स्वावलम्बन अभियानलाई फर्केर हेर्दा «

स्वावलम्बन अभियानलाई फर्केर हेर्दा

ग्रामीण स्वावलम्बन विकास केन्द्रबाट ग्रामीण विकासका लागि गरिएका प्रयासहरू भने तुलनात्मक रूपमा सफल छन् ।

ग्रामीण विकासको मौलिक अभ्यासका क्रममा स्वावलम्बनको बिजारोपण ३४ वर्षअगाडि पाल्पाको झडेवामा भएको हो । २०४१ सालमा डा. देवेन्द्रराज पाण्डेले स्वावलम्बनको थालनी गर्दा अहिलेको परिवेशभन्दा नितान्त भिन्न परिवेश थियो । अहिलेजस्तो भौतिक पूर्वाधार र विद्युतीय सञ्चारको सुविधा थिएन । जिल्लाका सदरमुकामबाहेकका क्षेत्रमा सडक यातायातको सुविधा विरलै थियो । गाउँघरमा जान कैयौं दिन पैदल हिँड्नुपथ्र्यो । गाउँमा खानेबस्ने होटलको सुविधा थिएन । किसानले जे दिन्छन् त्यही खानुका साथै खोलाको पानी पिउनुपथ्र्यो । शौचालयको प्रयोग गर्ने प्रचलन थिएन ।
डा. देवेन्द्रराज पाण्डे अमेरिकाबाट विद्यावारिधि गरेका र सहरिया सम्पन्न पारिवारिक पृष्ठभूमिमा हुर्किएका व्यक्ति हुन् । तर, उहाँ गाउँघरका सबै खाले दुःखलाई आत्मसात् गरेर, व्यक्तिगत सुखसुविधालाई गौण ठानेर निरन्तर खट्नुभयो । व्यक्तिगत भेटघाट, सामूहिक बैठक गर्ने, किसानका घरगोठमा मात्रै होइन, खेतबारीमा जाने र किसानले गरेको प्रगति–उन्नतिलाई आफ्नै प्रगतिजस्तो ठानेर रमाउने गर्नुहुन्थ्यो । डा. पाण्डे सामाजिक विभेदलाई हटाउन राजनीतिक परिवर्तनले मात्रै हुँदैन, आफैंमा रहेको सोचलाई बदल्नुपर्छ, आफूले पनि सक्दो प्रयत्न गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । स्वावलम्बन थालनी गर्दाको समयदेखि उहाँ विपन्न, दलितको घरमा बिनासंकोच खाने–बस्ने गर्नुहुन्थ्यो । यसका अतिरिक्त दलित परिवारका २०-२२ जना अगुवाहरूलाई २०४२ सालमा काठमाडांै ल्याएर आफ्नै घरको निजी भान्सामा खाना खुवाउनुभएको थियो । यसरी स्वावलम्बन अभियानको सुरुवात भएको थियो ।
उत्तरी गोर्खाको छेकम्पारदेखि धादिङको सुदूर उत्तरको हिमाली भेगमा बस्ने समुदायहरूमा स्वावलम्बन कार्यक्रम लागू भयो र सफल पनि । दलित, जनजाति, चेपाङ तथा मुसहरलगायत हिमाल, पहाड, तराईमा बसोबास गर्ने सबै जातजाति, वर्ग, समुदायमा स्वावलम्बन कार्यक्रम सफलतापूर्वक लागू भयो । स्वावलम्बन मोडल ग्रामीण विकासका लागि गरिएको एउटा मौलिक प्रयास थियो । प्राविधिक विधि, पद्धतिभन्दा पनि मूल्य–मान्यता, भावना र अठोटले स्वावलम्बनको थालनी भएको थियो । स्वावलम्बनको विधिअनुसारले गरिएका कार्यक्रमले विकासको प्रतिफल जसले पाउनुपर्ने थियो, उसले पाउन सक्दो रहेछ भन्ने प्रमाणितसमेत भएको छ ।
