थप पाँच वस्तुमा आत्मनिर्भर बन्दै नेपाल
कृषि र औद्योगिक उत्पादनमा उल्लेख्य प्रगति हासिल नभए पनि नेपाल थप पाँच वस्तु उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ । यीमध्ये एक कृषि वस्तु छ भने अन्य चार औद्योगिक उत्पादन छन् ।
कृषितर्फ चिया उत्पादनमा नेपाल आत्मनिर्भर उन्मुख देखिएको छ । औद्योगिक उत्पादनतर्फ भने जस्तापाता, रड, जुत्ताचप्पल र केबल एन्ड कन्डक्टर उत्पादनमा मुलुक आत्मनिर्भर उन्मुख देखिएको हो ।
उद्योग विभागका अनुसार नेपाल यसअघि नै सिमेन्ट र फलामका डण्डी तथा ह्याचरी र कुखुराको मासुमा आत्मनिर्भर भइसकेको छ । त्यस्तै उत्पादन र खपतका आधारमा दूध, मासु, माछा, पिठो (सूजीसहित), मसला, फलाम, कागज, इँटा, हरियो तरकारी, फर्निचर, साबुन-सर्फ, सूर्तिजन्य उत्पादन, अल्कोहलिक पेय पदार्थ, एचडीपीई पाइप र जीआई पाइपहरुमा पनि नेपाल आत्मनिर्भर रहेको विभागको दाबी छ ।
पछिल्लो समय औद्योगिक नीति २०६७, औद्योगिक व्यापार ऐन २०७६ र औद्योगिक व्यवसाय नियमावली २०७६ लागू भएयता मुलुकमा उत्पादनमूलक क्षेत्रमा आकर्षण देखिएको विभागका महानिर्देशक जीवलाल भुसाल बताउँछन् । सरकारले गर्ने नीतिगत सुधारका कारण लगानीकर्ताको आकर्षण रहेको उनको भनाइ छ । विभागले नेपालमा आत्मनिर्भर वस्तुहरूको पहिचान, उनीहरूको उत्पादन, खपत, गुणस्तर र दिगो औद्योगिक उत्पादनलाई आत्मनिर्भरतामा कायम राख्न, विस्तृत अध्ययन विश्लेषण गरी प्रतिवेदन तयार गर्ने कार्य गर्दै आएको छ । विभागको पछिल्लो प्रतिवेदनले थप पाँच वस्तुमा मुलुक आत्मनिर्भर रहेको देखाएको हो ।
गत आर्थिक वर्ष २०७७-०७८ मा चिया, जस्तापाता, रड, जुत्ताचप्पल र केबल एन्ड कन्डक्टर उत्पादनमा नेपाल आत्मनिर्भर छ कि छैन भनेर विभागले अध्ययन गरेको थियो । पाँचवटा वस्तुहरुको उद्योग विभागको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘नेपालमा आत्मनिर्भर औद्योगिक सामानहरूको विस्तृत अध्ययन’ गरिएको महानिर्देशक भुसाल बताउँछन् ।
प्रतिवेदनअनुसार सन् १९९७ मा नेपाल चिया विकास निगम (एनटीडीसी) अन्तर्गत बगैंचा र कारखानाहरूको निजीकरणसँगै नेपालको चिया उद्योगले निजीकरणतर्फ ठूलो परिवर्तन महसुस गरेको छ । नेपालमा उत्पादन हुने चियाको सम्पूर्ण कच्चा पदार्थ स्वदेशमा नै उत्पादन हुने गरेको छ । आयातको तुलनामा निर्यात बढी रहेकाले चियाको क्षेत्रमा नेपाल आत्मनिर्भर रहेको देखिएको छ ।
यस्तै, नेपालमा हाल केबल तथा कन्डक्टर २५ उद्योग रहेका छन् । केबल र कन्डक्टरको वास्तविक माग उत्पादन क्षमताभन्दा धेरै कम छ । २५ केबल र कन्डक्टर उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “उत्पादन क्षमता ५० प्रतिशतमात्र रहेकाले यसलाई केही बढाउने वातावरण बनेमा नेपालमा केबल तथा कण्डक्टर उद्योगहरू आत्मनिर्भर रहनेछन् । आयात निकै कम भएकोले सरकारी नीतिमा केही परिवर्तन गरेमा पूर्णरूपमा आयात बन्द भई देशभित्र भएका उद्योगका उत्पादन क्षमता बढ्न जान्छ ।”
जुत्ताचप्पलमा प्रयोग हुने कच्चा पदार्थ लगभग ८० प्रतिशत भारत र चीनबाट हुने गरेको र अन्य बाँकी तेस्रो मूलुकबाट आयात गर्ने गरिएको अध्ययनले देखाएको छ । गत तीन वर्षको तथ्यांकलाई हेर्दा देशभित्रको माग ७.२७ करोड जोर, आयात ३.९ करोड जोर र निर्यात ५६.६ लाख मात्र छ । त्यस्तै आउँदो २०८१-०८२ सम्मको माग लगभग ११ करोड जोर हुने अनुमान छ । देशभित्रका उद्योगका उत्पादन क्षमता ४० प्रतिशतभन्दा कम रहेको हालको परिस्थितिमा यसलाई ९० प्रतिशतसम्म पु-याउने वातावरण बनेमा कच्चा पदार्थ विदेशमा भरपर्ने गरी जुत्ताचप्पल उत्पादनमा आत्मनिर्भर हुने प्रवल सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, नेपालमा पेन्ट उत्पादन क्षमता लगभग दुई लाख टन छ । त्यसैगरी, आर्थिक वर्ष २०७६-०७७ मा पेन्टको वार्षिक उत्पादन लगभग एक लाख १८ हजार टन रहेको छ भने पेन्ट उद्योगको औसत क्षमता उपयोग ५९ प्रतिशतमात्र रहेको छ । २०७६-०७७ मा पेन्टको वार्षिक माग एक लाख ३० हजार टन थियो । नेपाली पेन्ट उद्योगको वर्तमान बजार करिब २० अर्ब रुपैयाँ रहेको छ । लगभग सबै माग (९० प्रतिशतभन्दा बढी) घरेलु उत्पादकहरूले पूरा गर्छन् । आर्थिक वर्ष २०७६-०७७ मा मात्र नौ हजार ४४८ मेट्रिक टन रंग भारतबाट आयात भएको प्रतिवेदनमा उल्लेख छ ।
जस्तापाता उत्पादनको उत्पादन क्षमता हाल ६ लाख टन रहे पनि दुई लाख ९८ हजार टनमात्र उत्पादन भई औसत क्षमता उपयोग ६३.३ प्रतिशत रहेको जनाइएको छ । जस्तापाताको माग र आपूर्ति गत आवमा करिब तीन लाख टन रहेको छ । अघिल्ला दुई आवमा जस्तापाताको आयात मात्रा क्रमशः एक हजार ६ सय ३३ टन र दुई हजार ७६० टनमात्र छ । निकासीतर्फ आरती स्ट्रिप्स्ले मात्र १० हजार चार सय टन जस्तापाताको निर्यात गरेको देखाएको छ ।