Logo

अदालत अगाडि इँटा उद्योगीमाथि खुकुरी प्रहार


उच्च अदालत अगाडि इँटा उद्योगीमाथि कुखुरी प्रहार भएको छ ।
भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उद्योगी लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र दाहिने पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते लामाको विराट नर्सिङको आकस्मिक कक्षमा उपचार भइरहेको छ । पूर्वतर्फबाट आएका आक्रमणकारीले लामालाई आक्रमण गरेको लामासँगै रहेका कटहरी–६ का सुभाषकुमार सरदारले बताए । खुकुरी प्रहार गरेर लामालाई लडाएपछि आक्रमणकारी उत्तरतर्फ भागेको सरदारको भनाइ छ ।
लामाको साथीसमेत रहेका सरदारले आक्रमणकारीलाई आफूहरूले चिन्न नसकेको समेत जनाए । घाइते लामाले विगत दुई वर्षयता मोरङको कटहरी गाउँपालिकाको वडा नम्बर ६ मा मोरङ राजधानी इँटा उद्योग सञ्चालन गर्दै आएका छन् । व्यापारिक लेनदेनका कारण लामामाथि आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । लामालाई आक्रमण गरेको आशंकामा मोरङ प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले लामालाई खुकुरी प्रहार गर्ने विराटनगर–११ का २७ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएको बताए । अनुसन्धान जारी रहेकाले खुकुरी प्रहारको कारण खुल्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्