विकास कार्यको सफलता गरिएका कामको अपनत्वमा निहित रहेको हुन्छ । स्वावलम्बनका माध्यमबाट लागू गरिएकाविका विधि, पद्धति, ढाँचालाई समुदायले स्वस्फूर्त रूपमा अपनाएका दृष्टान्तहरू प्रशस्त छन् । त्यसैगरी ग्रामीण विकासका लागि अपनाइने सामाजिक परिचालनका लागि समूह गठन, सञ्चालन, समुदायस्तरमा संस्थागत विकासका लागि समुदायमा आधारित सहकारीको गठन र परिचालन पनि स्वावलम्बनको माध्यमबाट विकसित भएका ग्रामीण विकासका लागि अति उपयोगी औजारहरू हुन् । बहुआयामिक ग्रामीण विकासका लागि स्वावलम्बनले हासिल गरेका ज्ञान, सीप, अनुभवहरू अत्यन्त उपयोगी हुन सक्ने देखिन्छ ।
स्वावलम्बनको थालनी गर्दा शैक्षिक योग्यता, प्राज्ञिकता, प्राविधिक विशेषज्ञतालाई महत्वका साथ हेरिएन । शैक्षिक योग्यता, प्राज्ञिकता, प्राविधिक विशेषज्ञतालाई प्राथमिकतामा राख्दा गरिबसम्म पु-याउने साधनस्रोतको ठूलो धनराशि त्यसैमा खर्चनुपर्ने हुन्थ्यो । स्वावलम्बनका प्रणेता डा. देवेन्द्रराज पाण्डेले शैक्षिक योग्यता, प्राज्ञिकताभन्दा पनि गरिबसँग घुलमिल हुन सक्ने कार्यशैली भएको जनशक्तिलाई मुख्य प्राथमिकतामा राख्नुभयो, जुन गरिबीलाई सम्बोधन गर्नका लागि सफल पनि भयो । तर, विज्ञतालाई महत्व नदिँदा समस्या के रह्यो भने ग्रामीण गरिबी, पछौटेपनाबाट मुक्ति पाउनका लागि अपनाइएको सोंच, शैली, मूल्य, मान्यता, विधि, पद्धति, जसलाई समग्रतामा स्वावलम्बन भनिएको छ, उक्त कुरालाई सैद्धान्तिकीकरण तथा व्याख्या-विश्लेषण गर्न सकिएन ।
विद्यालय–विश्वविद्यालयमा ग्रामीण विकासका बारेमा स्वावलम्बन मोडलको अध्ययन गर्न चाहनेका लागि सन्दर्भ सामग्रीहरूको विकास गर्न सकिएन । स्वावलम्बन मोडल ग्रामीण विकासका लागि सफल मोडल हुन सक्छ भनेर राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा विषयगत बहस गराउन सकिएन । अनुभवी तथा लगनशील जनशक्ति भएर पनि विषयगत विज्ञताको कमीले सो गर्न सकिएन ।
विषयगत विज्ञता र शैक्षिक योग्यताभन्दा पनि लक्षित समुदायसँगै बसेर काम गर्ने दृढ अठोट र भावनाले ओतप्रोत जनशक्ति चाहिने डा. पाण्डेको सोच समग्रमा सफल र उपयुक्त नै रह्यो । समुदायतहमा हासिल गरिएका अनुभव, ज्ञानलाई सैद्धान्तिकीकरण गर्न भने विषयगत योग्यताको खाँचो हुने देखियो । स्वावलम्बनलाई फर्केर हेर्दा छरिएर रहेका परिवारलाई आयआर्जन समूहमा संगठित गर्ने, समूहका माध्यमबाट व्यक्ति र समुदायको विकासका लागि योजना बनाउने, लागू गर्ने, समूहलाई संस्थागत ढंगले विकास गर्ने जस्ता विधिहरू अति उपयोगी र सफल रहे ।
आय आर्जन समूहमा नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि वैकल्पिक नेतृत्वको विकास गर्ने विषय पनि उत्तिकै महत्वको हो । प्रारम्भदेखि नै वैकल्पिक नेतृत्वको विकास हुने गरी समूह सञ्चालन विधिको विकास गरेर तदनुरूपले अभ्यास गराउँदै लगियो भने मात्रै सम्भव हुन सक्छ । जब समुदायले आफ्नो विकासका लागि स्वावलम्बनको विधिलाई आत्मसात् गरेर अगाडि बढ्दछ र नयाँ पुस्तामा पुस्तान्तरण हुन्छ तब स्वावलम्बनले सामाजिक आन्दोलनको स्वरूप लिन सक्छ । साथै, समाजमा स्वावलम्बनबाट स्थापित गरिएका मूल्य–मान्यताहरू क्रमशः परम्परा र सांस्कृतिक रूपमा विकास भएर स्थापित हुन सक्छन् । उक्त सवालमा स्वावलम्बनलाई स्थापित गराउन अझ बढी अभ्यास हुन जरुरी छ ।
