घनश्याम भुसालको फरक मत «

घनश्याम भुसालको फरक मत

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गरे ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेको छैनौं– अहिलेसम्म । त्यसलाई सिद्धान्तको रुपमा परिभाषित गरेका छैनौं, अफिसियल्ली आधिकारिक रूपले । त्यसलाई ब्याख्या गरेका छैनौं । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौं । जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौं । तर त्यो के होे ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’
उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ति छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गर्नु भयो । उनले भने, ‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौं । त्यो चाहिँ हामी जस्ले जे भन्छ, त्यो आँखा नदेख्नेले हात्ती छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । त्यसलाई परिभाषित गरेका छैनौं । जनताको बहुदलीय जनवादले के गर्छ ? साम्राज्यवादको विरोध गर्छ । जनताको समर्थन गर्छ, जनताको पक्ष लिन्छ । महिलाको पक्ष लिन्छ । युवाको पक्ष लिन्छ, यस्ता अनेकन कुरा भन्न सकिन्छ । तर स्वयम् जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौं ।’
उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामी भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए । त्यसैगरी उहाँले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पार्नु भयो । उपमहासचिव भुसालले भने, ‘हामीले छलफल ग¥यौं । खासगरी दस्तावेजहरूमा धेरै कुराहरू आवश्यक र उचित कुराहरू पनि छन । तर, त्यसमा चाहिँ नपुगेका केही आधारभूत कुराहरू पनि छन भन्ने मेरो भनाई हो ।
मलाई लागेको त्यो हो–जुन मैले बैठकमा राखेको छु । स्थायी कमिटी बैठक र केन्द्रिय कमिटी बैठकमा पनि राखेको छु । तीनवटा कुरामा खासगरी अहिले कम्युनिष्ट आन्दोलनले जुन धक्का खाएको छ । त्यो धक्का सानोतिनो छैन । यसले गर्दाखेरी यहाँ अझ जिम्मेवारपूर्वक त्यसलाई बस्तुगत रुपले त्यसको मूल्यांकन गरौं हामीले । यसमा हाम्रै पनि के–के कमी भएका छन ? त्यस बारेमा पनि हामीले नलुकाई दुनियाँको सामुन्ने भन्न सक्नुपर्छ । क्रान्तिकारी पार्टीले, फेरि उठने, मुलुकको जिम्मेवारी बोक्ने पार्टीले कुराहरू लुकाउनु हुँदैन भनेर एउटा मुख्यकुरा मैले राखेको ।’

प्रतिक्रिया दिनुहोस्