डेढ अर्बको हेलिकप्टर खरिदमा बद्नियत «

डेढ अर्बको हेलिकप्टर खरिदमा बद्नियत

खरिद सम्झौताअनुसार पाटपुर्जा नआएपछि हेलिकप्टर बुझेका छैनौं : यामप्रसाद ढकाल, प्रवक्ता-नेपाली सेना
हेलिकप्टर खरिदसम्बन्धी विषयमा अहिले कुरा नगरौं : रोहिणी थपलिया-नेपाल एजेण्ट, अगुष्टा कम्पनी

सरकारले राष्ट्रपतिका लागि किनेको डेढ अर्ब रुपैयाँभन्दा बढीको हेलिकप्टर खरिदमा वद्नियत देखिएको छ । खरिद सम्झौताअनुसार स्पेयर्स पार्टस् नआएपछि राष्ट्रपतिका लागि भनेर किनिएको इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर नेपाली सेनाले स्वीकार गर्न नमानेको हो । ग्लोबल टेण्डरबिनै सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएर स्थानीय एजेण्टमार्फत इटालीको उत्पादक कम्पनीसँग हेलिकप्टर खरिदसम्बन्धी सिधै डिल गरेको थियो ।
मंसिर तेस्रो साता इटालीबाट आइपुगेको हेलिकप्टरको सेनाका विमान चालकबाट परीक्षण उडानसमेत भइसकेको छ । परीक्षण उडानलगत्तै हस्तान्तरण प्रक्रिया अघि बढाउन अगुष्टा कम्पनीले जोडबल गरेको थियो । तर सम्झौताअनुसार कागजात परीक्षण गर्दा पाटपुर्जा नआएको पाइएपछि सेना हस्तान्तरण प्रक्रियाबाट हटेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले खरिद सम्झौताअनुसार हेलिकप्टर र अतिरिक्त स्पेयर्स पार्टस् नआएका कारण स्वीकार नगरिएको स्पष्ट पारे । “सम्झौताअनुसार आउनुपर्ने स्पेयर्स पार्टस्हरू आएका छैनन्,” सैनिक प्रवक्ता ढकालले कारोबारसँग भने, “त्यही भएर हामीले अगुष्टा हेलिकप्टर नबुझेका हौं ।”
सेनाले हेलिकप्टर स्वीकार नगरेकोप्रति अगुष्टा कम्पनीका नेपाल प्रतिनिधि रोहिणी थपलियाले प्रतिक्रिया दिन चाहेनन् । “म अहिले बाहिर छु, यसबारे पछि कुरा गरौंला,” थपलियाले भने ।
सेनाले अतिरिक्त पार्टपुर्जाबिना स्वीकार नगरेपछि अढाई महिनादेखि उक्त हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । हेलिकप्टर अस्वीकारसँगै सेनाले खरिदबापत लाग्ने बाँकी रकमको भुक्तानी समेत रोकिदिएको छ । सेनाले हेलिकप्टर हस्तान्तरण भइसकेपछि मात्रै रकम भुक्तानी हुने स्पष्ट पारेको छ ।
नेपाल आइसकेको हेलिकप्टर अपुरो भन्दै सेनाले स्वीकार नगर्नुले खरिदमै आर्थिक अनियमितताको आशंका समेत बढाएको छ । तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पालामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७ बमोजिम जीटूजी प्रणालीबाट हेलिकप्टर किन्ने निर्णय भएको थियो । तर जीटुजीबाट किनिएको हेलिकप्टरका पाटपुर्जा नआउँनु गम्भीर लापरवाही भन्दै अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अपूरो सामान स्वीकार नगर्न निर्देशन दिएका हुन् ।
प्रधानसेनापति थापाको निर्देशन बमोजिम नै सम्भार रथी विभागले हवाई सैनिक महानिर्देशनालयलाई परिपत्र गर्दै हेलिकप्टर र स्पेयर्स पार्ट्स् आएपछि मात्रै हस्तान्तरण प्रक्रिया अघि बढाउँन भनेको छ । सम्झौतामा उल्लेख भएअनुसार सामान नआउञ्जेल हेलिकप्टर स्वीकार गर्ने अवस्था नरहेको सैनिक प्रवक्ता ढकालले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्