‘गुलाब’ आँधीका कारण मनसुन लम्बिने «

‘गुलाब’ आँधीका कारण मनसुन लम्बिने


बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भएसँगै आइतबारदेखि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । मौसमविद्हरुले गुलाब आँधीका कारण नेपालको मनसुनको समयावधि पनि लम्बिने सम्भावना रहेको बताएका छन् ।
मनसुनविद् वरुण पौडेलले भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने बताएका छन् । “गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा परे पनि ठूलो प्रभाव पर्दैन,” उनले भने, “मनसुनको अवधि लम्बिन सक्छ कि भन्ने पनि छ । यस विषयमा हामीले अध्ययान गरिरहेका छौं ।”
पौडेलले अझै ३ दिनसम्म मनसुन बदली भई मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी गराएका छन् । मनसुनको अवधि अक्टोबर २ मा सकिनुपर्ने उनको भनाइ छ । “तर यस वर्ष मनसुन समयमा नसकिएर लम्बिन्छ कि भन्ने सम्भावना पनि छ, केही दिनमा नै थाहा हुने छ,” पौडेलले थपे ।
उनका अनुसार थप अनुमान भने त्यो चक्रवात जमिनमा ठोक्किएपछि गर्न सकिन्छ । भारतको मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात आउन सक्ने सम्भावना विचार गरेर उत्तरी आन्ध्र प्रदेश र यसको दक्षिण ओडिसाका तटीय क्षेत्रमा अलर्ट जारी गरिएको छ । आईएमडीको तुफान चेतावनी प्रभागले चक्रवाती तुफान पश्चिमतर्फ अघि बढ्दै आइतबार साँझ उत्तरी आन्ध्र प्रदेशको कलिंगपत्तन र दक्षिणी ओडिसाको गोपालपुर तटको बीचबाट जाने सम्भावना रहेको जनाएको छ ।
आईएमडीले भनेको छ, ‘उत्तर–पश्चिम र यससँग जोडिएको पश्चिम मध्यबंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र पछिल्लो ६ घण्टामा प्रतिघण्टा ७ किलोमीटरको गतिमा पश्चिमतर्फ बढिरहेको छ र चक्रवात ‘गुलाब’ मा परिणत भएको छ ।’

प्रतिक्रिया दिनुहोस्