एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनु पर्र्दैन : ओली «

एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनु पर्र्दैन : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधवकुमार नेपालको सपना पूरा नहुने बताएका छन् ।
मकवानपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो चुनावसम्ममा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका थिए । त्यसकै जवाफमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘मच्छडले निदाएका बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै हो ।’ ओलीले एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि बताए । क्षणिक रुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उनले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए । पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको समेत दाबी गरे ।
यसैबीच, पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
आइतबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएका हुन् । नेकपा एमालेको केन्द्रीय समिति बैठक भने आइतबार सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेज पारित गर्दै सकिएको हो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका थिए ।
बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता, कार्यकर्ता सहभागी हुने बताए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन ३ दिन चल्ने उनले जानकारी दिए ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनका पदाधिकारी र वरिष्ठ सदस्यमध्येबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य १ जना महिला, प्रत्येक जिल्लाबाट १ जना दलित, प्रतिनिधी सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरु सहभागी हुने उनले बताए ।
बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष जनताको बहुदलीय जनवादले अगाडी सारेका कार्यभारहरुलाई सम्पन्न गर्दै र क्रान्तिका उपलब्धीहरुलाई अझै संस्थागत गर्दै समाजवादी दिशामा अगाडी बढ्ने आधार तयार गर्ने रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताए । बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले एकतावद्ध र सुदृढ बनाउने निर्णय गरेको पनि उनले उल्लेख गरे । आगामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने निष्कर्ष पनि पारित भएको प्रतिवेदनले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्