ओलम्पिक सहभागीलाई निःशुल्क नोट–८

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आगामी महिना आफ्नो मुलुकमा आयोजना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागी हुने खेलाडी अधिकारीलाई निःशुल्क रूपमा ग्यालेक्सी नोट–८ दिने जनाएको छ । सामसङ– २०१८ विन्टर गेम्सको आधिकारिक साझेदार पनि हो ।
यो योजनाअन्तर्गत खेलकुद आयोजक राज्य प्योङचाङमा भ्रमण गर्ने सबै खेलाडी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अधिकारीलाई ४ हजार थान ग्यालेक्सी नोट–८ को प्रस्ताव गर्ने छ । यो शीतकालीन ओलम्पिक फेबु्रअरी ९ देखि २५ सम्म प्योङचाङमा आयोजना हुन गइरहेको छ ।
यो विशेष किसिमको उत्पादन सर्वसाधारणका लागि भने उपलब्ध नहुने सामसङले जनाएको छ ।
६.३ इन्चको ग्यालेक्सी नोट–८ को ओलम्पिक भर्सन शीतकालीन खेलकुदको प्रतिनिधित्व गर्नका लागि सेतो रङमा सार्वजनिक गर्ने कार्यक्रम छ । यसको पछाडिपट्टिको भागमा सुनौलो ओलम्पिक रिङ पनि राखिनेछ ।
ग्यालेक्सी नोट–८ सामसङले उत्पादन गरेको पछिल्लो प्रिमियम मोडल हो । यसमा दुईवटा क्यामेरा समावेश गरिएको छ ।
यो फोनमा अझै विशेष किसिमको ओलम्पिक–थिमम वालपेपर पनि समावेश गरिनेछ । यसमा २०१८ को शीतकालीन खेलको विस्तृत जानकारी गराउनका लागि एउटा एप राखिने कम्पनीले जनाएको छ ।
यो फोनबाट सहभागीले प्योङचाङमा आयोजना भएको अद्वितीय अनुभवलाई परिवार र साथीसँग आदानप्रदान गर्न पाउने अपेक्षा सामसङले गरेको छ ।
६४ गिगाबाइटको ग्यालेक्सी नोट–८ को मूल्य दक्षिण कोरियामा १ हजार २३ डलर पर्छ ।