मेलम्चीमा फर्कन सीएमसी इच्छुक «

मेलम्चीमा फर्कन सीएमसी इच्छुक

मन्त्रालय भन्छ : मौका दिन सकिन्छ

मेलम्ची खानेपानी आयोजनाको ठेक्काबाट भाग्न खोजेको विवादास्पद इटालियन कम्पनी सीएमसीले आयोजनामा फर्कने रुचि देखाएको छ । सरकारले सीएमसीसँगको ठेक्का तोड्दै सब–कन्ट्र्याक्टरलाई बाँकी कामको जिम्मा दिने तयारी गरिरहेका बेला सीएमसीले नै बाँकी काम गर्ने संकेत गरेको छ ।
ठेक्का खारेजी नगर्ने कारण भए त्यसको कारणसहित १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा जवाफ नआएपछि ठेक्का तोड्न सरकारलाई बाटो खुलेको थियो । तर, फेरि सीएमसीले आयोजनाको कामलाई निरन्तरता दिने इच्छा देखाएपछि सरकार भने थप अन्योलमा परेको छ । खानेपानी मन्त्रालयले सीएमसीसँग ठेक्का नतोड्दा सीएमसी फेरि भाग्न खोजे आयोजना थप पछाडि धकेलिने आशंकाका कारण ठोस निर्णय गर्न सकेको छैन । तर, सीएमसीलाई नै निरन्तरता दिँदा नयाँ ठेकेदार कम्पनी छनोट गरिरहनुपर्ने झन्झट हट्ने र समयमा नै मेलम्ची खानेपानी उपत्यकामा ल्याउन सकिने भन्दै मन्त्रालयले सीएमसीलाई नै निरन्तरता दिन उचित हुने सरकारी अधिकारीहरूको मनसाय छ । यद्यपि, मन्त्रालय भने द्विविधामा छ । मन्त्रालयले एकपटक सीएमसीलाई नै निरन्तरता दिनसक्ने भन्दै सिंगापुरमा छलफल चलाएको छ । मन्त्रालयका अनुसार सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता जनाएमा सीएमसीलाई एकपटक मौका दिन सकिने अवस्था बाँकी नै छ ।
मन्त्रालयका सूचना अधिकृत टोलराज उपाध्यायले सीएमसीलाई नै एकपटक मौका दिने कि भन्ने विषयमा छलफल भइरहेको पुष्टि गरे । “सीएमसीसँगको ठेक्का तोड्न सरकारलाई बाटो त खुलेको थियो, तर फेरि आयोजनाको कामलाई निरन्तरता दिने इच्छा व्यक्त गरेको छ,” उनले भने, “एकपटक मौका दिने कि भनेर अनौपचारिक छलफल भइरहेको छ ।” लागत कम लाग्ने र समयमा नै काम सम्पन्न हुने भएकाले सीएमसीलाई नै फर्काउने की भन्ने विषयमा वहस चलेको उनले बताए । उपाध्यायका अनुसार सीएमसीलाई फर्काउने निर्णय भएमा सरकारसँग भएको सम्झौता अनुसार काम गर्ने प्रतिवद्धता जनाउन आवश्यक छ ।
खानेपानी मन्त्री वीना मगरको सचिवालयले पनि मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरूबीच वार्ता भइरहेको बताएको छ । “वार्ता सिंगापुरमा जारी छ, सीएमसीले राखेका केही मागहरूका विषयमा छलफल भइरहेको छ,” सचिवालयबाट जारी प्रेस नोटमा भनिएको छ, “मेलम्चीको काम छिटोभन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रूपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।”
आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो । तर यस बिषयमा बिहीबारसम्म थप छलफल गर्न सीएमसीसँग वार्ता भइरहेको छ । निकास निकाल्न सीएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भइरहेको हो ।
यसअघि औपचारिक र अनौपचारिक रूपले सीएमसीका प्रतिनिधिहरूसँग छलफल भईरहेको थियो । दिल्लीस्थित नेपाली र इटालीका राजदूतबीच यस विषयमा छलफल समेत भएको थियो । यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी विकास समितिलाई कुनै जानकारी नदिइ आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो ।
विज्ञप्तीका अनुसार ठेकेदार कम्पनी सीएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रूपमा ठेक्का सम्झौता तोड्ने छ ।

प्रतिक्रिया दिनुहोस्