाका अधिकांश स्थानीय तहले बनाएका नीति तथा कार्यक्रम साहित्यिकमात्र भएको बताए । “नाराले मात्र समृद्धि प्राप्त गर्न सकिन्न, डा. घिमिरेले भने, “यसका लागि बजेट कति छ, प्रशासनिक खर्च कसरी घटाउने लगायतका विषयमा स्थानीय सरकार गम्भीर बन्नै पर्छ ।” हरेक वस्तुको कर बढेकाले कर वृद्धिसँगै नागरिकले पाउने सेवासुविधा पनि बढाएर लानुपर्ने उनले सुझाए ।
कार्यक्रममा बेलायतस्थित बोस्र्टन सिटीका पूर्वकाउन्सिलर धनकिरण गुरुङले बेलायतभन्दा नेपाल सयौँ गुणले पछि रहेको र बेलायतको राजनीतिक अनुभव सुनाएका थिए । गुरुङले स्थानीय तहले रचनात्मक कार्यक्रम लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
मिडिया रिसर्च सेन्टरका संयोजक तीर्थ सिग्देल र सन्तोष आचार्यको लेखन तथा सम्पादन रहेको ‘समृद्धि किताब’ मा झापाका १५ वटै स्थानीय तहका नीति तथा कार्यक्रमको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्