चिलिया टापुका बासिन्दाको दुःख उस्तै «

चिलिया टापुका बासिन्दाको दुःख उस्तै

जनप्रतिनिधि आए पनि समस्या ज्यूँका त्यूँ

उदयपुर-निर्वाचित जनप्रतिनिधिले ‘समृद्ध नेपाल र सुखी नेपाली’को जतिसुकै नारा लगाए पनि उदयपुरको वेलका नगरपालिका–२ चिलिया टापुका बासिन्दालाई भने यस्तो नारा ‘कागलाई बेल पाको हर्ष न विस्मात’ जस्तै भएको छ । शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातजस्ता भौतिक पूर्वाधारको सुविधा त परै जावस जीवन गुजाराका लागि नभई नहुने गास र बासको न्यूनतम सुविधा पाउनबाट समेत वञ्चित भएका कारण यहाँका गरिब तथा विपन्न परिवारलाई सुख र समृद्धिको नारा कागलाई बेलजस्तै भएको हो ।
बितेका १२ वर्षमा नेपालमा ठूला राजनैतिक परिवर्तन भए । संवैधानिक राजतन्त्र मानिरहेको मुलुकमा गणतन्त्र आयो । जनताले चुनेर पठाएका प्रतिनिधिले आफ्नै हातले लेखेर नेपालको संविधान २०७२ जारी भयो । २ सय ४० वर्षसम्म राजा राष्ट्र प्रमुख रहेको मुलुकमा राष्ट्रपति प्रमुख रहने व्यवस्था भयो । मुलुकमा यत्रो राजनैतिक परिवर्तन हुँदा पनि आधा उदयपुर र आधा सुनसरी जिल्लामा पर्ने सप्तकोसी नदी किनारामा रहेको श्रीलंका टापु र चिलिया टापुमा भने कुनै परिवर्तन आउन सकेको छैन ।
राज्यको नयाँ पुनर्संरचना हुनुअघि यो टापु उदयपुरको तपेश्वरी र सुनसरीका महेन्द्रनगर र प्रकाशपुर गाविसअन्तर्गत थियो । सरकारले हालै गरेको राज्य पुनर्संरचना गरेपछि यो टापुको उदयपुरतर्फको भाग वेलका नगरपालिका–२ मा परेको छ भने सुनसरीतर्फको भाग बराहा नगरपालिका भएको छ ।
राज्य पुनर्संरचनापछि गाउँ विकास समितिका बासिन्दाबाट नगरपालिकाका बासिन्दा भए पनि सर्वसाधारण भने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, बजारलगायतका अतिआवश्यकीय पूर्वाधारबाट पूर्णतया वञ्चित छन् । यहाँ आजसम्म पनि बालबालिका पढने आधारभूत तहसम्मको विद्यालय छैन । उज्यालोका लागि बिजुली बत्ती छैन । पिउनका लागि पानी र स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था छैन । त्यसैले यहाँका सर्वसाधारणमा भने मुलुकमा आएको परिवर्तनले कुनै असर गरेको छैन । उनीहरूको १२ वर्षअघि र अहिलेको अवस्थामा कुनै परिवर्तन आएको छैन । “बालबालिका पढ्ने आधारभूत तहसम्मको विद्यालय, खानेपानी, तथा स्वास्थ्य संस्था छैन,” स्थानीय प्रेमबहादुर राईले भने, “त्यै पनि नगरपालिकावासी भएका छौं ।” उनका अनुसार वर्षा याममा नजिकैको रामपुर बजारसमेत डुंगा नतरी जान सकिँदैन । सुनसरीतर्फ सप्तकोसी नदी र उदयपुरतर्फ सप्तकोसीको ठूलो भंगालो बग्ने र बीच भागमा गाउँ भएकाले यो गाउँलाई कसैले श्रीलंका टापु र कसैले चिलिया टापु भन्ने गर्छन् । हिउँदको समयमा उदयपुरतर्फको सप्तकोसीको भंगालो सुकेर आउजाउ गर्न सकिए पनि वर्षायाममा गाउँबाट नजिकैको रामपुर बजार पुग्नसमेत सर्वसाधारणले नाउ तर्नुपर्ने बाध्यता छ ।
सप्तकोसीको बगर र ऐलानी जमिनलाई पशुपालनका माध्यमबाट उर्वरभूमि बनाएका यहाँका सर्वसाधारण नगरपालिका बनेपछि अब जग्गा दर्ता होला कि ? भन्ने आशामा छन् । “हामीले भोगिरहेको जमिन दर्ता भए हुने थियो,” पूर्णमाया मगरले भनिन्, “धेरै मिहिनेत गरेर सप्तकोसीको बगरलाई उब्जनी हुनेसम्मको बनाएका छौं ।” “मुलुकमा यति ठूलो राजनैतिक परिवर्तन आउँदासमेत परिवर्तनको कुनै आभास गर्न पाएका छैनौं,” स्थानीय सरस्वती माझी भन्छिन्, “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्जस्ता आधारभूत पूर्वाधार हामीले कहिले पाउने ?”

प्रतिक्रिया दिनुहोस्