स्वावलम्बनकोथालनी गर्दाको समयमा नेपालको सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्रै विदेशी दाताहरूले नेपालको विकासमा सहयोग पु-याउने परिपाटी थियो । दाताहरूलाई आफूखुसी गर्न छुट थिएन । नेपाल सरकारले खुला अर्थतन्त्रलाई अँगालेपछि भने विदेशी दाताहरूको मनोमानी ह्वात्तै बढेर गयो । दाताले नै आफ्नो इच्छाबमोजिम गर्ने सुविधा पाए, जसले गर्दा विकासको प्रतिफल पाउनुपर्ने समुदायको आवश्यकता छायामा पर्न गयो । मौलिक सोच भएका अभियन्ताहरू संकटमा परे । किनभने दाताले बनाइदिएका संस्थाहरू हावी हुँदै गए । त्यसरी बनेका संस्थाले लक्षित समुदायको आवश्यकता जेसुकै भए पनि दाताको स्वार्थअनुकूलको काम गर्नुपर्ने भयो ।
सरकार तथा राजनीतिक दलहरू पनि यही दलदलमा भासिएर गए । सबैमा सुविधाभोगी सोच मौलाउँदै गयो । गरिबी हटाउनका लागि लक्षित समुदायमा जाने, मेहनत गर्ने, दुःख गर्ने मार्ग बदलियो । गरिबी हटाउने विकासको बहस महँगा होटलमा आयोजना हुन थाले । अनि कार्यक्रम तथा प्रतिवेदन गरिबले बुझ्न जरुरी ठानिएन । दाताहरूले बुझ्ने गरी अंग्रेजीमै बनाउनेमा लागियो । राम्रो अंग्रेजी लेख्न–पढ्न सक्ने ल्याकत भएको जनशक्ति गाउँमा हुने कुरा भएन ।
महँगा कलेज, विश्वविद्यालयमा पढ्न सक्ने सहरिया सम्भ्रान्त वर्गका छोराछोरीले मात्रै दाताहरूले भनेबमोजिमका प्रतिवेदन तयार गर्न सक्ने भए । उनीहरूका लागि महँगो सेवा–सुविधा व्यवस्था गर्नुप-यो अनि सहरमा हुर्किएर मुलुकबाहिरबाट शिक्षा हासिल गरेर आएका जनशक्तिले विपन्न समुदायको पीडालाई महसुस गर्न सक्ने कुरा भएन, जसले गर्दा गरिबी न्यूनीकरणका लागि गरिएका प्रयासहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेनन् ।
अन्त्यमा, ग्रामीण स्वावलम्बन विकास केन्द्रबाट ग्रामीण विकासका लागि गरिएका प्रयासहरू भने तुलनात्मक रूपमा सफल छन् । स्वावलम्बनबाट हासिल गरिएका अनुभव, ज्ञान, सिकाइका बारेमा वस्तुनिष्ठ अध्ययन, अनुसन्धान गर्न सकियो भने गरिबीलाई सम्बोधन गर्ने सवालमा ज्यादै महत्वपूर्ण उपलब्धि हुन सक्छ । विकासका बारेमा जान्न–बुझ्न चाहनेहरूका लागि ग्रामीण समुदाय तहमा विगत तीसवर्षे अवधिमा स्वालम्बन अवधारणाअनुसार ग्रामीण विकासका लागि गरिएका गतिविधिहरू उपयोगी हुन सक्ने देखिन्छ । राज्यले बनाउने ग्रामीण विकासको नीति तथा कार्यक्रमका लागि पनि यस प्रकारको सफल अवधारणाका बारेमा अध्ययन, अनुसन्धान जरुरी छ । स्वावलम्बनबाट हासिल गरिएका अनुभव, ज्ञान तथा सिकाइको व्यावहारिक प्रयोग गर्न सकियो भने ग्रामीण विकास र गरिबीबाट उन्मुक्ति पाउने एक प्रभावकारी उपाय हुन सक्छ भन्ने लाग्छ ।
(ग्रामीण स्वावलम्बन विकास केन्द्रमा कार्यरत लेखकका यी विचार निजी हुन् ।)

प्रतिक्रिया दिनुहोस्