बुढ्यौलीमा पनि गलैंचा बुन्दै «

बुढ्यौलीमा पनि गलैंचा बुन्दै

सिन्धुपाल्चोक-बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी माइली तामाङ (३८)को फुर्सदिलो दैनिकी अचेल गलैंचा बुनेर बित्ने गरेको छ । घरको काम गरेर बचेको समय उनी गलैंचाको तानलाई दिने गरेकी छिन् ।
वर्षदिनदेखि सुरु गरेको गलैंचा बुन्ने कामबाट सहजै घर खर्च धान्ने आम्दानी हुने भएपछि उनी थप हौसिएकी हुन् । शारीरिक रूपमा पनि धेरै भार नपर्ने हुँदा उनले यो पेसालाई व्यावसायिक बनाएकी हुन् । घरमै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैंचा बुन्न सकिने भएकाले यो पेसाप्रति रुचि बढेको उनी बताउँछिन् । “पढाइ गर्न सकिएन, अरु सीप पनि नजानेकाले अहिले यसैमा सन्तुष्ट छु,” उनले भनिन्, “यो काम बुढ्यौली उमेरसम्म गर्न सकिन्छ, मर्ने बेलासम्म पनि कमाउन सक्छु जस्तो लागेर यो पेसा रोेजें ।” एउटा गलैंचा बुन्न १५ दिन जति समय लगाउने माइली बताउँछिन् । “यो सीप सिकेर घरबार धानेकी छु,” उनी भन्छिन्, “सामान्य गलैंचा बेचेर पनि मासिक ४० हजारसम्म आम्दानी हुन्छ ।”
माइलीजस्तै निशा तामाङ (२८) को पनि दैनिकी गलैंचाकै कारण फेरिएको छ । गएको जेठबाट तानमा बस्न सुरु गरेकी निशाले गलैंचा बुनेर कमाइ बलियो बनाउनसक्ने भइसकेकी छिन् । “पहिला समय त्यत्तिकै खेर जान्थ्यो, अहिले यसैले आत्मनिर्भर बनाएको छ ।” उनले भनिन्, “एउटा गलैंचा तयार गर्न बढीमा महिना दिन लगाउँछु,” उनले तयार गरेको गलैंचा गाउँमै आएर व्यवसायीले खरिद गर्ने गरेका छन् । “काम गरेर बिक्री नहोला भन्ने चिन्ता छैन,” निशा भन्छिन्, “त्यसैले पनि गाउँका महिला यो पेसाप्रति आकर्षित भएका छन् ।”

प्रगतिशील महिला उद्यमी समूह गठन
माइली र निशामात्रै हैन । शैक्षिक र आर्थिक रूपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैंचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन् । उनीहरूले पेसालाई व्यावसायिक बनाउन समूहमार्फत काम गर्छन् । संस्थागत रूपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरू संगठित बनेका हुन् । गलैंचा बुन्ने जनजाति महिलाले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन् । “यही संस्थामार्फत गाउँका महिलालाई सीप प्रदान गर्ने गरेका छौं,” समूहकी कोषाध्यक्ष विष्णुमाया तामाङ भन्छिन्, “गलैंचा बुन्न रुचि हुनेलाई पहिले तालिम दिलाउँछौं ।” उनले गाउँका महिला गलैंचाबाट सोचेजस्तो आम्दानी हुने थाहा पाएपछि यसतर्फ आकर्षित भएको बताइन् ।

घरैपिच्छेका महिला उद्यमी
गलैंचा बुन्नुको सीपप्रतिको आकर्षणले गर्दा यो टोलको झण्डै घरैपिच्छेका महिला उद्यमी बनेका छन् । गलैंचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउँछिन् । गफगाफमा बित्ने समयलाई गलैंचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उनको अनुभव छ ।
गलैंचा बुन्ने पेसा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलामा आकर्षण बढेको हो । शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेसामा लागेको उद्यद्यमीहरूको भनाइ छ । गलैंचा बुन्ने उद्यमीले गाउ“ भरिसकेपछि यहाँका महिलाले आफै कारखाना खोल्ने उद्देश्य राखेका छन् । केही महिलाले आफैंले गलैंचा बुन्ने तानसमेत ल्याइसकेका छन् ।

महिलालाई सक्षम बनाउन सीपमूलक अभियान
घुम्थाङभरका महिलालाई सक्षम बनाउनका लागि गलैंचा बुन्ने सीपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मिनबहादुर श्रेष्ठ बताउँछन् । “जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने क्रम बढेपछि गाउँमै रोजगार दिलाउन यो कार्यक्रम सुरु गरिएको हो,” उनी भन्छन्, “आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नुपरेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन गलैंचा बुन्ने काम थालिएको हो ।”
स्थानीय निकायबाट एक लाख ६० हजार र सामाजिक संस्था टुकी संघ सुनकोसीले ५० हजार रकम उपलब्ध गराएपछि गाउँमा गलैंचा उद्यम सुरु गरिएको प्रगतिशील महिला उद्यमी समूहले जनाएको छ । सो रकमबाट गलैंचासम्बन्धी कच्चा सामग्री खरिद गरिएको हो ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्