संसद्मा अवरोध कायमै «

संसद्मा अवरोध कायमै


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने विषय प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराए ।
सभामुख सापकोटाको आग्रहपछि पनि एमालेले अवरोध कायमै रहेको अवस्थामा सदनको काम कारवाही अघि बढेको थियो । एमालेले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।
यसैबीच, नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले भने, एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।
उनले कुनै दलले आफ सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्काेले गर्दा नहुने गरेको भन्दै आपत्ति जनाए । उनले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिए । उनले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने पनि बताए ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् ।
महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिए । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने,‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन, उनीहरुलाई निस्काशन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नुहुन्न । यसैमा विरोध भइरहेको छ । हाम्रो धारणा के हो भने अव विधेयक आइसकेको छ । २० प्रतिशतले टुक्रयउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरु टुक्रियो । जुन विरोधमा आएको छ । त्यही अनुसार फ्लो गर्नुपर्छ ।’
महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१-२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अव नेपाललाई नै सरकारले कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीमाझ भने, ‘हुँदाहुँदा लुटिएका झण्डैझण्डै २१-२२ अर्व अन्तराष्ट्रिय कानुन समेत, आतंककारी कानुन समेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालो सूचिमा पार्ने गम्भिर बाटोमा सरकार गईरहेको छ ।’ सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गरे ।
सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहो-याए । भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्