कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ ।
सो प्रयोजनका लागि दक्षिण कोरियाका एक जना वरिष्ठ कूटनीतिज्ञ मंगलबार अमेरिकाको भ्रमणमा जान लागेको दक्षिण कोरियाली विदेश मन्त्रालयबाट प्राप्त समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाली उपविदेशमन्त्री लिम सोङ नाम मंगलबार अमेरिका जान लागेका छन् । उनी आगामी शनिबारसम्म नै अमेरिकाको बसाइमा रहने बताइएको छ ।
त्यस भ्रमणका क्रममा उनले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानलाई जानकारी दिने बताइएको छ ।
नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानका साथै अन्य विशिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रूपमा विश्वमै प्रचार गरिएको छ ।
यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गरेका थिए ।
साथै, उनले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने धारणा सार्वजनिक गरेका थिए । उनले यसै वार्ताबाट अघि बढ्न र कोरियाली प्रायःद्वीपमा जारी अस्थिरताको अन्त्य गर्न पनि दुवै कोरियाली नेतृत्वसँग आग्रह गरेका थिए ।